Suman-Jabegu


न धन दत्यात न च श्रेष्ठकारी,
न च खर्च प्राप्य न च सर्वत्रकारी,
शान्तं शान्तं मनस्य यस्य प्राप्यः
शान्ति सुखं मानव सर्व श्रेष्ठकारी ।

अर्थात् खुसी हुनलाई न त ठूलो धनराशि आवश्यक छ, न त महँगो र मूल्यवान् वस्तु नै । यी दुवै आवश्यक छैन । शान्त र सुखी मन भएको व्यक्तिलाई नै संसारमा सर्वश्रेष्ठ व्यक्तित्वको रूपमा लिन सकिन्छ ।

दशौं युएन विश्व खुसीपना रिपोर्ट सार्वजनिक भएको छ । कोभिड–१९ को पटक–पटकको मरणासन्न सास्तीपछि वास्तवमै दुनियाँमा खुसीको महŒव धेरै नै बढेको छ । सर्वत्र क्षेत्रमा यसले विशेष अर्थ राख्दछ । यो शब्द महँगो भएको छ । खुसी शब्द प्रिय भएको छ । तर, मानिस साँच्चीकै खुसी हुनलाई धेरै कुरा चाहिँदैन । खुसी हुनलाई व्यक्ति विशेषमा समेत भरपर्ने हुन्छ । यो खुसीपनालाई विश्वको छाता सङ्गठन संयुक्त राष्ट्र सङ्घले समेत विगत दश वर्षदेखि विशेष महŒवको दिएको पाइन्छ । यसो झट्ट सुन्दा खुसीपना त संसारको धनाढ्य व्यक्तित्वहरू सोझै हुनुपर्ने हो । तर, ती वर्गहरू यो रिपोर्टको प्रतिवेदनभित्र पर्दैन । दुनियाँको सपनाको देश अमेरिकाको नागरिक पनि यो रिपोर्टमा पर्न सकेको छैन ।

यस्तो देश पनि मात्र उन्नाइसौं स्थानमा मात्र पर्दछ । भर्खरै सार्वजनिक भएको युएन विश्व रिपोर्ट अनुसार स्केण्डेनेभियन देश फिनल्याण्ड पहिलो नम्बरमा परेको छ । विगत पाँच वर्षदेखि लगातार यो मुलुक पर्न सफल विश्वकै सुन्दर देश हो । हुन पनि आफ्ना जनताको अलिकता दुःखीपना हेर्न सहन नसक्ने अत्यन्त उत्तरदायी सरकार हुन्छ । दोस्रो र तेस्रो नम्बरमा क्रमशः स्केण्डेनेभियन देशहरू डेनमार्क र आइसल्याण्ड पर्न सफल भएका छन् । चौथो नम्बरमा हाम्रो देश नेपालजस्तै भूपरिवेष्ठित देश स्वीजरल्याण्ड परेको छ भने पाँचौं नम्बरमा समुद्रमुनिको देशको रूपमा चिनिने द निदरल्याण्ड पर्न सफल भएको छ । हाम्रो देश नेपाल भने पचासीऔं नम्बरमा पर्न सफल भएको छ । छिमेकी देश भारत एक सय छत्तीसौं नम्बरमा परेको छ भने चीन बयासीऔं नम्बरमा परेको छ ।

विश्वकै दुःखी मुलुकको रूपमा अफगानिस्तानलाई सार्वजनिक गरेको छ । जुन देशमा घुम्नलाई समेत सिफारिस गरेको छैन । हरेक वर्ष सम्बन्धित मुलुकका नागरिकहरूको विचार, रायहरू र कल्याणकारिकताको सर्भे गरेर यो रिपोर्ट तयार गरिन्छ । यिनै सर्भेमा वास्तविक जिडिपी, प्रतिव्यक्ति आय, सामाजिक समर्थन, स्वास्थ्य जीवन प्रत्यासी, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारसम्बन्धी धारणा जस्ता डाटाहरूको आधारमा जम्मा १ सय ४६ देशहरूलाई समावेश गरेर तयार गरेर सार्वजनिक गरिएको छ । जुन देशको सरकारले आफ्ना नागरिकहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाजस्ता विषयहरूमा पूर्णरूपमा निःशुल्क ग्यारेण्टी गर्न सफल राष्ट्रहरू नै पहिलो सूचीमा पर्न सफल भएका छन् ।

ती देशहरूले समाजवादी लोकतन्त्रको नीतिलाई अवलम्बन गर्दछन् । जहाँ जनता र सरकारबीच सापेक्षिक रूपमा एक–अर्कामा पूर्ण विश्वास छ । सरकारप्रति जनताको पूर्णरूपमा भरोसा छ । सरकारले पनि जनताको अभिभावकत्वको भूमिका पूर्ण रूपमा निभाउने सफल देशहरू नै अग्रपङ्क्तिमा पर्न सफल भएका छन् । सरकारको स्थायित्वसँगै भ्रष्टाचार शून्यता हुन्छ । जनताबाट उठाइएको कर होस् या कुनै पनि प्रकारको करहरूलाई पारदर्शीरूपले मुलुकको विकास र जनताको सर्वोपरी कल्याणको लागि खर्चिन्छ । अपराधजन्य गतिविधि शून्य छ । त्यहाँका जेलहरू खाली हुन्छन् । जेल जानु त अहोभाग्यजस्तै ठान्छन् । जहाँ पाँचतारे होटलको जस्तै सुविधा हुन्छ । सरकार पूरै अनुशासित हुन्छ । जनतासमेत उत्तिकै रूपमा अनुशासित भएर देशको कानून पूर्णरूपमा पालना गर्न लालायित भएका हुन्छन् ।

