केही समयअघि प्रदेश अधिवेशनको सिलसिलामा एकजना कमरेडले भन्दै हुनुहुन्थ्यो, ‘तपाईंको धैर्यतालाई मैले मानेँ ।’ मैले कस्तो धैर्यता भनेर प्रतिप्रश्न गरे । वहाँले प्रष्ट पार्दै भन्नुभयो, ‘पार्टी आन्दोलन अपेक्षाकृत अघि बढिरहेको छैन । सङ्गठनले ठोस जिम्मेवारी दिएको पनि देख्दिनँ । नेतृत्वहरू पलायन भइरहेका छन् । तर, पनि तपाईं भने निष्ठालाई साक्षी राखेर विचलित नभई निरन्तर लागिरहनुभएको छ । आजको अवसरवादी समाजमा यस्तो धैर्यता सबैमा पाउन सकिन्न ।’ कमरेडको कुरा सुनिसकेपछि मैले भने, ‘जसले आफूलाई अवसर र स्वार्थको निरपेक्ष दौडमा उभ्याउँछ, ऊ सानातिना प्राविधिक गड्बडीको बहानाबाजी गर्दै आन्दोलनको प्रक्रियाबाट पलायन हुन्छ । जो अवसर र स्वार्थलाई सापेक्षित वा आवश्यकताको आधारमा खास जिम्मेवारी मात्र हो भनेर परिभाषित गर्दछ । उनमा प्रतिकूलताहरूकै बीच पनि औसतभन्दा बढी आन्दोलनमा टिक्ने दृढता, धैर्यता र इमान्दारिता हुन्छ । यो साश्वत् नियम हो । सारतः म अवसरको दौडमा निरपेक्षरूपमा भाग नलिनु नै धैर्यताको बाँध नफुट्नुको सापेक्षित अभिव्यक्ति हो ।’

वस्तुतः माक्र्सवादी समाजवादमा मात्र निजी स्वार्थ र अवसर निर्णायक हुँदैन । त्यहाँ यो वा त्योभन्दा पनि सिङ्गो मानव स्वार्थ प्रधान हुने गर्दछ । आज लोकतन्त्रवादीहरूले भन्दै आएको समाजवाद पनि अमूक र गोलमटोल रहेको छ । त्यसले समाजवादमाथि उल्टै महाविभ्रम सिर्जना गरिरहेको छ । त्यसैले अवसर र स्वार्थको बहस गर्नु पहिले वर्तमान मानव समाजको अर्थराजनीतिक दृष्टिकोणबारे स्पष्ट हुनु जरुरी हुन्छ । आजको विश्व राजनीतिक दृष्टिकोण पुँजीवादद्वारा निर्देशित छ । पुँजीवाद आफैमा निहीत नाफा र स्वार्थको राजनीति हो । विश्वकै सम्पत्ति एकजनाले कब्जा गरे पनि पुँजीवादले त्यसलाई व्यावसायिक र व्यापारिक उद्यमको आवरण अन्तर्गत स्वभाविक आर्जन भनेर परिभाषित गर्दछ । यसरी जब अर्थराजनीति मूलभूतरूपमा जसरी पनि कमाउने, तेरोमेरो निजी अवसर र स्वार्थले डेरा जमाएको हुन्छ, तब त्यस मातहत रहेका सम्पूर्ण अर्थराजनीतिक, सामाजिक तथा सांस्कृतिक सत्ताहरूको चरित्र पनि अवसर र स्वार्थद्वारा निर्देशित हुन्छ । सबै मानवीय सत्ताका गतिविधि र उठबसहरू दलगत, समुदायगत, समूहगत र व्यक्तिगत वा निजी स्वार्थकै कक्ष वरिपरि फन्फनी घुमिरहन्छ ।

