देउराली ।  सुरुवात देखी नै धरमराउँदै गठबन्धन लागि तयार भएको धरान उपमहानगरपालिकाको सत्ता गठबन्धन जति समय खुम्चिँदै गयाे त्यति नै निर्णयहरूमा फेरबदल हुँदै आएको छ ।  उमेदवार मनोनयन दर्ता सुरु भएको आज यो समाचार तयार पारून्जेत ५ दल बाट खुम्चिएर चार दल,  तीन दल, हुँदै वडास्तर आ–आफ्नै उमेदवार उठाउने तयारीमा आइसकेको छ भने,  माओवादी केन्द्र पार्टी केन्द्रमा आफ्नै मेयरकाे लविङ गरिरहेकाे छ । 

 केन्द्रबाटै स्थानीय तहमा पनि गठबन्धन गर्ने निर्णय गरेपछि सुरु भएको उम्मेदवारी बाडफाडमा सुरुवाती चरणमा सबै दलहरूको ठुलो महत्वकांक्षाका कारण गठबन्धन नै हुन नसक्ने हो कि भन्ने आशङ्का गरिएको थियो । 

धरानमा गठबन्धन दलको छलफल चलिरहँदा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १  का सभापति सुजेन्द्र तामाङले दलहरूको महत्त्वाकाङ्क्षा कारण चुनावी गठबन्धनको सम्भावना घटेको भन्दै फेसबुक पोस्ट समेत गर्न भ्याएका थिए । 

फेसबुक स्ट्याटसमा तामाङले धरानमा नेकपा माओवादीले नगर प्रमुख सहित ३, ४, ५, ११, १५, १७, १९ र २० मा, नेकपा एकीकृत समाजवादीले ४, ५, ६, ११, १५ र १६ मा, राष्ट्रिय जनमोर्चाले ४ र ५ र जनता समाजवादी पार्टीले उपप्रमुख सहित ११, १५ र १९ वडामा नेतृत्व दाबी गरेपछि चुनावी गठबन्धन हुनमा शंका व्यक्त गरेका थिए ।  उनले आफ्नो स्ट्याटसमा काँग्रेसको दावीका बारे भने खुलाएका थिएनन् । 

नेकपा माओवादी केन्द्रका धरान इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ)ले भने  नेपाली काँग्रेसले नगर प्रमुखसहित १५ वटा वडाको दाबी गरेका बताएका थिए । पछि निरन्तर छलफल गरेर  राष्ट्रिय जनमोर्चा बाहेक चार दलीय गठबन्धन जानकारी दिन पत्रकार सम्मेलन गरिएको थियो । 

बिहीबार गरिएको गठबन्धन दलको पत्रकार सम्मेलनमा धरानमा मेयरसहित  वडा नं १, २, ५, ६, ७, ८ ९, ११, १२, १३, १४, १६ र १८ गरी १३ वटा वडामा काँग्रेस, उपमेयरसहित ३, १५, १७ र २० नम्बर वाडा सहित ४ वटा वडामा माओवादी केन्द्र,  जसपाले वडा नम्बर १० र १९ र नेकपा एसले वडा नम्बर ४ काे  नेतृत्व गर्ने गरी उम्मेदवारी रहने सहमति भएको बताइएको थियो । 

तर, पत्रकार सम्मेलनमा  काँग्रेसका केही नेता, कार्यकर्ताहरू विरोध जनाउन पुगेका थिए ।   विरोध जनाउन पुगेका काँग्रेसका नेता कार्यकर्ताहरूले काँग्रेसको १४ औँ  महाधिवेशनमा भएको गुटगत अभ्यास गर्दै नेतृत्वले इतर समूहको पकड रहेको वडालाई अर्को पार्टीलाई दिएको आरोप लगाएका थिए ।  

