संयुक्त राष्ट्रसङ्घको साधारणसभाले नोभेम्बर १, २००७ का दिन विशेष प्रस्ताव पास गरेर हरेक वर्षको अप्रिल २ तारिखलाई विश्व अटिजम जनचेतना दिवस विश्वभरिका आफ्ना सदस्य मुलुकहरूमा मनाउन अपिल गरेको थियो । यो अप्रिल महिनाभरि नै यस वर्षको नारा कार्यक्षेत्रमै समावेशी शिक्षा सार्वजनिक गरेर मनाउन आह्वान गरिएको छ ।
नेपालको प्रतिनिधित्व गरेर धरानमा पनि धरान–१६ स्टेडियम लाइनस्थित जेनिथ सेकेण्डरी बोर्डि¨ स्कुल र स्पेशल एजुकेशन सेन्टर धरान–११ को संयुक्त आयोजनमा र्याली आयोजना गरी मनाइएको छ । प्ले–कार्ड र ब्यानरसहित र्याली सम्पन्न भएको थियो । स्मरणरहोस्, समावेशी शिक्षा लागू भएको धरानमै पहिलो जेनिथ सेकेण्डरी बोर्डिङ स्कुल हो । र्यालीका साथै अटिजमसम्बन्धी जनचेतनामूलक पर्चा पम्प्लेटहरू पनि बाँडिएको थियो ।
यो ‘अटिजम’ शब्दको ज्ञान धेर्र कमलाई मात्र थाहा होला । अझ अटिजम भएका बालबालिकाको पहिचान त झन् टाढाको विषय हो । जतिसुकै आफूलाई महान् विद्वान ठान्ने शिक्षाकर्मी व्यक्तित्वहरू पनि यो विषयमा चुकेका पाइन्छन् । यी प्रकृतिका बालबालिकाहरू पनि समाजमा हुन्छन् भन्ने धेरैलाई थाहा नै छैन । तर, जो कोहीले पनि यस सम्बन्धी जान्न र बुझ्न जरुरी छ साथै सचेत हुन जरुरी छ । अनि ज्ञान लिन जरुरी छ । यस्ता बालबालिका पनि हाम्रा समाजका अभिन्न सदस्य हुन् ।
यस्ता बालबालिकाको पनि अरूलाई जत्तिकै बाँच्ने अधिकार हुन्छ । उनीहरू पनि माया, दया र करुणाले भरिएका हुन्छन् । उनीहरूलाई पनि सबै क्षेत्रमा अरू सरह हकअधिकार पाउने अधिकार हुन्छ । कसैले पनि अटिजम वा अन्य शारीरिक अपाङ्गता भएर जन्म लिन्छु भन्ने सोच लिएको हुँदैन । तर, दैवको लीला अटिजम भएर जन्म हुन्छ । उनीहरू विल्कुल निर्दोष छन् । तर, उनीहरूलाई सपाङ्ग बालबालिका जत्तिकै माया र स्नेह पाउने अधिकार हुन्छ ।
अटिजमसम्बन्धी जानकार हुन केही विशेष कुराहरू याद राख्न जरुरी छ । तपाईंको बच्चा किन अरूसँग खेल्दैन ? तपाईंको बच्चाले बोलाउँदा किन हेर्दैन ? तपाईंको बच्चा किन बोल्दैन ? तपाईंको बच्चालाई अटिजम त छैन ? यस्तै आफ्नो उमेरका बालबालिकाहरूसँग खेल्न नरुचाउने, असान्दर्भिक हँसाइ र रुवाइ, आँखा जुधाउन कठिनाइ, घाउ, चोट तथा दुखाइप्रति वास्ता नगर्ने, एक्लै बस्न रुचाउने, सामानहरू घुमाउन रुचाउने र आफू वरपरका सामानहरूसँग अनौठो लगाव राख्ने लक्षणहरू देखिए त्यस्ता बालबालिकालाई विशेष याद राख्नु आवश्यक हुन्छ ।
