भनिन्थ्यो, राजनीति जनता, समाज र राष्ट्रको सेवा हो । यो समाजको नेतृत्व गर्ने मेरुदण्ड हो, जुन शतप्रतिशत सेवाभावबाट निर्देशित हुनुपर्दछ । तर, पछिल्लो समय राष्ट्रिय राजनीतिले आफ्नो आधारभूत आदर्श र मूल्यहरू गुमाउँदै गएको देखिन्छ । राजनीति यो वा त्यो कोणबाट आलोचित बनिरहेको छ । संस्कार, संस्कृतिहरू विकृत र विसङ्गतिपूर्ण बन्दै गइरहेको छ । राजनीति मानव समाजको निर्विकल्प साधन र अभिन्न अङ्ग हो । यसले खास समाजमा नेतृत्वदायी वा अभिभावकको भूमिका खेल्दछ । यद्यपि राजनीति सर्वाधिक महत्वपूर्ण आयाम हुँदाहुँदै पनि आज यसको चरित्र बिग्रँदोछ भने साख खस्कँदो छ । यसमा अन्तरनिहित कारणहरू के के हुन् ? यहाँ यसका वस्तुगत पक्षहरू कोट्याउने प्रयत्न गरिएको छ ।

अघिल्लो स्थानीय निर्वाचन सकिएलगत्तै मेरो काठमाडौं बौद्धमा बस्ने एकजना मित्रसँग भेट भयो । हामी दुईबीच चिया पिउने क्रममा समसामयिक राजनीतिबारे चर्चा भयो । यद्यपि मित्र र मेरो राजनैतिक विचार मिल्दैनथ्यो ।  भर्खरै सम्पन्न चुनावलगायत पछिल्लो राजनीतिक कटु यथार्थबारे छलफल ग¥यौं । यसै सिलसिलामा मित्रले भन्नुभयो, ‘अब म दश–बाह्र वर्ष जति ठेक्कापट्टा, व्यापार–व्यवसाय गरेर पाँच–सात करोड नकमाइकन राजनीतिमा लाग्दिनँ । किनकी राजनीतिमा लागेपछि चुनाव लड्नै पर्छ । यसको लागि ठूलो भोल्युममा पैसा चाहिन्छ । बिना पैसा पार्टी, नेता र जनतासँग सुखद् र फलदायी उठबस हुँदैन । मतदाताले पत्याउँदैनन् । यसो भन्दै उनले आप्mनो भावी राजनैतिक योजना सुनाएँ ।’ मित्रको भनाइमा राष्ट्रिय राजनीतिको यथार्थ चरित्रको कटु बिम्ब थियो । मैले पनि राजनीति विकृत र आलोचित भइरहेको छ कुरा थपे ।

वस्तुतः हाम्रो अर्थराजनीति इतिहासकै सर्वाधिक बदनामको स्थितिबाट गुज्रिरहेको छ । राजनैतिक आदर्शका सीमास्तम्भहरू ढलिरहेको छ । सिद्धान्तको मार्गचित्रहरू अस्पष्ट बनिरहेको छ । नैतिक मूल्य र मान्यताको लक्ष्मणरेखाहरू मेटिरहेको छ । विवेक र अनुशासनको फलामे पर्खालहरू भत्किँदै छ । आस्था, विश्वास र निष्ठाहरू भौतिक सुविधामा सौदाबाजी भइरहेको छ । प्रतिबद्धता र इमान्दारीताहरू अवसरसँग विनिमय गरिँदै छ । त्याग, सङ्घर्ष र बलिदानहरू निजी स्वार्थको छायाँमा परिहेको छ । कर्तव्य, दायित्व र सेवाभावहरू व्यवसायिकीकरण, व्यापारीकरण र भ्रष्टीकरणको बन्दी बनिरहेको छ । यसले मुलुक बनाउने सुन्दर सपना र योजनाहरूलाई लिलाम गरिरहेको छ । विकास, शान्ति र समृद्धिका निश्चल र पवित्र उद्देश्यहरूलाई दलालीकरण र अपराधीकरण गरिँदै छ । जनताका परिवर्तन, न्याय र समानताका चाहनाहरू निरीह हुँदैछ । राजनीति सही रूपान्तरणतर्फ होइन झनै विकृत बन्दै गइरहेको छ । यसले हाम्रो गलत गन्तव्यतर्फको यात्रालाई सङ्केत गरिरहेको छ ।