यसरी पुँजीवाद हावी भएको मानव समाजमा सम्पूर्ण अर्थराजनीतिक भाष्यहरू पनि पुँजीवादी संस्कृति अनुकूल नै विकास, विस्तार र सुदृढ हुने गर्दछ । यस्तो वस्तुगत धरातलमा साम्यवादी अर्थराजनीतिक आन्दोलन रक्षात्मक हुन्छ । सारभूतरूपमा रक्षात्मक आन्दोलन घेराबन्दी, विभाजित र कमजोर हुन्छ, जुन आज हामीले भोगिरहेका छौं । यस्तो बेला सबै सामाजिक सत्ताहरूमा पुँजीवादी संस्कृति वा मूल्यमान्यताले कमाण्ड गर्दछ । समाजका सबै पहलुहरूमा पुँजीवादी चिन्तन् हावी हुन्छ, जुन अवसरवादी स्वार्थद्वारा परिचालित हुन्छ । यस्तो यथार्थ वस्तुगत परिवेशमा राजनैतिक दलहरूको स्थापना पनि सोही मान्यतामा आधारित हुन्छ ।

आज नेपाली राष्ट्रिय राजनीतिमा च्याउसरी उम्रिएका अधिकांश राजनीतिक दलहरू निहीत स्वार्थकै सिलसिलामा गठन भएको जगजाहेरै छ । उनीहरूको नाम, नेतृत्व, झण्डा, ब्यानर र लोगो भिन्न भए पनि कार्यदिशा र कार्यक्रम खासै भिन्न देखिँदैन । सिङ्गो अर्थराजनीतिक सत्ताहरूमाथि पुँजीवादी संस्कृतिले नेतृत्व गरिरहेको हुँदा कम्युनिष्ट आन्दोलन वा पार्टीहरूले निर्णायक पहल लिनसक्ने अवस्थामा देखिँदैन । नियमतः रक्षात्मक आन्दोलनले सामाजिक सत्ताको सम्पूर्ण अवयवहरूमा पकड जमाउन सक्दैन । परिणामतः समाजको आम भाष्य, चिन्तन प्रवृत्ति र संस्कृति पुँजीवादी औसत कर्मकाण्ड वरिपरि फन्को मारिरहन्छ । यस्तो बेला कम्युनिष्टहरू सही भएर पनि निष्प्रभावी हुन पुग्दछन् । आज हाम्रो आन्दोलन यही कटुसत्य वरिपरि रुमल्लिइरहेको छ ।

वास्तवमा राजनैतिक दल भनेको निश्चित सिद्धान्त, विचार, दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, कार्यक्रम र उद्देश्यमा गठन हुनुपर्दछ । कुनै पनि दललाई समर्थन र विरोधको मूल आधार भनेको त्यसले अङ्गीकार गर्ने राजनैतिक सिद्धान्त र कार्यदिशा नै हो । समाजवादी र पुँजीवादी, अग्रगामी र पश्चगामी, परिवर्तनकारी र परिवर्तन विरोधी अनि न्याय र समानताको पक्षधर वा विरोधी भनेर छुट्याउने लक्ष्मणरेखा स्प्ष्ट हुनु जरुरी हुन्छ ।

तर, त्यसो भइराखेको छैन । किनकी पुँजीवाद हावी छ, जहाँ सबैलाई एउटै फुर्लुङमा कोचेर विभ्रमहरू सिर्जना गरिन्छ । जनतामा विद्यमान यस्ता अस्पष्टता र अन्यौलतालाई आफ्नो शासनसत्ताको रक्षाकवच बनाउँदै राज गर्नु उसको विशेषता नै हो । आज यसकारण राजनैतिक दल निर्माणको सिङ्गो प्रक्रियालाई विचार सिद्धान्तले नेतृत्व गरेको छैन । औसत यो वा त्यो अवसर र स्वार्थगत भुलभुलैया, रिसराग र विभ्रमहरूबीच दल निर्माणको सिलसिला बढिरहेको छ । कुनै घटनाविशेष सकारात्मक र नकारात्मक माहौल वा भावनाकै कभरमा दल फर्मेसन गर्ने क्रम तीव्र बन्दैछ । राजनीतिमा स्पष्ट दृष्टिकोण, कार्यदिशा, कार्यक्रम र उद्देश्य बिना सामान्य अन्तरविरोध वा मनमुटावकै भरमा दल त्याग्ने वा नयाँ दल स्थापना गर्ने गैरराजनैतिक संस्कार वा होडबाजी मौलाएको छ ।

