धनकुटा । धनकुटामा ‘पुस्तकालय’ का पिता भनेर आफ्नो परिचय बनाउनु सफल गर्गाचार्य सामुदायिक विश्व भाषा पुस्तकालयका प्रमुख संस्थापक संरक्षक टीका प्रसाद लामिछानेद्वारा लिखित ‘मोहभङग’ आत्मकथाको शनिवार एक समारोहको बिच लोकार्पण  गरिएको छ ।

कृति लोकार्पण तथा समीक्षा कार्यक्रममा बोल्ने वक्ताहरूले मान्छेमा जस्तो सुकै संकट आइपरे पनि हरेस नखाई अघि बढ्नु पर्छ भन्ने पाठ लामछिानेद्धारा लिखित ‘मोहभङग’ आत्मकथाले सन्देश दिएको दाबी गरेका छन् ।

साथै, उनीहरूले नेपालमा वैदिक सनातन देखी चलिआएको हिन्दु, बौद्ध र किराँत धर्म संस्कार, संस्कृतिलाई सक्नको लागी मुलुकमा देशी विदेशीहरूले ठुलो चलखेल गरिरहेकाले सचेत हुनुपर्नेमा समेत जोड दिएका छन् । 

पूर्वीय साहित्यका समालोचक एवं वरिष्ठ साहित्यकार प्रा.डा.टङ्क प्रसाद न्यौपानेको प्रमुख आतित्थ्यमा लामिछानेद्वारा लिखित ‘मोहभङग’ आत्मकथाको लोकार्पण गरिएको हो । सो अवसरमा पुस्तकको समीक्षा गर्दै कार्यक्रमका विशेष अतिथि एवं साहित्यकार प्रा.डा.बद्री विशाल पोख्रेलले भने–‘धनकुटामा विश्व भाषा सामुदायिक पुस्तकालय स्थापना गरेर ‘पुस्तकालय पिता’ को उपाधि पाइसकेका लामिछानेको गुणिजनले उनको गुणको कदर नगरे कसले गर्ने भन्दै सहभागीहरू माझ प्रश्न गरे ।’ पोख्रेलले उमेरले ८० वर्ष काटी सकेका लामिछानेको कृति ‘मोहभङग’ पढ्नै नपर्ने उहाँको अनुहार गर्दा नै थाहा हुने भन्दै टिप्पणी गरे । साथै उनले लामिछानेको जीवन उस्तै मान्छेले नजिकबाट नियाल्न बुझ्न नपाउने खालको जीवन भएको पनि बताए । पोख्रेलले नेपालीहरूको वैदिक सनातन देखी चलिआएको हिन्दु, बौद्ध र किराँत धर्म संस्कार, संस्कृतिलाई सक्नको लागी मुलुकमा देशीविदेसीहरुले निक्कै ठुला ठुला योजनाहरू बनाई रहेको खुलासा गरेका छन् । उनले आगामी दिनमा पनि नेपाली मौलिक संस्कृति माथि निरन्तर अतिक्रमण र थिचोमिचो हुने खतरा उत्तिकै कायम रहेकोले नेपालीहरूले आफ्नो धर्म, भाषा, संस्कार, संस्कृतिलाई जोगाई राख्न सचेत हुनु पर्नेमा जोड दिए ।  

  त्यसै गरी अर्का साहित्यकार गंगाधर कट्टेलले ‘मोहभङग’ सात खण्डमा विभाजन रहेको र टिका प्रसाद लामिछानेको जीवन सङ्घर्षका कथा पूर्ण रुपमा समेटिएको बताए । उनले मोहभङगमा लामिछानेले प्राचीन धर्मग्रन्थका व्यवहारिक प्रयोगका बारेमा सरल ढङ्गले व्याख्या गरेको पाइएको बताए । आफूले भोगेको जीवन कथा यति धेरै कसैले पनि भनेका छैनन् भन्दै कट्टेलले भने–‘लामिछाने भन्नु पर्ने जति सबै भनेका छन् ।’

     ‘मोहभङग’ कृतिको समीक्षा गर्दै प्राज्ञ हरिहर भण्डारीले विश्वमा आत्मकथाको परम्परा इस्वी सन् ३०० देखी सुरु भए पनि १४ औँ शताब्दी देखी विश्व साहित्यमा आत्मकथा लेख्ने प्रचलन व्यापक बढेर गएको बताए । उनले महात्मा गान्धी, रुसो, वि.पि.कोइराला लगायतका आत्मकथा, विश्व प्रसिद्ध आत्मकथा भएको औँल्याए । 

टीका प्रसाद लामिछानेद्वारा लेखिएको आत्मकथा राजनीतिक, आर्थिक र पारिवारिक परिवेशलाई आधार बनाएर ‘मोहभङग’ लेखिएको भण्डारीले औँल्याएका छन् । आत्मकथा लेखिएपछि विवाद आएन भने ठिकै हुन्छ तर विवाद आयो भने गाह्रो हुने पनि सुझाए । आत्मकथामा धनकुटाको भिरगाउँ, कुरुलेतेनुपा हुँदै वानरसम्मलाई जोडिएको छ । प्राज्ञ भण्डारी भने– ‘लामिछानेले लेखेको आत्मकथामा पारिवारिक विवाद आउन सक्ने देखिएको छ, आएन भने त्यो राम्रो, आयो भने त्यो सामना गर्नुपर्ने हुन्छ ।’  

गर्गाचार्य सामुदायिक विश्व भाषा पुस्तकालय धनकुटाले आयोजना गरेको कृति लोकार्पण, कृति समीक्षा तथा काव्य गोष्ठीमा साहित्यकार हरि बराल, कवि टिका आत्रेय, चुङ्गवाङ्ग धनकुटेली कविहरू तुलसा स्वदेशी राई, ठगिन कुमार राई, धनकुटाका युवा कवि मुकुन्द प्रयास, मुन्धुमी कवि केजी सुब्बा, घनश्याम बराल ‘औलाली’  कवयित्री गीता अधिकारी, चुना काफ्ले लगायतले आ–आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रममा सहभागीलाई गार्गचार्य सामुदायिक विश्व भाषा पुस्तकालय धनकुटाका प्रमुख संस्थापक संरक्षक टीका प्रसाद लामिछानेले धन्यवाद ज्ञापन गरेका थिए । 

तस्बिर÷कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.टङ्क प्रसाद न्यौपाने लगायत अतिथिहरू ‘मोहभङग’ आत्मकथा लोकार्पण गर्दै धनकुटामा ।