विराटनगर । विराटनगरमा प्रदेश स्तरीय स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल संवाद कार्यक्रमको आयोजना हुने भएको छ । उद्योग संगठन मोरङमा स्टार्टअप तथा इनोभेसन सम्बन्धी कार्यक्रम सोमबार बिहान ११ बजेदेखि र डिजिटल प्रदेश संवाद कार्यक्रम दिउसो ३ बजेदेखि सञ्चालन हुने भएको हो । 

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको आयोजनामा हुन लागेको कार्यक्रम सातै प्रदेशमा हुने विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । यसअघि गण्डकी, लुम्बिनी र मधेस प्रदेशमा सम्पन्न भइसकेको । 

‘इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट पावर्ड बाइ यार्साल्याब’ कार्यक्रममा आइटीका स्टार्टअप, इन्नोभेटर, उद्यमी, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधि, सरोकारवाला र बिद्यार्थीहरुको उपस्थिति रहनेछ । स्टार्टअप फेस्टमा ३० बढि स्टार्टअप आइडिया तथा इन्नोभेसनहरु प्रदर्शनीमा रहने फाउण्डेसनका अध्यक्ष हेमपाल श्रेष्ठले जानकारी दिए । यस कार्यक्रमले प्रदेशमा भएका नव प्रवर्तक (स्टार्टअप) तथा इन्नोभेटरलाई एकैथलोमा समावेश गरी उद्यमशीलताको विकासमा सहकार्य गर्नेछ । डिजिटल स्टर्टाअपको लागि विभिन्न किसिमले सहयोग गर्ने, प्रवर्धन गर्ने, इन्क्युवेसन, मेन्टरिङ र लगानीको लागि आवश्यक समन्वय गरिउने उनले बताए । 

‘स्टार्टअप एण्ड आइडिया फेस्टले स्थानिय नव प्रवर्तक तथा इन्नोभेटरलाई प्रवर्धन गर्न, आवश्यक लगानी जुटाउन र प्रदेशमै आइटी उद्यमशीलताको विकासको लागि सघाउ पुर्‍याउने छ,’ उनले भने, ‘ हरेक प्रदेशबाट कम्तीमा ५ उत्कृष्ट स्टार्टअप तथा आइडिया छनौट गरी सातै प्रदेशको कार्यक्रम पश्चात् काठमाडौँमा सञ्चालन हुने बिजनेस इन्क्युवेसनमा सहभागी गराइनेछ ।’

प्रदेशका उत्कृष्ट स्टार्टअपले राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखसम्मको सहुलियतपूर्ण कर्जा प्राप्त गर्नेछन् भने आइसिटी अवार्ड २०२२ मा सम्मान प्राप्त गर्नेछन् । उद्यमशीलता विकासको लागि यो कार्यक्रम महत्त्वपूर्ण प्लेटफर्म हुने आयोजकले विश्वास लिएको आयोजकले जनाएको छ ।