नेपाल विद्युत् प्राधिकरणको अघोषित लोडसेडिङका कारण यतिबेला सुनसरी–मोरङका १ सय ५० भन्दा बढी उद्योगहरूको उत्पादनमा ह्वात्तै कमी आएको छ । यो तथ्य सुनसरी मोरङका मध्यम् र ठूला खालका हकमा मात्रै हो, यस्ता अन्य थुप्रै उद्योगहरू छन्, जुन तथ्याङ्कमा छैनन् । नेपालको अर्थतन्त्र चलायमान बनाउनमा भूमिका खेल्ने सुनसरी–मोरङ औद्योगिक करिडोर मात्रै हैन, अन्य क्षेत्रका साना र मध्यम् खालका उद्योगहरूको अवस्था पनि यही छ । व्यवसायीकै भनाइलाई आधार मान्ने हो भने ६० प्रतिशतभन्दा बढी उत्पादनमा ह्रास आएको छ । उत्पादन ह्रास आउने बित्तिकै बजारलाई पनि त्यसले प्रभाव पार्छ । त्यसै पनि नेपालको अर्थतन्त्र डामाडोल बनिरहेका बेला प्राधिकरणको यो हर्कतले थप समस्या निम्त्याउने खतरा बढिरहेको छ । उद्योग राज्यको एउटा अङ्ग हो । जसले राज्यलाई चलायमान बनाउन भूमिका खेल्छ । उद्योगले अर्थतन्त्र मात्रै हैन, बेरोजगार समस्या, महँगीलगायतलाई नियन्त्रण गर्नका लागि भूमिका खेल्छ ।
कोरोना महामारीका कारण तीन वर्ष समस्यामा रह्यो । कोरोनाले डामाडोल बनाएको अर्थतन्त्र अहिले पनि माथि उठ्न सकेको छैन । बैङ्कमा तरलता व्याप्त छ । यसको प्रभाव बजारसम्म देखिएको छ । व्यापार–व्यवसायमा मन्दी छाएको छ । महँगी चुलिएको छ । बजार एकसातामै उकालो लागेको अवस्था छ । प्रतिकेजी ७५ रुपैयाँ केजी पर्ने फलाम आज १ सय ५० रुपैयाँ केजी पुगेको छ । यो अवस्था कसरी उत्पन्न भइरहेको छ ? यो प्रश्न गम्भीर छ । धेरै अर्थविज्ञहरूले नेपाल चाँडै श्रीलङ्का बन्ने अनुमान गर्न थालेका छन् । बैङ्कमा देखिएको तरलता, महँगी, उत्पादनमा ह्रास, आयात बढ्दो, निर्यात घट्दो छ । यसले पनि अर्थतन्त्र कुन अवस्थातर्फ गइरहेको छ भन्ने देखाउँछ । विश्व बैङ्कले गरेका प्रक्षेपणहरूले पनि नेपालको अर्थतन्त्रको अवस्था कतातिर जाँदै छ भन्ने अनुमान गर्न गाह्रो पर्दैन ।
यहीबीचमा उत्पादन क्षेत्रहरूलाई अघोषित रूपमा नाकाबन्दी लगाउने हो भने झन् जटिल बन्दै जाने निश्चित छ । कोरोनाले थिलथिलो बनेको हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउने उद्योगहरू बन्द गर्नुपर्ने अवस्था सिर्जना हुनु सुखद् सङ्केत होइन । उद्योगहरूमा उत्पादन जति बढ्छ, त्यति नै उपभोक्ताले सस्तो मूल्यमा खरिद गर्न पाउँछन् । यदि विद्युत्का कारण उत्पादन कम हुने बित्तिकै त्यसको मूल्य बढ्छ । त्यसको प्रभाव उपभोक्तासम्म आइपुग्छ । सामान खरिद घट्छ भने महँगी ह्वात्तै बढ्छ । यसलाई नियन्त्रण गर्नका लागि पनि नेपाल सरकार, विद्युत् प्राधिकरण गम्भीर बन्न आवश्यक छ । उद्योग राज्यको मुटु हो । उद्योग भएन भने रोजगारका सिर्जना हुँदैन । रोजगारको सिर्जना नहुँदा समाज अपराधतर्फ उन्मुख हुन्छ । बेरोजगारको संख्या बढ्छ । बेरोजगारको सङ्ख्या बढ्ने बित्तिकै त्यसका असरहरू समाजमा देखिन थाल्छन् । यस्ता विविध समस्याहरूलाई नियन्त्रण गर्नका लागि पनि सरकारले सहज रूपमा विद्युत् आपूर्ति गर्नुपर्छ । बढीभन्दा बढी उत्पादन गर्ने वातावरण सिर्जना गर्नका लागि पनि सहज रूपमा विद्युत् आपूर्ति गर्ने वातावरण तयार गर्नुपर्छ ।