देउराली । धरानमा गठबन्धन दलको पत्रकार सम्मेलनमा भाँडभैलो भएको छ ।
लामो समयसम्म भएको निरन्तरको छलफलपछि गठबन्धन दलले सहमति भएको जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा असन्तुष्ट पक्षले विरोध गरेपछि पत्रकार सम्मेलन भाडिएको हो ।
पत्रकार सम्मेलनमा उम्मेदवारी भागबण्डको जानकारी गराउने क्रममा काँग्रेसका असन्तुष्ट पक्षले विरोध गरेका थिए । उनीहरूले केन्द्र, प्रदेशका जिल्लाका नेताहरूले तल्लो तहका नेता कार्यकर्ताहरूसँग छलफल नगरी आफूखुसी ढङ्गबाट बाडफाड गरेर तल्लो स्तरका नेता कार्यकर्ताहरूको अपमान गरेको भन्दै विरोध गरेका थिए ।
क्षेत्रीय कार्यसमितिले बुथ सभापतिहरूसँग छलफल नगरी जित्ने आधार हुँदाहुँदै पनि अर्को दललाई वडा दिएर आफूहरूले निरन्तर सङ्घर्ष गरेर बनाएको जनमत र मेहेनेतको केही नेताहरूले अपमान गरेको असन्तुष्ट पक्ष आरोप छ ।
"गठबन्धन आवश्यक छैन हामीले जित्ने आधार प्रशस्त छन् भनेर परिपत्र गरिसकेको अवस्थामा वडा आकाङ्क्षी, सभापतिसँग छलफल नै नगरी गठबन्धन लाद्ने काम गरिएको छ । यसको हामीले विरोध गरेका हौँ ।" काँग्रेसका एक नेताले भने । वडा भागबन्डामा काँग्रेसकाे १४ औँ महाधिवेशनमा भएको गुटगत अभ्यास भएको उनीहरूको दाबी छ ।
सत्ता गठबन्धनमा रहेको जनमोर्चा बाहेक धरानमा भएको चार दलको गठबन्धन काँग्रेसले नगर प्रमुखसहित १३ वडा, माओवादी केन्द्रले उपमेयरसहित ४ वटा वडा, जनता समाजवादी पार्टीले २ वडा र नेकपा समाजवादीले १ वटा वडामा उम्मेदवारी दिने गरी सहमति भएको थियो ।
जसमा काँग्रेसले १,२,५,६,७,८,९, ११, १२,१३,१४, १६, र १८ , माओवादी केन्द्रले ३,१५,१७, २० नम्बर वडा जनता समाजवादीको भागमा १० र १९ र नेकपा एकीकृत समाजवादीले ४ नम्बर वडामा आआफ्नो पार्टीको चुनाव चिन्हमा उम्मेदवारी दिने गरी सहमति भएको थियो ।
पत्रकार सम्मेलनमा असन्तुष्टि जनाएका काँग्रेसका नेताहरूले ३, १०, १५, १७ लगायतमा आफ्नो जित सुनिश्चित हुने अवस्था रहेको भए पनि पार्टी भित्रका आकाङ्क्षी अरूसँग छलफल नै नगरी अर्को पार्टीलाई ती वडा जिम्मा लगाएको भन्दै असन्तुष्टि जनाएका थिए ।
तीव्र असन्तुष्टिका बिच हालमा माहोल बिग्रँदै गएपछि काँग्रेस धरान नगर सभापति श्याम पाेख्रेलले असन्तुष्ट पक्षहरूसँग छलफल गर्ने बताउँदै पत्रकार सम्मेलनकाे समापन गरेका थिए ।