धनकुटा नगरपालिका–१ हिले थिङ टोलका वृषबहादुर तामाङ उमेरले ४६ वर्षका भए । आफ्नो परिवार चलाउन र धनसम्पत्ति कमाउन वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पनि गए । त्यहाँ तीन वर्ष काम गरे ।

साउदीमा भनेजस्तो कमाइ नभएपछि घर फर्किए र फेरि कतार गएर ६ वर्ष बसे । वृषले साउदी बस्दा ६ लाख र कतार बस्दा करिब २० लाख कमाए । विदेशको कमाइ छोराछोरी पढाउन र घरव्यवहार चलाउन साथै केही बचेको पैसाले जमिन जोडे । कतारबाट फर्किएपछि भने उनी बङ्गुर व्यवसायमा मस्त छन् । उनका साथीहरूलाई चुनावले झ्याप्पै छोपेको छ तर, वृषलाई दलका नेताको पछि लाग्ने फुर्सद छैन ।

उनी भन्छन्, ‘व्यवसाय गरेर खाने मान्छेले राजनीतितिर लागियो भने उँभो लागिँदैन ।’ राजनीति गर्ने काम आशे काम हो भन्दै उनले थपे, ‘आफू सक्रिय राजनीति गरिँदैन, भोट भनेको आफूलाई मन पर्ने पार्टीलाई दिइन्छ ।’ ‘राजनीतिमा कमाउनेले दह्रो कमाउँछन्, सँगै हिँड्ने साथी हेरेको हरेकै पनि हुन्छन्, त्यसैले मन पर्दै’–उनले थपे । चुनाव लागे पनि उनी आफ्नै पेशा र व्यवसायमा निरन्तर लागिपरिरहेका छन् । 

विदेशमा जस्तो नियमित आम्दानीको स्रोत नभएपछि उनले आफ्नै लगानीमा बङ्गुर फर्म खोल्ने निधो गरे । दुई वर्षअघिदेखि बङ्गुर फर्म खोलेर माउ सुँगुर पालेर पाठापाठी बिक्री गरेर नियमित आम्दानीको स्रोत बनाएका छन् वृषबहादुरले । गतसालमा जेनिफर एग्रो फर्म नामक संस्था पनि घरेलु तथा साना उद्योग कार्यालय र धनकुटा नगरपलिकामा दर्ता गरे ।

सुरुमा १ लाख ५० हजार लगानी गरेर ५ माउ बङ्गुर खरिद गरेर व्यावसायिक रूपमा बङ्गुर पाल्ने निधो गरे । उनले सुरुमा बङ्गुरको खोर निर्माण गर्न १ लाख खर्च गरे । जम्मा २ लाख ५० हजार खर्च गरेर माउ बङ्गुर पालनमा लागेको वृषबहादुरको अहिले २५ माउ बङ्गुर र ८० भन्दा बढी पाठापाठी छन् । पछिल्लो समयमा उनले ५ लाख रुपैयाँ व्यवसायमा लगानी गरेका छन् ।

उनकोमा बङ्गुरको पाठा (बुचा) प्रतिगोटा ४ हजार भने पाठी (भुनी) २ हजार ५ सयले पाइन्छ । उनले बङ्गुरको पाठापाठी लट÷लटमा बिक्री गर्ने गरेका छन् । एक लटमा १ लाख ५० हजार देखि २ लाखसम्मको बिक्री गर्ने गरेका छन् । बङ्गुर पालनमा उनको खर्च मासिक २५ देखि ३० हजार हुने गरेको छ ।

वृषबहादुर बङ्गुरपालनसँगै २ वटा उन्नत जातको दुहुना गाई पनि पालेका छन् । गाईलाई आवश्यक पर्ने दानापानीको खर्च पनि उनले त्यसैभित्रबाट गर्ने गरेका छन् । श्रीमती कमला तामाङले उनको व्यवसायलाई हरहमेसा साथ दिने गरेकी छन् । वृषबहादुर हिलेस्थित मनकामना बोर्डिङ स्कुलको विद्यार्थी बोक्ने बस पनि कुदाउँछन् । फुर्सदको समयमा घरमा गएर बङ्गुर र गाईवस्तुको हेरचाह गर्छन् ।

वृषबहादुरले मनकामना बोर्डिङ स्कुलको बस चलाएर मासिक रूपमा २५ हजार, गाईको दूध बिक्रीबाट १६ हजार र हरेक ५ महिनामा बङ्गुरको पाठापाठी बिक्री गरेर २ लाख गरी जम्मा ५ लाखको हाराहारीमा आम्दामी गरिरहेका छन् । प्रत्येक ५ महिनामा १ लाख ५० हजार खर्च गरेर ४ देखि ५ लाख रुपैयाँ आम्दानी हुन थालेपछि वृषबहादुर आफ्नो पेशाप्रति ढुक्क छन् ।

बङ्गुरको माउले हरेक ५ महिनामा बच्चा जन्माउने गरेकाले माउ बङ्गुर पाल्ने फर्म सञ्चालकलाई फाइदा हुने गरेको छ । अहिलेसम्म उनी आफ्नै कमाइ र पाखुरीमा परिवारसँग रमाइरहेका छन् । उनले अहिलेसम्म कुनै पनि सरकारी वा गैह्रसरकारी निकायबाट अनुदानसमेत लिएका छैनन् ।

अहिले उनको १ रुपैयाँ पनि ऋण छैन । उनको परिवारमा ४ जना सदस्य रहेका छन् । २ जना छोरीमध्ये जेठी छोरीले एच.ए. पढेर हाल हिलेस्थित विजयराज हस्पिटलमा काम गर्न थालेकी छन् भने कान्छी छोरी मनकामना बोर्डिङ स्कुल हिलेमा कक्षा–४ मा अध्ययनरत छिन् ।

पैंतीस वर्षअघि भोजपुर जिल्लाको हालको षडानन्द न.पा.साविकको हेलौंछा गाविस–५ बाट १५ वर्षको उमेरमा धनकुटाको हिलेस्थित आफन्तकाृमा आएका वृषबहादुरको जीवनको सफलताको कथा घतलाग्दो छ । वृषबहादुरले जस्तै अरूले पनि मेहनत गरेर निरन्तर व्यवसाय गरे भने सफलता नहुने भन्ने कुनै कडी नै छैन भन्ने पाठ वृषबहादुरबाट सबैले सिक्नु पर्छ ।

pic-2