आज हामीले झेलिरहेको समस्या समग्र अर्थराजनीतिक समस्याकै उपज हो । मूलतः अर्थराजनैतिक चरित्र समग्र हो भने पार्टी, समूह र व्यक्तिमा अभिव्यक्त हुने चरित्र अंश हो । द्वन्द्ववादबाट नियाल्दा समग्र र अंश अन्तरसम्बन्धित पहलहरू हुन् । तर, समग्र प्रधान र निर्णायक हुन्छ । अर्थात् समग्रमा हल खोज्यौं भने अंश स्वतः निर्देशित हुन्छ । तर, अंशले समग्रलाई कमाण्ड गर्न सक्दैन । साथै त्यो परिणाममुखी पनि हुँदैन । यसकारण समाधन समग्रमै खोज्नु पर्दछ । अर्थात राजनीतिलाई यथास्थितिमा राखेर कुनै समूह वा व्यक्तिलाई मात्र रूपान्तरण गर्न खोज्यौं भने त्यो सम्भव हुँदैन । यसको लागि सिङ्गो अर्थराजनीति र यसले अङ्गीकार गर्ने आधारभूत दृष्टिकोणमा अन्तरनिहीत अवैज्ञानिक र अव्यावहारिक पक्षहरूलाई सच्याएर मात्र रूपान्तरणको प्रक्रिया आरम्भ हुन्छ । अन्यथा रूपान्तरणको मुद्दा भोट ब्ल्याकमेलिङ गर्ने सुगरकोटेड नारा मात्र हुन्छ ।

वर्तमान राजनीति शास्त्रीय वा औद्योगिक पुँजीवाद, वित्तीय पुँजीवाद, निगम पुँजीवाद हुँदै उपभोगवादी अराजक एकाधिकार पुँजीवादमा सङ्क्रमणको अवस्थामा छ । आधारभूतरूपमै पुँजीवाद निजी स्वार्थ, अवसर र नाफा अन्तर्गत अकुत धन आर्जनको परिपाटी हो । यसमा जसरी पनि नाफा कमाउने हदैसम्मको निकृष्ट स्वार्थजन्य हर्कतहरू निःसङ्कोच गर्ने गरिन्छ । यस्तै गतिविधिहरूको उत्कर्षमा यसले अराजक वा आपराधिक चरित्र ग्रहण गर्दछ । स्वभावतः जसरी पनि बढी कमाउने र जसरी पनि जित्ने रणनीति अन्तर्गत सिद्धान्त, मूल्य, मान्यता र अनुशासनका छेकबारहरू निष्प्रभावी हुन्छन् । परिणामतः हरेक सत्ता वा व्यक्तिमा चरम् अवसरवादी, स्वार्थी, लोभीपापी, पदलोलुप, भ्रष्ट, दलालीजस्ता आपराधिक मनोवृत्ति मौलाउँछ । यसरी अर्थराजनीतिक दृष्टिकोण नै गलत मनोविज्ञानद्वारा निर्देशित भएपछि त्यस मातहत रहने सम्पूर्ण सामाजिक सत्ता, समूह, व्यक्तिहरू पनि अंश–अंशमा सोही भाष्यद्वारा निर्देशित हुन्छन् । यो सार्वभौम नियम हो । अर्थात् व्यक्तिहरूमा अभिव्यक्त गलत संस्कृतिको मूलभूत कारण अर्थराजनीति नै हो । त्यसैले समग्रमा अन्तरनिहीत समस्याको हल अंशमा खोजेर हुँदैन  ।

