नेपाल मेडिकल काउन्सिलका सदस्य तथा आचार–संहिता तथा स्वास्थ्य समिति संयोजक डा. हरिहर वस्तीले काउन्सिलको काम गर्ने तौरतरिकामा चित्त नबुझेपछि गत शुक्रबार राजीनामा दिएका छन् । उनको यो राजीनामा प्रकरणमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुख्यगरी जोडिएको छ । २०७८ पुसको अन्तिमसाता बीपी प्रतिष्ठानका हाडजोर्नी विभागका डा. रोशन कलवारले एक दातृसंस्थाबाट आएको निःशुल्क रड बिरामीलाई बिक्री गरेको पोल खोलिएपछि त्यसको छानबिन गर्न संयोजक भएर काउन्सिलबाट आएका थिए । डा. कलवार नेपाल मेडिकल एसोसिएसनको धरान इकाइका वर्तमान अध्यक्ष पनि हुन् । डा. वस्ती संयोजक रहेको छानबिन समितिले निष्पक्ष छानबिन गर्दा डा. कलवारले शल्यक्रिया कक्षमा चिकित्सकीय मूल्य, मान्यता र आचरणको न्यूनतम् मापदण्ड पालना नगरेको निष्कर्ष निकाल्दै २ वर्ष कारबाही गर्न सिफारिस गरेको थियो । तर, काउन्सिलले एसोसिएसनका निर्वाचित सदस्यहरूको दबावका कारणले डा. कलवारलाई छानबिन समितिले गरेको कारबाही सिफारिसअनुसार निलम्बन नगरी उन्मुक्ति दिएपछि काउन्सिल र छानबिनको कुनै अर्थ नरहेको भन्दै राजीनामा दिन बाध्य भए ।

चिकित्सकले गल्ती गरेमा जेल पनि पठाउनु पर्छ भन्ने मान्यता राख्ने डा. वस्तीेले डा. कलवारले कोसी सर्जिमेन्टबाट दिनैपिच्छे सामान ल्याउने, निःशुल्क आएको साइन नेल (रड) को रकम बिरामीबाट असुल्ने, विवाद भएपछि तिनै बिरामीलाई रकम फिर्ता गरेको सम्मका प्रमाणहरू प्रशस्त हुँदाहँुदै पनि दबाव र प्रभावमा परी डा. कलवारलाई काउन्सिलले कारबाही गर्न नसकेपछि पदमा बस्न मन नभएर राजीनामा दर्ता गरेको प्रक्रिया खुलेर दिएका छन् । यो प्रकरणले के देखाउँछ भने कुनै पनि स्वास्थ्य संस्थामा पदाधिकारी वा चिकित्सकले गरेको गल्ती, भ्रष्टाचार, आर्थिक अनियमितताको बारेमा जतिसुकै छानबिन गरे पनि नियामक निकाय नेपाल मेडिकल काउन्सिलले दोषीलाई कारबाहीको दायरामा ल्याउने हिम्मत राख्न सक्दैन । वैधानिक अधिकार भएर पनि अधिकार प्रयोग गर्न चुक्ने, नजान्ने नाम मात्रको मेडिकल काउन्सिललाई कसले चलाइरहेको छ भन्ने प्रश्न उब्जिएको छ ।

छानबिन गरेर वास्तविक सत्य–तथ्यसहितको प्रतिवेदन तयार गरी गलत छ भने गलत भएको र कारबाहीको दायरामा ल्याउनु पर्छ, यदि गलत छैन भने कलवार ठीक छन् भन्ने अधिकारसहितको प्रतिवेदन तयार गर्न डा. वस्ती र उनको टोलीलाई दिइएको थियो । काउन्सिलले दिएको अधिकार प्रयोग गरेर उनले सिफारिस गरेको पत्र कागजको खोस्टोमा परिणत भएपछि वास्तवमा काउन्सिल नियामक निकायको रूपमा नरहेर चिकित्सा क्षेत्रमा देखिएका तमाम बाहुबली ‘डन’ पात्रहरूको प्रभाव र दबावमा चलेको छ भन्ने देखाउँछ ।