काठमाडौँ । मुलुकको पर्यटन क्षेत्रका लागि विसं २०७८ निकै निरासाजनक बन्यो । कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो ।
विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै पर्यटन भएकाले पर्यटक आगमन सुस्त अर्थात् अत्यन्तै न्यून सङ्ख्यामा भित्रिएका विदेशी पर्यटकको आँकडाले पनि नेपालको पर्यटनको अवस्थालाई दर्शाउँछ । त्यसो त अघिल्लो वर्ष विसं २०७७ पनि कोभिड कहरले नेपालको सबैजसो क्षेत्रलाई चौपट तुल्यायो ।
त्यसताका पनि पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो । वर्ष २०७८ मा विदेशी पर्यटक आगमन सर्वाधिक कम भए । समग्रमा पर्यटन क्षेत्रमा चुनौतीसँगै उत्साह पनि थपिएको छ । कोभिड महामारीको दोस्रो लहरसँगै सुरु भएको वर्ष २०७८ को उत्तराद्र्धमा पर्यटन क्षेत्रमा धेरै आशाका सम्भावना देखिए ।
होटल व्यवसायीहरूको छाता सङ्गठन होटल सङ्घ नेपाल ९हान०ले कोभिडपछि विस्तारै मुलुकको पर्यटन क्षेत्र लयमा फर्किँदै गरेको जनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष विनायक शाहले दुई वर्षको उकुसमुकुसपछि पर्यटन विस्तारै जुर्मुराउँदै गएको बताए ।
उनले वर्ष २०७८ पर्यटनका लागि निराशा र चुनौती सँगसँगै उत्साह पनि थपिएको बताए । कार्यवाहक अध्यक्ष शाहका अनुसार पछिल्ला दिनमा पर्यटक आगमन पनि बढिरहेको छ । पर्यटन क्षेत्र चलायमान भएको छ । पर्यटकीय गतिविधि बढेका छन् ।
ठूला इभेन्ट, मेला, महोत्सवले पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोभिड कहरकैबीच पनि अन्तर्राष्ट्रिय समुदायसँग सम्पर्क विस्तार र नीतिगत योजना बनाउन सहज भएकाले वर्ष २०७८ पर्यटनका लागि राम्रै रहेको कार्यवाहक अध्यक्ष शाहको भनाइ छ । उनले कोभिडपछिको पर्यटन पुनरुत्थानका लागि गठित कार्यदलले पनि आगामी रणनीतिबारे काम गरिरहेकाले आगामी दिनमा पर्यटन क्षेत्र सकारात्मक बन्ने विश्वास व्यक्त गरे ।
यकिन तथ्याङ्क नरहे पनि देशभर साना–ठूला गरी झण्डै १० हजार होटल छन् । ती होटलमा करिब दुई लाख बेड रहेको हानले जनाएको छ । पर्यटकस्तरदेखि पाँचतारे होटल धमाधम बनिरहेकाले यो सङ्ख्या अझै बढ्ने बताइएको । ठूला चेन होटल पनि निर्माणाधीन छन् ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले वर्ष २०७८ पर्यटनका लागि निकै दुःखद् भएको बताए । उनले अघिल्लो वर्ष पर्यटनका लागि कठिनाइ रहे पनि पछिल्ला दिनमा पर्यटन क्षेत्र चलायमान बनेकाले आउँदा दिनमा आशाका सङ्केत देखिएको बताउनुभयो । उनले भने, “अघिल्लो वर्ष पर्यटनका लागि दुःखद् भयो । विदेशी पर्यटक आगमन न्यून रह्यो । आर्थिक उपार्जन हुन सकेन, यो वर्ष २०७९ तुलनात्मकरूपमा राम्रो होला भन्ने अपेक्षा छ, विदेशी पर्यटक आउन थालेका छन् ।”
नेपाल पर्यटन बोर्डको तथ्याङ्कानुसार सन् २०२१ मा एक लाख ५० हजार ९६२ र सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस्तै सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमण गरेका थिए ।
सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन निरन्तर बढिरहेको छ । बोर्डका अनुसार सन् २०२२ को जनवरीदेखि मार्च महिनासम्म ७८ हजार ७४७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । मार्च महिनामा मात्रै हवाईमार्ग भएर कूल ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए ।
वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो । यो वर्षको सुरुआती महिनादेखि निरन्तररूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ । सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन् ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले भारत र बङ्गलादेशका पर्यटकलाई लक्षित गरेर बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गर्दा नेपाल आउने भारतीय र बङ्गलादेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए । “लामो समयदेखि कोरोनाले थलिएको नेपालको पर्यटन क्षेत्रले विस्तारै गति लिँदै गएको छ”, उनले भने ।
विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आगामनको यो सुधारले पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा मिलेको उनको भनाइ छ । प्रमुख रेग्मीले विभिन्न नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकलाई सहजरूपमा भित्रिने वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिए।
कालो बादलभित्र चाँदीको घेरा भनेझै मुलुकको पर्यटन क्षेत्र कोभिड कहरले अस्तव्यस्त बने पनि पर्यटनका केही क्षेत्र भने उत्लासमय रहे । पर्यटनको महत्वपूर्ण पाटोका रूपमा रहेको पर्वतारोहण क्षेत्रमा उत्साह र उमङ्ग अन्य क्षेत्रको निराशालाई केही आशामा परिणत गरिदियो ।
वर्षको सुरुआतमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा उत्साह मात्रै थपिएन, विभिन्न कीर्तिमान पनि कायम भए । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष सन् २०२० को पर्वतारोहण रोकियो । तर २०२१ को वसन्त आरोहण उत्साहवद्र्धक रूपमा रह्यो ।
कोभिड महामारीको जोखिमकाबीच भएको उक्त आरोहणबाट विश्वभर चर्चा चुलियो । सर्वाधिक सङ्ख्याका आरोहीले आरोहण गरेर अदम्य साहस प्रदर्शन गरेका थिए । कीर्तिमानी आरोही कामीरिता शेर्पाले सगरमाथाको २५ पटक सफल आरोहण गरी आफ्नै कीर्तिमान तोड्नुभयो । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले गत वैशाख २८ गते सगरमाथाको सफल आरोहण गरेको थियो ।
विश्व कीर्तिमानी कामीरिता शेर्पा र बहराइनका राजकुमारले सगरमाथा आरोहणमा बनाएको नयाँ रेकर्डले विश्वलाई सगरमाथाबाट सुरक्षित सन्देश दिएका छन् । यसले महामारीको असहज परिस्थितिमा पनि सगरमाथासहितका हिमाल आरोहणले विश्व पर्यटनमा सकारात्मक सञ्चार छाएको छ ।
अघिल्लो वर्ष सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहलाई आरोहण अनुमति ९ एक्सिपिडीसन पर्मिट० दिइएको थियो । यो सन् २०१९ को वसन्त यामको आरोहणभन्दा बढी हो ।
यस वर्ष अर्थात् सन् २०२२ को वसन्त ऋतुका लागि उल्लेख्य सङ्ख्यामा आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार चैत २९ सम्म सगरमाथासहित विभिन्न १९ हिमाल आरोहणका लागि ७४ टिमका ६०० भन्दा बढी आरोहीले आरोहण अनुमति लिइसकेका छन् ।
हवाई पूर्वाधारमा फड्को
पर्यटकीय पूर्वाधारका हिसाबले वर्ष २०७८ निकै उपलब्धिपूर्ण रह्यो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालयनयोग्य भएको छ ।
यान्त्रिक परीक्षण उडान सम्पन्न भइसकेको यो विमानस्थल आगामी जेठ २ गतेदेखि व्यावसायिकरूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । यस्तै पोखरा क्षेत्रीय विमानस्थलको काम युद्धस्तरमा भइरहेको छ । करिब ९३ प्रतिशत काम सम्पन्न भएको विमानस्थलले जनाएको छ । तारे तथा पर्यटकस्तरीय होटल बढेका छन् ।