वस्तुतः अर्थराजनीतिक चरित्रको कारण आज राजनीति विकृत र विसङ्गतिको उत्कर्षमा पुगेको छ । यसलाई व्यवसायिकीकरण, व्यापारीकरण, भ्रष्टीकरण र दलालीकरण गरिँदैछ । अरू पेशा व्यवसायभन्दा राजकीय सत्ताको शक्ति, स्रोतसाधन, मान–मर्यादा र प्रतिष्ठाको बेग्लै स्वाद हुन्छ । यही अतिरिक्त स्वार्थको कारण अन्य पेशाभन्दा छुट्टै आकर्षण देखिन्छ । जन्मने, हुर्कने, पढ्ने, जागिर खाने, पेशा व्यवसाय गर्छन्, धन आर्जन गर्छन् । अनि सबैखाले भौतिक सुखसुविधाले पूर्ण हुन्छन् तर, पनि मान्छे सन्तुष्ट हुँदैनन् । अन्त्यमा उनीहरू शक्ति, नाम र प्रतिष्ठालाई स्थापित वा सार्वजनिकीकरण गर्न आफ्नो पृष्ठभूमिलाई भजाउँदै भ्रूणबाटै अवसरजन्य दलालीमार्फत् अमूक पार्टीमा बनीबनाउ नेता बनेर तामझामसहित प्रवेश गर्छन् । राष्ट्रिय राजनीति र उनीहरूको वर्गचरित्र मिल्दोजुल्दो देखिन्छ, जसले राजनीति महाविकृत बन्दै छ भने  वितृष्णा उत्कर्षमा पुगिरहेको छ ।

आवधिक चुनावलाई लोकतन्त्रको प्राण भनिन्छ । तर, चुनाव असाध्यै खर्चालु, तडक–भडक, ढोङ्ग र आडम्बरमा आधारित हुँदैछ । यसमा साम, दाम, दण्ड र भेदको अस्त्रमार्फत् मतदाताहरूलाई ब्ल्याकमेलिङ गरिन्छ । उनीहरूलाई गलत निर्णयको लागि उक्साइन्छ । हल्लाखल्ला, भीडभाड र रूपवादी माहौल हाबी हुन्छ । खर्चालु, तडक–भडक र आडम्बरी चुनावी चरित्रको कारण सही एजेण्डाधारी पार्टीभन्दा एजेण्डाविहीन औसत भावनात्मक नाराहरूमा भ्रमित हुन्छन् । चुनावमा  मतदाताहरू भ्रमित हुनु भनेको मुलुक नै भ्रमित हुनु हो । साथै पार्टीमा सङ्गठित सापेक्षित इमान्दारहरू नेता कार्यकताहरूभन्दा औसत माहौल अनुरूप उठबस गर्नसक्नेहरू चुनावी प्रतिस्पर्धामा आउँछन् ।

परिणामतः उद्योगी, व्यवसायी, दलाल, ठेकेदार, डोजरवाला, बिचौलिया र कमिसनखोरहरू राजनैतिक एसल्टमा हुन्छन् । उनीहरूमा सिद्धान्त, निष्ठा र इमान्दारिताभन्दा पनि भड्किलो र गलत रवैयाहरूको माध्यमबाट पार्टी, नेता, कार्यकर्ता र भोटरहरूको भावनामाथि खेलवाड र खरिदबिक्री गर्छन । उनीहरूलाई ब्ल्याकमेलिङ गर्दै आफ्नो स्वार्थको चङ्गुलमा बन्दी बनाउँछन् । सारतः दलाल पुँजीवादी अर्थराजनीतिमा राजनीतिलाई व्यावसायीकरण, व्यापारीकरण, दलालीकरण, भ्रष्टीकरण अनि आपराधीकरण गरिन्छ । परिणामतः पुँजीवालाहरू राजनीतिमा हाबी हुन्छन् । पङ्क्तिकार चुनावको विरोधी होइन । तर, खर्चालु र विकृत चुनावी प्रक्रियाले सिङ्गो समाज नै दलालीकरण र भ्रष्टीकरणको दलदलमा फसिरहेको छ ।

