मोरङको मिक्लाजुङ गाउँपालिका–८ बस्ने ७३ वर्षीय चन्द्रबहादुर भण्डारी गत बिहीबार चार वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परे । सोमबार मोरङ अदालतमा ‘बाल यौन दुव्र्यवहार’ मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । वृद्ध भण्डारीले बालिकासँग यौन दुव्र्यवहार गरेको भिडियो पनि प्रहरीले फेला पारेको छ । ६ चैतमा मोरङको लेटाङ–५ खेरुवाकी १२ वर्षीया छात्रालाई शिक्षक मनोज पौडेलले यौन दुव्र्यवहार गरे । गत मङ्सिरमा कटहरी–७ बस्ने चार वर्षीया बालिकालाई छिमेकमा आएका भारतको विहारस्थित अररिया बस्ने २४ वर्षीय मुकेश सरदारले ललीपप दिएर फकाएर बलात्कार गरे । बालिका अचेत अवस्थामा फेला परेकी थिइन् । पक्राउ परेका आरोपित सरदार जिल्ला अदालतको आदेशले थुनामा छन् । यी घटनाहरू समाजमा सार्वजनिक भएका र प्रहरी प्रशासनमा उजुरी परेकामात्र हुन् । पछिल्लो समयमा बालिकामाथि हुने यौनजन्य दुव्र्यवहारका घटनाहरू बढेका छन् । सामान्यतया बालबालिकाको साथ शारीरिक, मानसिक र यौनिक रूपमा भावनात्मक स्तरमा गरिने यौनजन्य गतिविधिलाई बालयौन दुव्र्यवहार भनिन्छ । यौनिक र शारीरिक शोषणमात्र बालयौन दुव्र्यवहार नभएर मानसिक र भावनात्मक स्तरमा हुने शोषण पनि बाल यौन दुव्र्यवहार ठहरिन्छ । बाल यौन दुव्र्यवहारको दायरा बलात्कार या गम्भीर यौन आघातमा मात्र सीमित नभएर बालबालिकालाई यौनिक अर्थ राख्ने गतिविधि गर्नु, अनुचित कामूक कुराकानी गर्नु, माया गरेजस्तो गरेर गलत नियत राखेर छुनु, यौन गतिविधिमा आकर्षित गर्न थाहै नपाई अन्य उपाय अपनाउनु, बालापनको फाइदा उठाउँदै गिफ्ट, पैसा वा खानेकुराको प्रलोभनमा पारी यौन गतिविधिमा सहभागी गराउन बाध्य पार्नु पनि बाल यौन दुव्र्यवहार हो ।
समाजविज्ञानी, मनोविज्ञानीहरूले बाल यौन दुव्र्यवहारमा आफ्नै बाबु–आमा, दाजुभाइ, दिदीबहिनी, काका, मामा, परिचित छिमेकीहरू नै सबैभन्दा बढी संलग्न हुन्छन् । जसको बारेमा उसले गर्ने कुकृत्य पत्ता लगाउन सुरुमा कठिन हुन्छ वा विश्वास लाग्दैन । कतिपय अवस्थामा यस्ता बाल यौन दुुव्र्यवहारहरू ख्यालख्यालमै पनि ठूलाले सानालाई गर्ने गर्छन् । शिक्षकहरूले अनुशासन सुधारको बहानामा गलत नियतले शरीरमा छुने, पिठ्युँमा धाप मार्ने, गालामा चिमोट्ने, किशोरी तथा बालिकाहरूको छातीमा हेरेर पनि बालयौन दुव्र्यवहार गर्ने गरेका छन् । मनोविज्ञानीहरूका अनुसार कतिपय अवस्थामा कुनै पनि व्यक्ति आफ्नो दबिएको कुण्ठित यौन कुण्ठा, यौन विचलन, यौन मनोविकारबाट ग्रस्त भएर पनि यस्तो घिनलाग्दो काम गर्न पुग्छन् भने कपितय भने पारिवारिक विग्रह, छोरा पाउने लालचले उत्पन्न अवसाद, पिँढीगत दूरीका कारण पनि बालबालिकामाथि यौन दुव्र्यवहार हुने गरेका छन् । बालबालिकामा यौन चेतनाको विकास पूर्णरूपमा नहुने भएकाले यौन दुव्र्यवहार गर्ने व्यक्तिको प्रतिवाद, प्रतिरोध गर्न नसक्ने हुँदा अपराधीहरूले बालबालिकालाई लक्षित गर्ने गर्छन् । बाल यौन शोषण जघन्य र अमानवीय अपराधको श्रेणीमा पर्छ । बाल यौन शोषण वा बलात्कार, यौन दुव्र्यवहारमा परेका बालबालिकाको अवचेतन मनमा अनावश्यकरूपमा डरको विकास हुन्छ । मानसिक अवसाद, आत्मग्लानी, हीनताबोधले ग्रस्त हुँदै आत्मविश्वास गुमाउँदै ओछ्यानमै पिसाब गर्ने, निदाउन नसक्ने जस्तो मनोविकार उत्पन्न हुनसक्छ । मानसिक र भावनात्मकरूपमा हुने यस्ता बाल यौन शोषण वा यौन दुव्र्यवहारले बालबालिकाको अन्तस्करणमा गहिरो चोट लाग्छ भने विस्तारै त्यो गहिरो मानसिक अन्तस्करणको चोट कुण्ठा बनेर बस्न सक्छ ।
ठूलो भएपछि अरूका लागि यौन शोषण गर्न प्रेरित गर्ने खालका पनि हुनसक्छन् । मनोविकारका रूपमा विकसित भएको पीडा उसको जीवनको हिस्सा बनेर अपराधबोधको बोझ बनेर बस्छ । नेपालमा बाल यौन शोषण, यौन दुव्र्यवहार विरुद्ध कडा कानून छ । यति कडा कानून भए पनि पीडितले न्याय नपाउने, पीडकलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासन चुक्ने, अदालतबाट उल्टो फैसला हुनेजस्ता तमाम कारणले बाल यौन दुराचारीको मनोबल समाजमा बढ्ने गरेको छ । समाज र परिवारमा बढ्दो बाल यौन दुव्र्यवहार रोक्नका लागि सचेतना, सजगता र जागरुकताको खाँचो छ । घरपरिवार, आमाबाबु र परिवारजनले आफ्नो बच्चासँग खेल्ने र खेलाउनेप्रति सजग हुनु जरुरी छ । आफ्नो बच्चालाई पनि कसैले गर्ने बाल यौन दुव्र्यवहार अथवा असामान्य व्यवहार भनेको यस्तो हुन्छ भनेर सामान्य भाषामा सिकाउन भुल्नु हुँदैन । विद्यालयहरूमा मनोवैज्ञानिक क्याम्प, परामर्श दिनु जरुरी छ भने चिकित्सक, सञ्चारकर्मी र प्रहरी यस्ता घटनाप्रति सदैव सचेत, सजग र संवेदनशील हुनुपर्छ । इन्टर्नेट, मोबाइल, सामाजिक सञ्जालको माध्यमबाट पनि अपराधीहरूले बालबालिकालाई बाल यौन दुव्र्यवहार गर्न सक्छन् । यसका लागि बालबालिकालाई त्यस्ता उपकरणबाट आउनसक्ने अश्लील सामग्रीलाई निषेध गर्न अभिभावकले निगरानी वा पेरेन्टल कन्ट्रोल गर्नु अनिवार्य छ ।