received_2330062217304852

-गोमा कुलुङ

प्रकृतिमा रमाउने मान्छे म, घुम्न पाए के चाहिन्थ्यो र ? यो पटकको यात्रा बिल्कुलै नयाँ ठाउँमा हुँदैथियो । महेन्द्र बहुमुखि क्याम्पस धरानबाट पत्रकारिता तथा आमसञ्चार बिषय पहिलो बर्षमा अध्ययनरत विद्यार्थीहरुको स्थलगत अवलोकनका लागि यात्रा तय भयो । म सिनियर ब्याचको भएको कारण मेन्टर भएर जादै थिएँ । ४८ जना विद्यार्थीहरु, मेन्टरहरु र शिक्षकहरु गरि जम्मा ६० जनाको टोली चैत्र १४ गते १२ बजे कलेजबाट सुनाखरीको राजधानी मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. १ राजारानी तिर लाग्यौँ ।

बाटो भरि विद्यार्थी भाइबहिनीहरु बसभित्र नाचेर रमाइरहेका थिए । हामी भने बसको अघिल्लो भागमा बसेर अनेकौ गफमा व्यस्त  थियौं । संगिता बाहिङ नानाले उहाँको राजारानीसँगको  बाल्यकालका किस्साहरु सुनाउनुभयो । विभिन्न लेखकका पुस्तकहरुका बारेका कुराहरु भए । डा. हर्क गुरुङको ‘मैले देखेको नेपाल’ किताबको परिचर्चाले मलाई पनि पढौँ पढौँ भयो । मैले मनमनै अठोट गरे म त्यो किताब अवश्य पढ्नेछु । 

हामी बेलबारीबाट बाँया मोडियौं र बुधबारे, किरातचौक, लोखरा हुदै राजारानी पुग्यौ । मैले कल्पना गरेको राजारानी र वास्तविक राजारानी बिल्कुल फरक रहेछ । थोरै गाउँहरु कटेपछि हामी राजारानी दरबार इन होटेलमा पुग्याँै । राजारानी पोखरी क्षेत्र प्रवेशद्धारमै रहेको यहि होटलमा हाम्रो खाने बस्ने र गाइडको व्यवस्था गरिएको थियो । हामीलाई फूलका थुङ्गा र मिठो मुस्कानहरुले न्यानो स्वागत गर्नुभयो । सानो ठाँउमा चिटिक्क सिंगारिएको दरबार इनले साँच्चै त्याहाको दरबारमा प्रवेश गरेको अनुभूति गरायो । रंगिविरंगी फूलहरु ढकमक्क फूलेका, कृतिम फूलहरु पनि प्राकृतिक जस्तै लाग्नेगरि सजाइएका, साना कटेजहरु, फोटो खिच्नका लागि बनाइएका ठाँउहरुको सुन्दरताले हाम्रो २ घण्टाको गर्मीको यात्राको थकान मेटायो । वरिपरि सालका रुखहरु फूल र नयाँ पालुवा पाएर हरियो भएका रहेछन् । हामीले चिया र खाजा खाएर त्यहि सालघारी भित्र हराएको राजारानी पोखरी तर्फ लाग्यौँ । 

दरबार इनबाट ओरालो  लगभग २ सय ओटा  सिढि झरेपछि पोखरीको क्षेत्र सुरु भयो । दाहिने रानीपोखरी, देब्रे राजापोखरी र बीचमा राजारानी मन्दिर रहेछ । वरिपरि डाँडाले छेकिएको उपत्याका जस्तै देखिने राजारानी क्षेत्रमा तीनवटा पोखरीहरु राजापोखरी, रानीपोखरी र छोरिपोखरी रहेछन् । हामी देब्रे तर्फ लाग्यौ । त्यो साइडमा पिकनिक स्पट पनि रहेछ । हामीले राजापोखरीको किनारै किनार अवलोकन गर्दै फन्को मार्‍यौँ । त्यहाँ विभिन्न जंगलि जनावरहरु सालक, दुम्सी, मृग, हरिण, बँदेल, बादर आदी पानी खान आउने रहेछन् । पोखरीमा पानीहाँसहरु पनि देखिन्थे । छेउका सुकेका रुखहरुमा चराले गुड लगाउन बनाइएका टोड्काहरुले सुरिलो रुखहरु बाँसुरी जस्तै देखिन्थे । पोखरीमा कमलका बोटहरु प्रशस्तै रहेछन् । जलकुम्भीले छेउतिर पुरै ढाकिसकेको रहेछ । प्राय हरेक रुखहरुमा सुनाखरीका बोटहरु देखिन्थे । फूल्ने समय भर्खर मात्र सुरु हुन लागेकोले कुनैकुनै बोटमा मात्र फूलहरु देखिन्थे । त्यहाँ बोटिङको पनि ब्यावस्था रहेछ । 

