कानूनले आवागमनमा असर पर्ने गरी सडकमा कुनै पनि सामग्री थुपार्न प्रतिबन्ध लगाएको छ । त्यसरी जथाभावी सामग्री थुपार्नेलाई कारबाहीसमेत हुन सक्छ । तर, धरान उपमहानगरपालिका क्षेत्रका विभिन्न सडक र फुटपाथमा भने आफूखुसी निर्माण सामग्री थुपार्ने प्रचल नै बसेको छ । एकदिन मात्र होइन, हप्तौं र महिनौंसम्म यसरी निर्माण सामग्री थुपारेर राखिँदा पैदल यात्रुलाई हिँड्नै अप्ठ्यारो भएको छ । त्यतिमात्र होइन, यस्ता सामग्रीले दुर्घटनाको जोखिमसमेत बढाएका छन् । कतिपय ठाउँमा यस्तै सामग्रीका कारण दुर्घटना भएका उदाहरण पनि छन् । आधुनिक सहर भनेर चिनिने धरानमा सडकमा देखिएका यस्ता कुरूप दृश्यले यहाँको आधुनिकता र सभ्यतालाई गिज्याइरहेको छ । यहाँका नागरिकको चेतनास्तर र स्थानीय तह तथा नियामक निकायको क्षमता जाँच्ने अवसर पनि दिएका छन्, यी कुरूप दृश्यले ।
धरानका हरेकजसो वडामा भौतिक संरचना निर्माणका रड, बालुवा, इँटा, रोडा, सिमेण्टजस्ता सामग्री थुपारिएको भेटिन्छ । उदाहरणका लागि धरान–७ स्थित पानबारी बसस्टेण्डदेखि तल खहरे खोला किनारमा लगभग पूरै सडक ढाक्ने गरी निर्माण सामग्री थुपारिएको छ । यो सडकमा टेम्पोसमेत छिर्न मुस्किल छ । धरान–९ आचार्यलाइन र बगैंचा चोकमा पनि सडकका दुवैतर्फ यस्ता सामग्री थुपारिएको देख्न सकिन्छ । पिण्डेश्वरी चोकबाट श्यामचोक जाने सडकमा र धरान–१२ स्थित चतरालाइनमा पनि यसरी नै जथाभावी सडकमै सामग्री थुपारेर हिँड्न असहज बनाइएको छ । सडकमा अवरोध भएकाले यसलाई ट्राफिक प्रहरीले समेत चासो लिनुपर्ने हो । तर, खासै चासो देखाएको पाइँंदैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले त स्थानीय तहलाई नै अधिकार दिएको छ । ऐनअनुसार स्थानीय तहले त्यस्ता सामग्री हटाउनेदेखि सडक अवरुद्ध गरी भएका निर्माण भत्काउने र त्यसो गर्नेलाई कारबाही गर्नेसम्मको अधिकार राख्छ । धरान उपमहानगरपालिकामा यस्तै काममा लागि बजार अनुगमन समिति छ । नगर प्रहरीले पनि यस विषयमा ध्यान दिनु पर्ने हो । तर, उपमहानगरपालिकाले पनि यसतर्फ ध्यान दिएको पाइँंदैन । वडाका जनप्रतिनिधि र कर्मचारीले पनि यस विषयमा चासो लिनुपर्ने हो तर, उनीहरू पनि चुपचाप छन् । नियमन गर्नुपर्ने पक्ष नै चुपचाप बसिदिँदा सडकमा अराजकता बढ्दो छ ।
आफ्नो कुनै पनि कार्यले अरूलाई असर पुर्याउँछ कि पु¥याउँदैन भन्ने कुरा त्यस्तो कार्य गर्नेले सुरुमै मनन् गर्नुपर्ने हो । सडकमा अरूलाई कष्ट हुने गरी सामान थुपार्नु सामाजिक र नैतिक हिसाबले पनि गलत हो । यसले सडकमा झनै अराजकता बढाउने निश्चित छ । त्यसैले सर्वप्रथमतः यस्ता कार्य गर्नेहरूले आफै सचेत भएर अरू कसैलाई असर नपुग्ने गरी काम गर्नुपर्छ । यदि उनीहरूले मनखुसी गरेमा स्थानीयवासी, छिमेकीहरूले सम्झाई बुझाई गरी सडकमा असर पु¥याउन दिनु हुँदैन । स्थानीयवासी पनि बेवास्ता गरेर चुपचाप बस्छन् भने सडकमा बढ्दो अराजकता रोक्नका लागि स्थानीय तहले कानूनी कारबाही गर्नुपर्छ । सडक कुनै व्यक्तिको निजी हुँदैन, यो सार्वजनिक क्षेत्र हो । यस्तो ठाउँमा अवरोध गर्नु अपराध हो । यसलाई त्यसरी नै बुझेर सम्बन्धित निकायले कारबाही गर्न ढिलाइ गर्नु हुँदैन ।