विराटनगर । जनता समाजवादी पार्टी त्यागेको घोषणा गरेका उमेश यादवले विराटनगर महानगरपालिको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार दिउँसो यादवले महानगरको मेयर पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । २०७४ को निर्वाचनमा जसपाबाट महानगर मेयर लडेका यादव तेस्रो भएका थिए । उनले १४ हजार ९ सय ५८ मत ल्याएका थिए । उनी मेयर पदमा दाबी गर्दै गठबन्धनको नाममा मेयर छोड्न नहुने पक्षमा थिए ।
‘महानगरमा मेयरमा हामी एक्लै लड्दा पनि जित्ने अवस्थामा जसपाको नेतृत्वले गठबन्धन गरेर अन्याय गरेको छ,’ यादवले भने, ‘मैले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको छु ।’
अहिलेसम्म यादवसँगै स्तन्त्रबाट विराटनगर महानगरको उम्मेदवारी दिने दुई जना भएका छन् । यसअघि विराटनगर ५ का २६ वर्षिय सक्रिय गौतमलले मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबादुर बुढोथोकीले जानकारी दिए । २ बजेसम्म ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
विराटनगर महानगरपालिकाको वडा नम्बर ८, ९ र १० मा उम्मेदवारी दर्ता भएको छ । जसमध्ये वडा नम्बर ९ मा नेपाल सद्भावना पार्टीका किशोरकुमार सलवारले वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् भने वडा नम्बर १० मा स्वतन्त्र उम्मेद्वार माधवराज वाग्ले र वडा नम्बर ८ मा पनि स्वतन्त्र उम्मेद्वार फूल महमदले उम्मेखवारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार १० नम्बर वडामा २ जनाले र वडा नम्बर ९ मा १ जनाले वडा सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् ।