मूलतः अवसरवादी स्वार्थमा आधारित पुँजीवादले तपशिलका सबै आयामहरूलाई पनि सोही अनुरूप सङ्गठित गर्दछ । राजनैतिक दल फर्मेसन पनि यही प्रक्रिया अन्तर्गत हुने गर्दछ । यसो भएपछि व्यक्तिगतरूपमा दल अदल–बदल गर्ने संस्कृति पनि एवम् तरिकाले निर्देशित हुने गर्दछ । विगतमा जसरी विचार र सिद्धान्तलाई केन्द्रमा राखेर दल गठन गरिन्थ्यो भने त्यसै अन्तर्गत दल अदल–बदलको संस्कृति विन्यास हुन्थ्यो । तर, आज यो नितान्त अवसर र स्वार्थको आयामद्वारा निर्देशित हुँदै गएको छ । अर्थराजनीति झन्झन् विकृत र विसङ्गतिपूर्ण बन्दैगइरहेको छ ।

यसलाई झनै लम्पट अवसरवादी स्वार्थको चौघेरामा बन्दी बनाइएको छ । गलत अम्यास र संस्कृति चरम् उत्कर्षमा पुगेको छ । सिद्धान्त, विचार, दृष्टिकोण, निष्ठा र इमान–जमानहरू विसर्जनको दिशाउन्मुख देखिन्छ । अवसर र स्वार्थको पारो झन् बढिरहेको छ । आज शास्त्रीय पुँजीवाद अराजक दलाल एकाधिकार पुँजीवादतर्फ सङ्क्रमणको अवस्थामा छ । यस्तो अर्थराजनीतिमा रूपवादी माहौल हावी हुन्छ । तब समाज परिवर्तनका सकारात्मक एजेण्डाहरू सही भएर पनि कम्जोर हुन पुग्दछन् भने नकारात्मक आयामहरू गलत हुँदाहुँदै पनि एकाएक स्थापित हुन पुग्दछन् । यो अराजक पुँजीवादी चरणको विकृत अर्थराजनीतिक–सांस्कृतिक अभिव्यक्ति हो । यस्तो चरणमा विवेक, नैतिकता र मूल्यको संस्कार शून्यावस्थामा हुन्छ भने बेथिति र विसङ्गति नियन्त्रणबाहिर पुग्दछ ।

पछिल्लो समय दल अदल–बदल गर्ने संस्कृति फेसनको रूपमा मौलाइरहेको छ । यो यति संवेदनशील हुँदैछ कि पलभरमा को कता जाने वा आउने हो केही भन्न सकिन्न । दशकौंसम्म निष्ठा र त्यागको सङ्घर्षपूर्ण राजनैतिक आन्दोलनको इतिहास बनाएका नेता कार्यकर्ताहरू पनि अवसर र स्वार्थको हावामा मडारिएर गलत दिशातर्फ बहकिनु सामान्यजस्तै भइरहेको छ । उनीहरू पनि अवसरवादी गुरुत्वकेन्द्रबाट बाहिर जान सकेका छैनन् । वस्तुतः सिद्धान्त, दृष्टिकोण र विचारद्वारा प्रशिक्षित नेता कार्यकर्ताहरू निश्चित उद्देश्य प्राप्तिको लम्बे आन्दोलन वा अभियानहरूमा अटल र अडिग हुन्छन् ।