अत्यन्त चञ्चलापन अथवा निष्क्रियपना, सामान्य (साधारण) शिक्षण विधिबाट नसिक्ने, हरेक दिन एउटै वा उस्तै काम गर्न रुचाउने, परिवर्तन मन नपराउने, डर नहुने साथै खतरा नबुझ्ने, कल्पना गरेर खेल खेल्न नसक्ने वा असामान्य तथा दोहो¥याई तेहोर्याई एउटै खेल खेलिरहने, शब्द तथा वाक्यांश दोहोर्याउने, कहिलेकाहीँ त अरूले छोएको तथा अँगालो हालेको मन नपराउने, बोलाउँदा नबोल्ने साथै कहिलेकाहीँ कान नसुनेजस्तो गर्ने, आफ्नो आवश्यक सामान औंलाले नदेखाउने अथवा ठूलो मानिसको हात समातेर देखाउने, शब्दको प्रयोग नगर्ने, विनाकारण रुने, कराउने अथवा चिन्तित हुने, वस्तुहरूप्रति अनौठो (अमिल्दो) लगाव राख्ने र कुनै काम एकदम राम्रोसँग गर्नसक्ने तर, सामाजिक कार्य गर्न नसक्ने आदि लक्षणहरू भएमा त्यस्ता बालबालिकालाई अटिजम भएको हुन सक्दछ ।
हरेक ६८ जना शिशुहरूमध्ये १ जनालाई अटिजम भएको पाइएको छ । नेपालमा करिब ३ लाख अटिजम भएका व्यक्तिहरू भएको अनुमान गरिएको छ । अटिजमले दिमागमा असर पार्छ । जसले गर्दा देखेर, सुनेर तथा अनुभव गरेर बुझ्न गाह्रो हुन्छ । अटिजमबाट प्रभावित व्यक्तिमा सजिलोसँग सिक्ने क्षमता र सामाजिक असमर्थता हुनेदेखि लिएर जटिल समस्यासमेत हुन सक्छ । समयमै सचेत भई उचित प्रशिक्षण दिएमा महŒवपूर्ण उपलब्धि पाउन सकिनेछ ।
अटिजम न्यूरो विकाससम्बन्धी विकृति हो । यो जीवनभर नै रहने एक अपाङ्गता हो । अटिजम मानसिक अपाङ्गता होइन । बौद्धिक अपाङ्गता पनि होइन । तर, चालीस प्रतिशत अटिजम भएका व्यक्तिहरूमा बौद्धिक कमजोरी पनि पाइएको अध्ययनले निष्कर्ष निकालेको छ ।
हालसम्म अटिजमको रोकथाम बारे कुनै ठोस विधि पत्ता लागेको छैन । अटिजमको कुनै विधान छैन । तर, सही थेरापीद्वारा उनीहरूको अवस्थामा धेरै सुधार ल्याउन सकिन्छ । यो विषयमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले समेत विशेष चासो दिएर यस्ता प्रकारका बालबालिकाहरूको सेवा सुविधाहरू, हक अधिकारहरूको संरक्षण र सम्बर्धनका लागि विशेष नीतिहरू ल्याउन र बनाउन आवश्यक छ ।
सरकारको तर्फबाट देशभरिको तथ्याङ्क सङ्कलन गरेर विशेष बजेटसमेत विनियोजन गर्न जरुरी छ । हालसम्म सङ्कलन गरेको छैन भने यसै लेखअनुसार नेपालमा करिब ३ लाख अटिजम भएका व्यक्तिहरू रहेको आधारलाई मानेर नीति तथा कार्यक्रम ल्याएमा उचित हुनेछ । तसर्थ यसतर्फ सरकारको तर्फबाट तदारुकता देखाउन आवश्यक छ ।
यसबारे तीनै तहका सरकारको आँखा पर्न जरुरी छ । जसको लागि यसै लेखमार्फत् सम्पूर्ण सरोकारवाहरूलाई आफ्नो स्तरबाट गर्न सकिनेसम्म प्रयास गरेर यो अभियानमा सक्रियताका साथ ऐक्यबद्धता जनाउनु पर्ने खाँचो रहेको छ ।
(लेखकः धरान–१६ स्थित जेनिथ सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् ।)