अहिले चिया पसल होस् या कुनै भेटघाट गर्ने चौतारी । सबैतिर नेपाल श्रीलङ्का उन्मुख भइरहेको टिकाटिप्पणी हुने गरेको छ । आखिर श्रीलङ्का उन्मुख नै भएको हो त नेपाल अर्थात् नेपालको अर्थतन्त्र पनि त्यही स्थितिमा पुग्दै गएको हो त ? अहिलेका केही सूचकहरूलाई आधार मान्दा खतरापूर्ण अवस्था चाहिँ पक्कै आउँदै गएको हो । अर्थविद्हरूले अहिले नै त्यो स्थितिमा नपुगे पनि खतराको घण्टी बजेको मान्ने गरेका छन् । यो हुनुमा धेरै फ्याक्टरले काम गरेको छ । एउटा त आयात वृद्धि, अर्को मुद्रास्फीति बढ्नु, रेमिट्यान्स घट्नु, क्रिप्टोकरेन्सी, हुण्डीजस्ता अवैध धन्दाहरू सञ्चालन हुनु । यी र यस्ता विषयका कारण पनि नेपालको अर्थतन्त्र डामाडोल स्थितिमा पुग्दै गएको अवस्था छ । नेपालको अर्थतन्त्र डामाडोल स्थितिमा पुग्दै छ भन्ने सङ्केत राष्ट्र बैङ्कले नेपाल सरकारलाई दिएको सुझावबाट पनि प्राप्त गर्न सकिन्छ । राष्ट्र बैङ्कले इन्धनजन्यमा ५० प्रतिशत कटौती गर्न सुझाव दिएको छ ।

अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिती घट्दो क्रममा छ । एवम् क्रमले चलेमा नेपालको अर्थतन्त्र धरासायी बन्नेछ ।
यही बेला एसियाली विकास बैङ्कले नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । यो गतिलो सङ्केत होइन । नेपाल श्रीलङ्काको बाटोमा लागिसकेको अवस्था छ । अहिले नै पनि नेपालमा वैदेशिक ऋणको तह हरेक वर्ष बढ्दो छ । कोरोना महामारीपछि नै नेपालले १५ प्रतिशतभन्दा बढी सार्वजनिक ऋण बढेको अवस्था छ । कोरोना कालभन्दा अगि २७.२ प्रतिशत रहेकामा २०२१ मा आइपुग्दा ९ प्रतिशतले बढेको थियो भने २०२२ मा आइपुग्दा पुनः ६ प्रतिशतले बढी ४२ प्रतिशत पुगेको अवस्था छ । सार्वजनिक ऋण यो अवस्थामा पुग्नुले पनि नेपालको अर्थतन्त्र ऋणात्मक बनिरहेको सङ्केत गरेको छ । नेपालले अर्थतन्त्र चलायमान बनाउनका लागि पर्यटन, रेमिट्यान्स, निर्यात, उत्पादन र लगानी क्षेत्रमा ध्यान पु¥याउनुपर्ने अवस्था छ । तर, यतिबेला सरकार यस विषयमा गम्भीर बनेको अवस्था छैन । राष्ट्र बैङ्कले दिएको सुझावअनुसार विलासिताका वस्तुहरूको आयात शून्यमा झार्नुपर्छ भने इन्धनलगायतमा पनि कटौती गरेर भए पनि विदेशी मुद्रा सञ्चितीलाई बढाउनुपर्ने अवस्था छ । त्यस्तै पेट्रोलियमबाट सञ्चालन हुने सवारीहरूलाई कटौती गरी विद्युत्बाट सञ्चालन हुने सवारीहरूलाई भिœयाउनसके भविष्य सुनिश्चित हुने थियो ।

श्रीलङ्का उन्मुख हुन नदिनका लागि सरकार गम्भीर बन्न आवश्यक छ । उत्पादन क्षेत्रमा बढीभन्दा बढी लगानी गर्ने, निर्यातमुखी व्यापारलाई ध्यान दिन आवश्यक छ । आयातलाई कटौती गर्ने गरी त्यस्ता उद्योगधन्दाहरूको विकास गरी रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्नुपर्छ । सरकारसँगै उद्योगी व्यवसायी, नियामक निकाय र जनता पनि सचेत बन्नुपर्ने बेला आएको छ । आयात बढिरहँदा निर्यात बढाउनेतर्फ प्रभावकारी कदमहरू चालिएको पाइँदैन । आयात निर्यातलाई सन्तुलन गर्नेतर्फ सरकारले कदम चाल्नुपर्छ । नेपालको अर्थतन्त्रको पहिलो आधार रेमिट्यान्स हो । यसलाई सदुपयोग गर्ने अर्थात् उत्पादन क्षेत्रमा लगाउनेतर्फ सोच्नुपर्छ । रेमिट्यान्सलाई सामान उपभोगमा मात्रै प्रयोग गर्ने हो भने थप खतरा निम्तिन्छ । अहिले बढिरहेको मुद्रास्फीति त्यसैको परिणाम हो । त्यसकारण रेमिट्यान्सलाई सही सदुपयोग गर्ने सरकारको नीति हुनुपर्छ ।