तर, औसत अवसर र स्वार्थमा आधारित आत्मकेन्द्रित व्यक्तिवादी स्वार्थ हावी भएको समाजमा सामाजिक वा व्यक्तिगत सत्ताहरू असाध्यै अस्थिर र संवेदनशील हुने गर्दछ । आज हाम्रो अर्थराजनीतिले यही कटुसत्यको सेरोफेरोमा चक्कर मारिरहेको छ । अर्थात् अवसरवादी चश्माले कुन दिशाको सुदूर क्षितिजमा मनोरम अवसरसहितको सम्भावनाको पसल खुलिरहेको छ भन्नेमा अवसरवादीहरू पोख्त छन् । उनीहरूमा सिद्धान्त, विचार, दृष्टिकोण, निष्ठा, मूल्य र इमानहरू हराउँदै गएपनि अवसरको आँकलन गर्ने सन्दर्भमा भने दूरद्रष्टा नै छन् भन्दा दुईमत नहोला ।

आज दल अदल–बदलको पराकाष्ठाबाट नियाल्दा सिद्धान्त र विचार सही वा गलतको कुनै औचित्य देखिँदैन । उनीहरू राज्यसत्ताको आयामबाट हेर्दा वडासदस्यदेखि प्रधानमन्त्रीसम्म, पार्टी सत्ताको कोणबाट नियाल्दा टोल सदस्यदेखि केन्द्रीय अध्यक्षसम्म अनि संवैधानिक वा कूटनीतिक सत्तामा सदस्यदेखि अध्यक्ष वा परिचरदेखि राजदुतसम्मको स्वार्थगत लेनदेनमा शून्य सम्भावनालाई अधिकतम् अवसरमा बदल्ने रणनीति अन्तर्गत तँछाड–मछाडको दौडमा देखिन्छन् । अर्थात् पछिल्लो पार्टी परिवर्तनको संस्कृतिमा परिवर्तनशील र न्यायपूर्ण एजेण्डा र कार्यक्रम हेरिँदैन ।

सही र गलत अग्रगामी र पश्चगामी अनि जनपक्षीय र जनविरोधी केही मतलव हुँदैन । अवसरको छहारी मुनी रूपवादी माहौलकोे रङ्गीन चौतारी भए काफी हुन्छ । यो नितान्त अवसर र स्वार्थ खोजाइ र रोजाइको कोणमा परिलक्षित हुन्छ । अझ चुनावी रौनकको सन्दर्भबाट हेर्दा उम्मेदवारीको टिकट सुनिश्चिततालाई प्रमुख आधार बनाइएको देखिन्छ । यसरी विकृत र खर्चिलो चुनावसँगै अवसरकै भरमा दल अदल–बदल गर्ने परम्पराले गर्दा आज राष्ट्रिय राजनीति महाकलङ्कित बन्न पुगेको छ । राजनीतिप्रति आम जनतामा नकारात्मक भाष्य  र वितृष्णाको रेखाङ्कन बढ्दो छ । यो तपाईं हामी सिद्धान्तनिष्ठ, मूल्य र गुणात्मक परिणामको राजनीति गर्नेहरूको लागि महाविडम्बना, महादुर्भाग्य र महाआपत्तिको विषय हो ।

विगतमा राजनीति यति बिघ्न बिग्रिएको वा प्रदूषित थिएन । त्यसैले पार्टीमा आकर्षित गर्न प्रधानतः दर्शन, दृष्टिकोण र विचारका अस्त्रहरू प्रयोग गरिन्थ्यो ।  आधारभूत राजनैतिक, वैचारिक ज्ञान अनिवार्य हुन्थ्यो । उनीहरू पनि न्यूनतम् वैचारिक स्पष्टतासहित नै पार्टी परिवर्तन गर्दथे । अवसर र स्वार्थलाई अलि परको विषय ठानिन्थ्यो । तर, आज हामी ठीक उल्टो प्रक्रियामा छौं । पद, प्रतिष्ठा र अवसर प्रधान भएको छ भने विचार, सिद्धान्त र त्याग नितान्त गौण बन्न पुगेको छ । निष्ठा र नीतिको कुरा प्रतिबद्धता, बोली र विज्ञप्तिहरूमा सीमित हुँदैछ भने व्यवहारतः  अवसर र स्वार्थ निर्णायक बन्दै गएको छ । सिङ्गो अर्थराजनीतिक भाष्य नै अवसर र स्वार्थद्वारा परिचालित हुँदैछ । हाम्रो सैद्धान्तिक–राजनैतिक आदर्श, मूल्य(मान्यता र संस्कार–संस्कृतिहरू कौडीको अवसरवादसँग लिलाम बिक्री भइरहेका छन् । यद्यपि त्यही अवसरवादको रणनैतिक अवतारबाट मतदाताहरू दिग्भ्रमित वा विभ्रमित भइरहेका छन् । जनता यसरी दिग्भ्रमित भएसम्म सत्य र सही संस्कार–संस्कृति स्थापित हुँदैन ।