कानून मान्नु उत्सव मनाएजस्तै हो । राजनैतिक दलहरू पनि एक–अर्काबीच अत्यन्त स्वास्थ्य प्रतिस्पर्धा भएको हुन्छ । घोचपेच हुँदैन । राजनैतिक दलहरू उत्कृष्ट विचार र सिद्धान्तको आधारमा चलेका हुन्छन् । आफ्ना चुनावताका गरेका प्रतिबद्धताहरूप्रति पूर्णरूपमा पूरा गरेर जनताको मन जितेर दुनियाँको अगाडि शिर ठाडो बनाएर हिँड्न सफल भएका देशहरू नै सर्भेमा अगाडि परेका छन् । मानिसमा खुसी ल्याउन सम्बन्धित देशको सरकारको महŒवपूर्ण भूमिका हुनसक्ने पुष्टि रिपोर्टमा अग्रपङ्क्तिमा रहेका सरकारको चरित्रले स्पष्ट सङ्केत गर्दछ । माथिको बाहेक अन्य तवरले पनि खुसी हुन सकिन्छ ।

खुसी कहिले पनि किनेर किन्न सकिने चिज होइन । यो भावनासँग जोडिएको हुन्छ । सोच र विचारसँग जोडिन्छ । खुसी मानिसको मनोविज्ञानसँग जोडिएको हुन्छ । स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । खुसीले जीवनमा धेरै अर्थ राख्दछ । मानिसमा खुसीपना ल्याउन वा हुनलाई आफ्ना बुझाइमा भर पर्दछ । खुसी अरूसँग दाँजेर कहिले पनि लिनु हुँदैन । सानो–सानो कुरामा खुसी हुन जान्नु पर्दछ । आफूसँग जे छ, त्यसैमा खुसी हुनु पर्दछ । आफ्नो औकात अनुसारको जीवनशैली जिउन जान्नु पर्दछ । व्यक्तिको विद्यमान परिस्थिति र अवस्थाले पनि खुसीलाई निर्धारण गर्दछ । तर, खुसी अरूको देखासिकी गरेर गरिने गतिविधिले कहिले पनि कालान्तरमा मानिसको जीवनमा राम्रो गर्ने छैन । जन्म र मरण शास्वत् सत्य हो ।

तर, मानिस जन्मदा खुसी हुन्छ । उत्सव मनाउँछ । तर, त्यही मानिस मृत्यु हुँदा दुःखी हुन्छ, रुन्छ । अनावश्यक लोभलालच र स्वार्थ नपाल्नुहोस् । अरूको वास्तविक पिरमर्का बुझ्ने कोशिस गर्नु आफ्नो मूल्य बढाउनु हो । खराब सोचले मानवीय मूल्य, मान्यतामा नकारात्मक असर गर्दछ । थुमगत र थरगत सोच र विचारले गरिने व्यवहार र माया पनि अत्यन्त अमानवीय र अन्यायको खुसी वास्तविक खुसी हुन सक्दैन । यस्ता निकृष्ट सोचले तपाईंको सुन्दर मानवरूपी उचाइलाई घटाउनेछ । समग्र मानवजगत्कै भलो सोच्नुहोस् । दया, मायाको भावले भरिपूर्ण हुनुहोस् ।

त्यसैमा खुसी लुकेको छ । आफूभन्दा वरिष्ठलाई सम्मान गर्न सिक्नुहोस् । कनिष्ठलाई माया गर्न सिक्नुहोस् । पितापुर्खालाई सम्मान गर्न सिक्नुहोस् । त्यसैमा पनि खुसी हुन सकिन्छ । संस्कारयुक्त सोच राख्न सक्नु पर्दछ । अरूको मात्र खान नखोजेर सकभर थोरै भए पनि आफ्नो बढी जाओस् भन्ने सोच राख्नु उत्तम हुनेछ । अरूको चित्त दुखाएर, अरूको हानि वा नोक्सानी गरेर, अरूलाई लडाएर, अरूप्रति नराम्रो सोच राखेर र अरूको दुखाइमा गरिने खुसीले कहिले पनि जीवनमा सकारात्मक ऊर्जा दिन सक्दैन । कामले केही गर्न नसके पनि सदैव सकारात्मक सोच र सकेसम्म अरूको भलो चिताएर बाँच्नसके जीवनले सार्थकता पाउनेछ । आफूमा जे छ, त्यसैमा रमाउने हो । जीवनमा त्यस्तो मनन्योग्य काम गर्न केही नसके पनि सर्वश्रेष्ठ मानव भएर बाँच्नसके त्यही नै वास्तविक खुसी सावित हुनसक्छ भन्ने यो स्तम्भकार दुनियाँलाई अपिल गर्दछ ।