दुःखको साथ भन्नुपर्छ, नेपालमा श्रम संस्कृति छैन । श्रम गरेर खानेभन्दा ठगठाग र दलाली गरेर रवाफिलो वा भड्किलो जीवनशैलीमार्फत् समाजमा बोलबाला कायम गर्नेहरू धेरै छन् । रूपवादी समाजमा हुने यस्तै हो । श्रमसहितको विचार, सिद्धान्त र मूल्य, मान्यताद्वारा निर्देशित समाजमा श्रमजीवीहरू हावी हुन्छन् । उनीहरू हावी हुनु भनेको उत्पादन वृद्धिसँगै आदर्श, निष्ठा, विवेक र इमान्दारिता हावी हुनु हो । न्याय र समानता हावी हुनु हो ।

पद, पावर र पैसाले नेतृत्व गरेको समाजमा व्यावसायिक दलालहरू हावी हुन्छन् । उनीहरू हावी हुनु भनेको नचाहँदा नचाहँदै पनि आपराधिक र भ्रष्ट संस्कृति संस्थागत हुनु हो । नियम कानूनलाई बन्धक बनाउनु हो । समाजलाई भ्रष्टीकरण गर्नु हो । विवेकहीनता, अनुशासनहीनता र अराजकता हावी हुनु हो । यसो भएपछि समग्र राजनीतिमा आदर्श, मूल्य र विधि–पद्दतिको गुञ्जायस हुँदैन । चुनावी राजनीति असाध्यै खर्चालु, विकृत र लोभी–पापी स्वार्थमा आधारित हुँदैछ । राजनीतिले बाटो बिराइरहेको छ, जसको कारण विश्वासको सङ्कट पैदा भइरहेको छ भने साख र समर्थन खस्कँदो छ ।

यसरी समग्र राजनीति जसरी पनि चुनाव जित्नु र जिताउनुुमा केन्द्रित छ । मत माग्ने र मत दिने दुवै पक्षले आ–आप्mनो निहीत स्वार्थमा राम्रो नराम्रो सबैखाले साधनहरूको दुरुपयोग गर्दछ । यसले असाध्यै गलत संस्कृति हावी भइरहेको छ, जुन विडम्बनाको विषय हो । पार्टी र उम्मेदवारहरूमा  मतदाताहरूलाई जसरी पनि गलत प्रभावमा पारी चुनाव जित्ने स्वार्थबाहेक अरू केही हुँदैन । यता मतदाताहरूमा पनि निहीत स्वार्थलाई चुनावी दाउसँग विनिमय गर्ने क्रम बढ्दो छ । उदाहरणको लागि सार्वजनिक जग्गा मिचेर बस्छन्, अनि लालपुर्जाको लागि नेता वा उम्मेदवारहरूलाई ब्ल्याकमेलिङ गर्छन् ।

भ्रष्टाचार, चोरी, बलात्कार, ठगी, तस्करीलगायतका सामाजिक अपराधमा हिरासत पुग्छन् । तब राजनैतिक दल, नेता र कार्यकर्ताहरूलाई छुटाउनको लागि गुहार्छन् । अवैध ढुङ्गा, बालुवा दोहन गर्छन्, ट्याक्टर र टिपर छुटाउन पार्टी वा नेतालाई भनसुन गर्छन् । चुनावमा सहयोग गर्ने वाचासहित ब्ल्याकमेलिङ गर्छन । यो मुद्दा मिलाइदिनुभयो भने पार्टीमा लाग्छु भन्छन् । आर्थिकलगायतका अन्य थुप्रै बोलकबोलहरू पनि गर्छन् । यस्तो संस्कृतिले उम्मेदवारले चुनाव जित्छ, मतदाताले पनि स्वार्थ पूरा गर्छ । तर, समाज चाहिँ चरम् अपराधीकरण र भ्रष्टीकरणमा फस्दै जानेछ । यसको जिम्मा कसले लिने ? यो गम्भीर यक्ष प्रश्न हो ।