उनीहरूले  १७, १५, १९, १०, ३ मा गठबन्धनको सहमति हुँदै गर्दा क्षेत्रीय कार्यसमितिले बुथ सभापतिहरूसँग सल्लाह नगरेको र आफूखुसी वडाहरू बाँडफाँड गरेको भन्दै नेतृत्वको चर्को विरोध गरेका थिए । विरोधका कारण पत्रकार सम्मेलन बिथोलिएपछि काँग्रेस नगर सभापति श्याम पोखरेलले विरोधकै बिचमा पत्रकार सम्मेलन समापन भएको घोषणा समेत गर्नुपरेको थियो । 

त्यसपछि सहमति भैसकेको भन्दै अर्को समाचार आइरहँदा, गठबन्धन दलबाट जसपा बाहिरिएको समाचार आयो ।  बाहिरिनुको कारण भने वडाको भागबन्डामा सहमति भए पनि वडा सदस्यहरूको भागबन्डामा सहमति जुट्न नसकेको जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले बताएका छन्। गठबन्धनबाट बाहिरिएकाे जसपाले उपमहानगरमा मेयर, उपमेयर सहित सबै वडामा उमेदवारी दिने भएकाे छ । 

जसपा बाहिरिएपछि जसपाको भागमा परेको दुई वटै वडा काँग्रेसले लिने गरी बाँकी तीन दलले वडा सदस्यसम्मको सिट बाँडफाँड गरेर सहमति भएकाे घाेषणा समेत गरेका थिए । त्यसकाे केहि समय नबित्दै शनिबार रातीबाट गठबन्धन दलबाट फेरी अर्को समाचार आएको छ जसमा काँग्रेस र माओवादीको पनि सबै वडामा प्रतिस्पर्धा हुने भएको छ ।

  मेयर र उपमेयरमा मात्र गठबन्धन गर्ने निर्णय गर्दै २० वटै वडाहरूमा अध्यक्षदेखि सदस्यसम्म गठबन्धन दलले आ–आफ्ना उम्मेदवार उठाएर प्रतिस्पर्धा गर्ने निर्णय भएको काँग्रेसका  तामाङले बताएका छन्  । माओवादी केन्द्रका अध्यक्ष मनोज भट्टराईले भने  ‘काँग्रेसका साथीहरूले दाबी बढाउन थाल्नु भयो , वहाँहरूले वडामा प्रतिस्पर्धा गरै भन्नुभयो हामीले हुन्छ भन्यौँ । वडामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ ’ उनले मेयर उपमेयरमा पनि आफ्नै उमेदवारको लागी केन्द्रमा माग गरेको बताउँदै केन्द्रबाट आउने जवाफ अनुसार मेयरको पनि उम्मेदवारी हुनसक्ने बताएका छन् ।  

माओवादी केन्द्रका अर्का नेता चोत्लुङले पनि धरान नगरकमिटीमाले उपमेयरको नाम सिफारीस गरिसकेको भए पनि मेयरको उमेदवारको पनि माग गरिएको बताएका छन् । उनले भने "हामीले मेयरको उम्मेदवार पनि आफ्नै चाहिन्छ भनेका छौँ , अहिले केन्द्रको जवाफ पर्खेका छौँ । "

उनले उपमेयरमा  आफ्नोसहित , प्रदेश सदस्य आइन्द्रविक्रम बेघा, सावित्रा चौलागाई (भूमिका) नगर सहसंयोजक दिलबहादुर रामदाम, पूर्व केन्द्रीय परिषद् सदस्य चन्द्र उदास लगायतको नाम सिफारिस भएको बताएका छन् ।

यता, नेकपा एसबाट पनि केही वडाहरूमा उमेदवारीकाे दिने तयारी थालेकाे छ । धरान नगरकमिटीका सहसचिव स्वर्णिमहाङ फम्बाेका अनुसार फम्बाेले ५ नम्बर वडामा उमेदवारी दिने भएका छन् । मेयर, उपमेयरमा भने एस माैन रहेकाे छ ।