वस्तुतः जति जति अर्थराजनीतिक सत्ताहरू अवसर र स्वार्थको मूल्यबाट सञ्चालित हुन्छन्, समाजमा त्यति नै बढी आपराधिकरण, भ्रष्टीकरण र दलालीकरण बढ्दै जान्छ । एक शब्द, एक बोली, एक नजर, एक पाइला र एक स्पर्श पनि स्वार्थकै मूल्यमा मात्र परिचालित हुने गर्दछ । अरू कुरा नगरौं, सङ्कटको समयमा राहत वितरण गरिन्छ ।

त्यसमा पनि मानवीय सहयोगभन्दा स्वार्थ प्रधान हुने गर्दछ । यस्तो निरपेक्ष स्वार्थगत परिपाटी हावी भएको समाजमा न्याय, समानता, शान्ति र समृद्धिको आशा गर्नु भनेको जनतालाई भ्रमित गर्ने बनिबनाउ रणनीति मात्र हुन्छ । यस्ता अमूक नाराहरू आवधिक चुनावमा भोट ब्ल्याकमेलिङ गर्ने महŒवपूर्ण अस्त्र मात्र बन्दछ । यो पछिल्लो नेपाली अर्थराजनीतिमा व्याप्त सर्वाधिक विडम्बनाको विषय हो ।

समग्रमा पुँजीवाद निजीत्वद्वारा निर्देशित अवसर र स्वार्थकेन्द्रित दर्शन हो । यसमा आत्मकेन्द्रित व्यक्तिवादी स्वार्थ हावी हुन्छ । यसकारण दल अदल–बदलको गलत अवसरवादी संस्कृतिलाई निरुत्साहित गर्ने हो भने अराजक दलाल पुँजीवादको ठाउँमा माक्र्सवादी समाजवादको विकल्प दिन सक्नुपर्दछ । निजी स्वार्थमा सामूहिक स्वार्थ स्थापित गराउनु पर्दछ । तबमात्र राजनैतिक दल फर्मेसन दर्शन र दृष्टिकोणमा आधारित हुन्छ । वास्तवमा आन्दोलनको लम्बे ऐतिहासिक प्रक्रिया अन्तर्गत इतिहासको खास घुम्तीहरूमा मात्र पार्टीको जन्म हुने गर्दछ ।

यो निश्चित सिद्धान्त, विचार, दर्शन, कार्यदिशा, कार्यक्रम र उद्देश्यबाट परिलक्षित हुन्छ । तब नेता कार्यकर्ताहरूमा पनि विचार र दर्शनको सांस्कृतिक भाष्य स्थापित हुन्छ । पुँजीवादमा जस्तो भ्रुणबाटै अवसर र स्वार्थ खोज्ने परिपाटी हुँदैन । कुनै पार्टीमा प्रवेश गर्नुअगावै राज्यसत्ता र दलीय सत्ताको सुनिश्चितता वा भागबण्डा गर्नु पर्दैन । त्यसैले पुँजीवादी संस्कृति जीवित रहेसम्म दल अदल–बदल लगायतका तमाम खाले अवसर र स्वार्थगत औसत कर्मकाण्डहरू भई नै रहनेछ । सम्बन्धित सबैलाई चेतना होस् !