नेता कार्यकर्ताहरू पनि चुनावी राजनैतिक कार्यदिशा र कमिसन संस्कृतिको कारण मुद्दा मिलाउन न्वारानदेखिको बल लगाएर तथाकथित शक्ति भिडाउन थाल्छन् । तर, हरेक उठबस स्वार्थप्रधान भएपछि गलतलाई गलत भन्ने नैतिक बल कसैमा रहँदैन । यसकारण राजनीतिलाई आपराधीकरण र दलालीकरण गराउनुमा पार्टी, नेता र कार्यकर्ताको मात्र दोष देखाएर तथ्य नजिक पुगिँदैन । किनकी मतदाताहरूको गलत स्वार्थ पनि उत्तिकै जिम्मेवार देखिन्छ । मूलतः शक्तिको दुरुपयोग गर्दै स्वार्थको लागि गलत काम गर्ने र गराउने सबै अपराधी र भ्रष्टाचारी हुन् । घूस खाने र खुवाउने दुवै समाजका कलङ्कहरू हुन् । मत किन्ने र बेच्ने दलालहरू हुन् । भ्रम पार्नु र भ्रमित हुनु पनि अपराध नै हो । यसरी दोहोरो स्वार्थमा गरिने भनसुन र लेनदेनहरू नै वैधानिक भ्रष्टाचार र संस्थागत अपराधको मुख्य कारणहरू हुन् । यो विश्वास र इमानको राजनीतिमाथिको धोका र गद्दारी हो । समाजमा बढ्दो महामारीजस्तो गलत संस्कार यसैको उपज हो ।

तसर्थ पुँजीवादद्वारा निर्देशित अर्थराजनीतिमा सम्पूर्ण सामाजिक सत्ताहरू स्वार्थी, लोभीपापी, र जालझेलमा आधारित हुन्छन् । पद, पावर र पैसाको लागि हदैसम्मको निकृष्ट हर्कतहरू गरिन्छ । यसले सिङ्गो समाजलाई दलालीकरण, भ्रष्टीकरण र आपराधीकरण गर्दछ । जसरी पनि चुनाव जित्ने दाउमा सबैखाले स्वार्थी हतकण्डाहरू अपनाइन्छ । जनता पनि स्वार्थ प्राप्तिमा मतको नाङगो सौदाबाजी गर्छन् । सिद्धान्त, एजेण्डा, इमान–जमान, निष्ठा र आदर्शहरू किनारा लाग्छन् । भ्र्रष्ट, लोभी–पापी र बिचौलीयाहरू मूल परवाहमा हुन्छन् । राजनीति सत्ता र शक्तिको चरम् दुरुपयोग गर्दै भ्रष्टाचार र अपराधको अखडा बन्दै जान्छ । त्यसैले बिग्रँदो राजनीति, खर्चिलो चुनाव अनि खस्कँदो साखलाई रूपान्तरण गर्न स्वार्थी,  दलाल अर्थराजनीतिको विकल्प खोज्नु अपरिहार्य देखिन्छ । जनताले निकृष्ट स्वार्थमा अमूल्य मत बेच्नु पनि अपराध हो । गलत स्वार्थमा मत बेच्नु भनेको देशै बेच्नुतुल्य हो । राजनीति, विचार, एजेण्डा र इमानमाथि घात गर्नु हो । समाजलाई भ्रष्टीकरण गर्नु हो । यस्तो गलत प्रक्रिया नरोक्ने हो भने मुलुक गम्भीर बेथिति र विसङ्गतितर्फ जाने निश्चित छ । सरोकारवाला सबैलाई चेतना होस् !