फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले फोहोरमैला उत्पादन गर्नेले नै त्यसको उचित व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको छ । ऐनले जथाभावी फोहोर फाल्नेलाई दण्डनीय मानेर कानूनी कारबाहीको समेत व्यवस्था गरेको छ । कानूनले किन यस्तो व्यवस्था गरेको हो भने जथाभावी फालिएको फोहोर मानव स्वास्थ्य र पर्यावरणका लागि हानिकारक हुनसक्छ । यस्तो फोहोरमैलाबाट ठूला महामारीसमेत फैलिन सक्छन् भने निरोगी मानिसलाई रोगी बनाउन सक्छ। स्वच्छ वातावरण प्रदूषित बन्न सक्छ । जल, जमिन, जङ्गल र जीव जनावारमा गम्भीर असर पर्न सक्छ । तर, ऐन कानूनको पालना कमै मात्रामा भएको पाइन्छ । त्यसो त जथाभावी फोहोरमैला फाल्न वातावरण संरक्षण ऐन २०७६, मुलुकी अपराध संहिता २०७४ लगायत धेरै ऐन कानूनले निषेध गरेका छन् । यद्यपि फोहोरमैलाको उचित व्यवस्थापन हुन सकेको छैन ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान देशकै ठूलो स्वास्थ्य संस्थाका रूपमा चिनिन्छ । यहाँबाट दैनिक ८ देखि १० हजार केजी फोहोर उत्पादन हुने गरेको छ । यसरी उत्पादन हुने फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी पनि प्रतिष्ठानकै हो तर, प्रतिष्ठानले फोहोर व्यवस्थापनमा लापरबाही गर्ने गरेको छ । प्रतिष्ठानले उत्पादित फोहोरलाई चारकोसे जङ्गलमा फाल्ने गरेको छ । फोहोर छरिएर हरियाली सामुदायिक वन क्षेत्रमा फैलिएको छ । अस्पतालबाट उत्पादन हुने फोहोर आफैमा सङ्क्रामक हुन्छ । त्यस्तो फोहोरबाट कुनै पनि बेला सङ्क्रमण फैलिन सक्ने सम्भावना रहन्छ । प्रतिष्ठानले सङ्क्रामक फोहोरको उचित व्यवस्थापन गरिरहेको दाबी गरेको छ । यद्यपि धेरैजसो फोहोर जङ्गलमा फालिने र त्यसरी फोहोर फालिएको ठाउँमा आगोसमेत लगाइने हुँदा त्यसले वायु प्रदूषण बढाइरहेको छ । अस्पताल आफैमा संवेदनशील क्षेत्र हो । यहाँबाट उत्पादित फोहोरमैला अन्य फोहोरभन्दा बढी सङ्क्रामक हुन सक्छ । यस्तो फोहोरबाट अस्पतालभित्र र बाहिर बस्तीमा समेत सङ्क्रमण फैलिन समय लाग्दैन । त्यसैले यो निकै संवेदनशील हुन्छ । तर, यस्तो संवेदनशील कुरालाई गम्भीर रूपमा लिइएको पाइँदैन । अस्पतालबाट निस्किएको फोहोरको व्यवस्थापन गर्नुपर्ने जिम्मा अस्पतालकै भएकाले यसरी जथाभावी फाल्नु प्रतिष्ठानको गल्ती हो । यसबाट समुदायमा सङ्क्रमण फैलिए त्यसको जिम्मेवारी पनि प्रतिष्ठानले लिनुपर्छ । कुनै रोग लागे वा बिरामी परे उपचारका लागि अस्पताल पुग्ने गरिन्छ तर, त्यही अस्पतालबाट निस्किने फोहोरले निरोगी व्यक्ति पनि रोगी बन्न सक्ने सम्भावना बढाएको छ ।
बीपी प्रतिष्ठानले जस्तै धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकाले पनि वन क्षेत्रमा फोहोर मैला फाल्ने गरेका छन् । त्यसको असर वन क्षेत्रका बोटबिरुवा, पुतली, मौरीदेखि जङ्गली जनावरहरूलाई समेत असर परेको छ । मानव स्वास्थ्यमा समेत त्यसको असर परेको पटक–पटक सार्वजनिक भइरहेको छ । यसरी जथाभावी फोहोरमैला फालेका कारण समग्र जलवायु परिवर्तनमा समेत असर पु¥याइरहेको छ । फोहोरमैला व्यवस्थापनमा गरिएको लापरबाही झट्ट हेर्दा सामान्य लागे पनि यसको असर समग्र पर्यावरणमा पर्छ । त्यसकारण जथाभावी फोहोरमैला फाल्ने कार्य तुरुन्तै बन्द गरिनु आवश्यक छ । फोहोरलाई उचित व्यवस्थापन गर्न नसक्नु पछिल्लो समय चुनौतीको विषय बनिरहेको छ । बेलैमा व्यवस्थापन गर्न नसक्दा यसको असर निकै ठूलो हुन सक्छ । त्यसलाई समेत मध्यनजर गरी फोहोरमैलाको उचित व्यवस्थापनमा विकल्पको खोजी गरिनुसमेत आवश्यक छ । पुनः प्रयोग हुने फोहोरलाई स्रोतबाटै छुट्याएर प्रयोगमा ल्याउने र पुनः प्रयोग नहुनेलाई उचित व्यवस्थापन गर्नेतर्फ सचेत हुन जरुरी छ ।