received_383900906706673 

राजापोखरी पछि हामी रानीपोखरी तीर लाग्यौ । रानीपोखरीको वरिपरि बाटो निर्माणकार्य भइरहेको रहेछ । रानीपोखरीको आधा भाग रुखहरुले नै ढाकेका रहेछन् । त्यहि रुखमा विभिन्न प्रजातीका सुनाखरीका बोटहरु प्रशस्तै रहेछन् । यहाँ नेपालमा पाइने २६ प्रजातीका सुनाखरी रहेको जानकारी पायौँ । त्यस मध्य पनि ४ प्रजाती विश्वमै लोप हुने अवस्थामा रहेको थाहा पायौँ । राजापोखरीको तुलनामा पानीहाँसहरु यहाँ धेरै रहेछन् । अनौठो कुरा के भने तीनीहरु एक छेउबाट उडे पनि अर्को छेउमा गएर बस्ने तर पोखरी बाहिर नजाने रहेछन् । पोखरीमा पानी लिलीहरु फूलिरहेका थिए । अलि पर सानो दुबे चौरी रहेछ । त्यहाँ बसाएर किशोर सरले खेल खेलाउनु भयो । करिब डेढ घण्टाको खेल पछि रानीपोखरी किनारै किनार लाग्यौँ । रानीपोखरीको उत्तर पूर्वमा धिमालहरुको ग्रामथान रहेछ । पूर्व नेपालको झापा, मोरङ, सुनसरीका आदीवासी धिमालहरुले अढाइ महिनासम्म लगाउने ढङ्ढङ्गे मेला हरेक बर्षको बैसाख २ गते यहीबाट शुरु गर्दा रहेछन् । चैत्र मसान्तमा यहाँ आई रातभरी जागराम बसी बैसाख १ गते ठूलो पूजा गरेपछि २ गतेबाट यो मेला शुरु हुने रहेछ । त्यसपछि तराईमा बसोबास गर्ने सबै धिमालहरुले यो मेला आफ्नो ठाँउमा पालो गरेर दैनिक रुपमा लगाउने गर्दारहेछन् ।

परापूर्वकालमा राजारानी पोखरी क्षेत्रमा धिमालहरुको बसोबास रहेको र कालान्तरमा उनीहरु अज्ञात कारणले उक्त स्थान छोडेर अन्यत्र जान बाध्य भए र त्यस स्थानलाई भुल्दै गएका थिए । घुम्न आउने क्रममा उनीहरुको संस्कृतिका अवशेषहरु, पुजाआजामा चढाउने गरेका हात्तीका मुर्तिहरु, कलश दियोहरु भेटिए पछि यस क्षेत्रको अनुसन्धान गर्दा यस क्षेत्र उद्गम स्थल पत्ता लगाएका रहेछन् । 

घुम्दाघुम्दै साँझ पर्न लाग्यो । धिमाल ग्रामथानबाट फर्किएर हामी रानीपोखरीको छेउछेउ  होटलतर्फ लाग्यौ । रानीपोखरी नजिक छोरीपोखरी रहेछ । क्षेत्रफल पनि सानो भएको पोखरीको अस्तित्व नै हराउन लागेको देखियो । त्यहाँ सानो दुबे चौरीमा हाम्रो समूहको लागि ३ वटा टेन्टहरु पनि तयार पारिएका रहेछन् । हाम्रो टोली फोटो खिच्दै उकालो लाग्यो । होटल पुग्दा हाउजी खेलको लागी तयारी भइरहेको रहेछ । त्यस दिन गाँउमा जुठो परेको कारणले मगर जातीको हुर्रा नाच भने हेर्न पाएनौँ । आमसञ्चारका शिक्षक एवम जनगायक किशोर थुलुङ सरले आफ्नो गितहरुमा नचाउनुभयो । नाच्याँै, गायौँ अनि हाउजी खेलियो । त्यसपछि खाना खायौ र सुत्न पाहुना घरतिर लाग्यो । हामी चार जना कल्पना मगर दिदीको घरमा पाहुना भयौँ । 