कोभिड कहरपछि विस्तारै लयमा फर्किँदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ । अघिल्लो वर्षको तुलनमा सन् २०२२ को सुरुआती चरणमा विदेशी पर्यटक आगमन पनि क्रमिकरूपमा बढिरहेको छ । पर्यटकीय गतिविधि पनि बढेको छ ।
नेपाल प्रवद्र्धनमा बिबीसी मास्टर सेफको टोली
‘बिबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्ट सेलीब्रेटी सेफ सन्तोष साहसहितको टोलीले नेपालको पर्यटन क्षेत्रको प्रचार–प्रसार गरेका छन् । गत चैत २४ गते नेपाल आएर सेफ टोलीले नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचार–प्रसार गरे । सेफ टोलीले १० दिनसम्म विभिन्न गन्तव्यमा पुगेर प्रवद्र्धनात्मक गतिविधिमा सहभागी भएका थिए ।
नेपाल पर्यटन बोर्डले देशका सातै प्रदेशमा डोमेस्टिक ट्राभल मार्ट गरिरहेको छ । सुदूरपश्चिम ट्राभलमार्ट चैत २५ गतेदेखि सुरु भएको छ । पर्यटकीय राजधानीका रूपमा कहलिएको पोखरामा १७औँ फेवा महोत्सव चैत ३० गतेदेखि वैशाख १ गतेसम्म आयोजना भएको छ ।
उक्त महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गर्नुभयो । नयाँ वर्र्षको सन्दर्भमा प्रमुख पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ ।
होटल भरिभराउ
काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल, पोखरा, सौराहा, लुम्बिनीलगायत गन्तव्यका होटल आन्तरिक पर्यटकले भरिभराउ छन् । यता ठमेलका होटलहरु पनि आन्तरिक तथा विदेशी पर्यटकले भरिन थालेका छन् । पाहुना बढेकाले ठमेल क्षेत्रका व्यवसायी पनि उत्साहित छन् ।
काठमाडौँ महानगरपालिका–१६ ठमेलमा सञ्चालित चारतारे होटल रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुँयालले होटलमा विदेशी पर्यटकको सङ्ख्या बढेको बताए।
“९० कोठा रहेको रमदा होटलमा ७० भन्दा बढी कोठा दैनिक भरिँदै आएको छ, यसले हामीमा उत्साह थपेको छ”, महाप्रबन्धक फुँयालले भने । ठमेलस्थित यात्री होटल ठमेलका सञ्चालक एवं टानका पूर्वउपाध्यक्ष निलहरि बाँस्तोलाले मुलुकको पर्यटन क्षेत्रमा सकारात्मक लक्षण देखिएको बताए ।
काठमाडौँको सोह्रखुट्टेमा सञ्चालित निवास बुटिकका सञ्चालक सुदर्शन नेपालले चिनियाँबाहेक अन्य देशका पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए ।
हवाई उडानमा उत्साह
कोभिडका कारण प्रभावित बनेको मुलुकको हवाई क्षेत्र पूर्ववत् अवस्थामा फर्किसकेको छ । आन्तरिक हवाई उडानमा यात्रुको चाप छ । ठूला हवाई सेवा प्रदायक कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान बढेको छ । बुद्ध एयरको सर्वाधिक उडान छ । कम्पनीले हवाई उडान पूर्ववत् लयमा फर्किसकेको जनाएको छ ।
हेलिकोप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्माले आन्तरिक तथा विदेशी पर्यटकको सर्वाधिक रोजाइमा हेलिकोप्टर सेवा रहेकाले हेलिकोप्टरको सेवा विस्तार पनि धमाधम भइरहेको बताए । उनका अनुसार कोभिड त्रासपछि अहिले हेलिकोप्टर व्यवसायमा उत्साह छाएको छ ।
अहिले ४० प्रतिशतभन्दा बढी व्यवसाय बढेको छ । वायुसेवा सञ्चालक सङ्घका अनुसार अहिले ११ हेलिकोप्टर कम्पनीसहित २० वटा वायुसेवा प्रदायकले हवाई उडान सेवा सञ्चालन गर्दै आएका छन् ।