बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधारका लागि भन्दै फेरि पनि आन्दोलन सुरु भएको छ । प्रतिष्ठानको सुधारका लागि भनेर पटक–पटक यस्ता आन्दोलन हुँदै आएका छन् । तर, आन्दोलनले उठाएका मुद्दा निष्कर्षमा पुग्न सकेका छैनन् । यसअघि प्रतिष्ठानकै कर्मचारी, विद्यार्थीहरूले समेत लामो समय आन्दोलन गरे । प्रतिष्ठानबाहिरबाट पनि सुधारका लागि भनेर पटक–पटक आन्दोलन भए । तर, समस्या कहिले समाधान हुने हो टुङ्गो छैन । पटक–पटकका आन्दोलन सहमतिमा टुङ्गिएका छन् । तर, सहमतिका बुँदाहरू अक्षरशः पालना भएको पाइँंदैन । अहिले फेरि काठमाडौंको एउटा समूहले धरान आएर आन्दोलन गरिरहेको छ । उसको मुख्य माग प्रतिष्ठान सुधार हुनुपर्ने भन्ने छ । प्रतिष्ठानमा समस्यै समस्या छन् । हरेक क्षेत्रमा समस्या छ । नारा लगाए जसरी तुरुन्तै सबै समस्या समाधान हुन सम्भव छैन । प्रतिष्ठान समस्याले ग्रस्त छ भन्ने जगजाहेर छ । यस्तो अवस्थामा सुधार हुनुपर्छ भन्ने कुरा आम सर्वसाधारणले पनि बुझ्न सक्ने कुरा हो तर, आन्दोलनकारीहरूले के–के कुरा सुधार गर्नुपर्ने हो भनेर स्पष्ट हुन आवश्यक छ । सुधार गर्नुपर्छ भन्ने मात्र अमूर्त कुराले समस्याको समाधान हुने देखिँंदैन । यसअघिका आन्दोलनहरूमा प्रतिष्ठानका पदाधिकारीहरू हटाउनु पर्नेलगायतका माग उठेका थिए । तर, हालसम्म ती माग पूरा भएका छैनन् । सरकारले छानबिन समिति गठन गरेर प्रतिवेदन तयार पारे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।
आन्दोलन गर्नुको अर्थ सुधारका लागि दबाव दिनु नै हो । तर, पटक–पटक आन्दोलन भइरहने तर, समस्या जस्ताको त्यस्तै रहने गरेको छ । यसले सुधार होइन, उल्टो प्रतिष्ठानप्रति नकारात्मक धारणा बढिरहेको छ । आन्दोलनका कारण प्रतिष्ठान झनै धरासायी बनिरहेको छ । यसले अन्ततः प्रतिष्ठान र धरानवासीलाई नै बेफाइदा पुग्ने हो । पटक–पटकको आन्दोलनले आम सर्वसाधारणमा समेत प्रतिष्ठानप्रति नकारात्मक धारणा विकास भइरहेकाले आगामी दिनमा आन्दोलनबाट फाइदा बेफाइदा के के भयो समीक्षा गरिनु आवश्यक छ । प्रतिष्ठानमा राम्रा कामहरू पनि धेरै भएका छन् तर, बाहिर प्रतिष्ठानको छवि नकारात्मक बनिरहँदा सकारात्मक कुरातर्फ कसैको ध्यान गएको पाइँदैन । प्रतिष्ठान जोगाउने र यसको विकासमा सहयोग पु¥याउने जिम्मेवारी धरान र धरानवासीको पनि हो । प्रतिष्ठानमा पटक–पटकका आन्दोलन र छानबिन समितिका प्रतिवेदन सार्वजनिक भएपछि सह–कुलपति तथा स्वास्थ्यमन्त्रीले सिनेट बैठक डाकेका थिए । सिनेटबाट वर्तमान पदाधिकारी हटाउनसके र नयाँ पदाधिकारी नियुक्त गर्नसके सुधार हुनसक्छ भन्ने अपेक्षा धेरैले गरेका छन् तर, सिनेट बैठकविरुद्ध पदाधिकारीहरू अदालत गएपछि अहिले तत्काल उनीहरू हट्ने सम्भावना टरेको छ ।
प्रतिष्ठान सुधारका लागि सरकारकै इच्छाशक्ति महŒवपूर्ण हुन्छ । किनभने प्रतिष्ठानका कुलपति प्रधानमन्त्री स्वयम् रहने व्यवस्था छ । कुलपतिले पहल गरे प्रतिष्ठान सुधारको बाटोमा अघि बढ्न सक्छ । प्रतिष्ठानका पदाधिकारीलाई त पटक–पटक आन्दोनलका माध्यमबाट र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा दबाव परिरहेकै छ । तर, उनीहरू कहिले अदालत गुहार्ने र कहिले अटेर गरेर बस्ने गरेका कारण समस्या समाधान हुन सकेको छैन । त्यसैले आन्दोलन र दबावमूलक कार्यक्रम बीपी प्रतिष्ठानमा भन्दा प्रधानमन्त्री कार्यालयअगाडि गरिनु आवश्यक छ । प्रतिष्ठान धरासायी हुनुको मुख्य कारण वाह्य होइन, आन्तरिक समस्याले हो । त्यसैले आन्तरिक समस्या समाधान गर्नसके प्रतिष्ठानको सुधार हुन समय लाग्दैन ।