भद्रपुर । १ नम्बर प्रदेशका अन्य जिल्लाभन्दा झापामा सबैभन्दा बढी अति संवदेनशील मतदान स्थल रहेको छ । जिल्लाको १४४ दशमलव २ किलोमिटर खुला सीमाना रहेको छ । भारतसँग जोडिएका स्थानीय तहका मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील पाइएको हो ।  

त्यसमा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, गौरीगञ्ज गाउँपालिका, झापा गाउँपालिका र कचनकवल गाउँपालिका भारतसँग सीमा जोडिएका पालिका रहेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । 

 ५१ मतदान स्थल अति संवेदनशीलको सूचीमा रहेको उनले जनाए । २८६ मतदान स्थल रहेको झापामा ७७७ मतदान केन्द्र तोकिएका छन् । बाँकी १५३ मतदान केन्द्र संवेदनशील र ८२ वटा सामान्य सूचीमा रहेको उनले जनाए ।  

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै शुक्रबारबाट आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिने मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी दिए ।

भद्रपुरस्थित शिक्षा विकास तथा समन्वय इकाइ समितिको कार्यालयमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै झापा जिल्ला अदालतका न्यायाधीश समेत रहेका मुख्य निर्वाचन अधिकृत गौतमले निर्वाचन निर्देशिकाले बनाएका संयन्त्र खटाएर आचारसंहिता उल्लङ्घनका गतिविधि नियन्त्रण गरिने जनाए ।

राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला एवं निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने तथा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न वा झन्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टी–सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने आचारसंहितामा उल्लेख रहेको उनले बताए ।

 वैशाख ११ र १२ गते हुने उम्मेदवार मनोनयन दर्तालाई भीडरहित व्यवस्थित र पारदर्शी बनाउन राजनीतिक दलहरूसँग समन्वय गरी मनोनयन दर्ता टोकन प्रणालीमा लैजानुपर्ने उनको धारणा थियो । टोकन प्रणालीअनुसार दलहरू आएर उम्मेदवार मनोनयन दर्ता गरिँदा कर्मचारीलाई काम गर्न सहज हुने उनले बताए ।

निर्वाचन अधिकारी तुलसीकुमार नेपालका अनुसार निर्वाचनका लागि जिल्लामा आवश्यक तयारी गरिरहेको जानकारी दिए । निर्वाचनका लागि आवश्यक सामग्रीहरू मतदान केन्द्रहरूमा बैशाख २७ गते पठाइने छ । निर्वाचन आयोगको योजना अनुसार तीन दिनअघि मात्रै सामग्री पठाइने नेपालको भनाई छ । 

जिल्लामा स्थानीय तह निर्वाचनको लागि राष्ट्रिय ६ दलसहित ३६ दल दर्ता भइसकेका छन् । झापामा ६ लाख ७६ हजार २ सय ३४ मतदाता सङ्ख्या रहेको छ । त्यसमा अन्य ९ जना रहेका छन् ।