बिहानै राजारानी मन्दिर जाने कुरा थियो । त्यसैले बिहानै उठेर तयार भयौ । दुई छोरीहरु २ घण्टाको बाटो हिडेर लेटाङ बजार स्कुल पढ्न जाने गरेको कल्पना दिदीले बताउनुभयो । पछिल्लो समय लेटाङमा लगातार घटेका अप्रिय घटनाहरु विद्यालय हिडेका ११ बर्षिय बालिका करुणा राईको बलात्कार पछिको हत्या र अर्को १२ बर्षिया बालिकामाथि यौन दुव्र्यवहार गर्ने शिक्षकलाई समाउन गएका प्रहरी शिक्षकलाई बचाउन आएको भनी स्थानीय बासिन्दासँग झडप हुदा प्रहरी उर्मिला श्रेष्ठको हत्या भएको घटनाले आफूलाई छोरिहरुको धेरै चिन्ता लाग्ने गरेको बताउनुभयो । हामी फेरि आउने वाचाका साथ त्यहाँबाट छुट्टियौ । 

received_698565954520445

राजा र रानी पोखरीको बीचमा मन्दिर रहेछ । दाँया पट्टि सिंहको मुर्ति बाँया पट्टि दुई वटा हात्तिका मुर्ति रहेछन् । मन्दिरका दलिनमा दुईवटा परेवाहरु उडिरहेको आकृति रहेछ । यो मन्दिर किँरातकालीन बाइसे राज्यका पालादेखि भएका रहेछन् । राजा र रानीको स्मृतिमा यी मन्दिर निर्माण गरिएका रहेछन् । पुजारी बा भरखरै पूजा गर्न शुरु गर्नुहुदै रहेछ । हामीले पनि दर्शन गर्‍यो र लाग्यौ किनारै किनार र बिश्राम स्थलमा बसेर एक छिन गफ गर्‍यौँ । म र केहि साथीहरु पुनः राजापोखरी एक फन्को मारेर पिकनिक स्पटको अवलोकनमा गयौँ । त्यसलाई धेरै व्यवस्थित गर्नुपर्ने महसुस गर्दै फर्कियौ । मेन्टरहरुको संयोजनमा लेटाङ नगरपालिका वडा नं. १ का वडाध्यक्ष बिष्णु कुमार मगर र व्यावसाय संचालक अरुण राईसँग अन्तरक्रिया कार्यक्रम गर्‍यो । लेटाङ वडा न. १ को क्षेत्र ठुलो भएकाले वडाध्यक्ष ३ ठाँउबाट २/२ दिन बसेर काम गरिख्नुभएको बताउनुभयो । त्यहाँको बिकास, शिक्षा, स्वस्थ्य, खानेपानी, भावी योजना र विविध पक्षका बिषयहरुमा जानकारी दिएर हाम्रो जिज्ञासाहरु मेटाउनुभयो । 

बिहानको खाना खाएर फेरी एक पटक हाउजी खेल्यौ । विद्यार्थीहरुलाई क्याप्टेन र भाइस क्याप्टेनका साथमा फिल्ड रिपोर्टमा पठायौँ । हामी शिक्षकहरु र मेन्टर टिम भने फेरी लाग्यौ मन्दिर हुदै रानीपोखरी तर्फ । हामीलाई वडाध्यक्षले जानकारी दिनुभए अनुसार बन सुन्तला, रामगुवा, बन सुपारीको बोटहरु खोजी गरि हेर्नु थियो तर बन सुपारी मात्र चिन्न सक्यौँ । हामी रुखहरुलाई नियाल्दै पुन धिमालग्रामथान पुग्यौ । त्यहाँबाट उत्तरमा सडक रहेछ । त्यही बाटो पछ्याउदै गयौँ । अली पर बाट जंगल छिचोल्दै, गीतहरु गाउदै होटलतिर लाग्यौँ । विद्यार्थीहरु पनि आइपुगे । त्यहाँबाट लोकल महँ कोसेली लिएर ४ बजे बिदा भई बाटो लाग्यौँ ।  बाटोभरि अन्ताक्षरी खेल्दै रमाइलो गर्दै धरान आइपुग्यौँ ।