जतिखेर धरानमा खानेपानी आयोजना प्रारम्भ गरिँदै थियो, त्यो बेला धराने जनतामा एक खालको उत्साहको तरङ्ग थियो । जब जब आयोजना निर्माण हुँदै गयो, आयोजनाका विषयमा थुप्रै खालका भ्रमहरू सिर्जना हुन थाले । एकीकृत सहरी विकास आयोजना (आइयुडिपी) भनी नाम दिइएको यो आयोजनामा केही धरानेहरूले सशक्त प्रतिकार पनि गरेका थिए । त्यसबेला आयोजनाका विरुद्धमा बोल्नेहरूले ‘आयोजना सफल हुँदैन’ भन्ने सारभूत कुराहरू उल्लेख गरी जनतालाई आफूतिर ध्यानाकृष्ट गराउने प्रयत्न गरेका थिए । प्रयत्न फगत् हुन्थ्यो । आज ती आयोजनाका विरुद्ध बोल्नेहरूले भने जस्तै आयोजना सफल हुन सकेन । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)अनुसार सन् २०३१ को जुनसम्म सहज रूपमा दैनिक १८ घण्टा पानी खुवाउन सकिने डिजाइन तयार भएको थियो । तर, दिन प्रतिदिन डिजाइनअनुसार पानी प्राप्त नहुँदा धराने जनतालाई ‘डिजाइनमै खोट’ छ कि भन्ने भ्रम परेको छ । धराने जनताको आशा र भरोसाको केन्द्र खानेपानी आयोजनाले यति धेरै झुटका पुलिन्दा खडा गरे कि जनता अहिले कुनै कुरालाई पनि विश्वास गर्ने अवस्थामा छैनन् ।
जनतालाई धारामा २ घण्टा मात्रै पानी आए पनि उनीहरू विश्वस्त हुने अवस्थामा हुन्थे । उनीहरूले प्राविधिक पक्ष, राजनीतिक पक्ष, आदर्शका कुरा केही चाहेका छैनन् । खाली धारामा पानी आएपछि आयोजना सफल भएको मान्छन् । जनता यस्ता विकासका भोका हुन्छन्, जसले उनीहरूको आजीविकामा प्रत्यक्ष असर पार्छ । आजीविकामा प्रत्यक्ष असर नपार्ने जस्तोसुकै आयोजना पनि उनीहरूका लागि प्राथमिकतामा पर्दैनन् । त्यसकारण खानेपानी पहिलो शर्त हो । यही शर्त नै धरानवासीको पहिलो माग हो । खानेपानी आयोजनालाई अहिले स्वायत्त संस्था धरान खानेपानी व्यवस्थापन बोर्डले सञ्चालन गरिरहेको छ । जनताको अपेक्षाअनुरूप पानी नआउँदा अनेकन शङ्का, उपशङ्का, आरोप, प्रत्यारोप हुनु स्वभाविकै हो । अझ भ्रष्टाचार, आर्थिक अनियमितता जस्ता प्रश्नले पनि जनताको मनमा घर गरिरहेको छ । यो सबै आरोपका पछाडि आयोजनाले बनाएको डिजाइनअनुसार पानी नआउनुको परिणाम हो । यदि पुग्दो पानी आएको हुन्थ्यो भने यस्ता प्रश्नहरू जनमानसमा आउने थिएन । आधारभूत आवश्यकतामा पर्ने पानीको मागअनुसारको आपूर्ति गर्न नसक्दा स्वभाविकै प्रश्नहरू उठ्छन् । हिजो जसजसले खानेपानीका विरुद्धमा आवाज उठाए, त्यो आवाज चाहिँ ठीक थियो भन्ने बुझाइ जनतामा पसिसकेको छ । यसको अन्त्य तब हुन्छ, जब बोर्डले पर्याप्त मात्रामा पानी वितरण गर्न थाल्छ । तर, हालसम्म बोर्डका पदाधिकारीहरूको कुरा सुन्ने हो भने कहीँ न कहीँ त्रुटिहरू छन् ।
चुहावट ४० प्रतिशत छ भनेर विज्ञ समितिले राय सुझाव दिएको अवस्था छ । अर्कोतिर पानी उत्पादनमाथि पनि अनेकन आशङ्का छन् । पानी उत्पादनको विषयलाई लिएर राजनीतिक दलहरू नै विभक्त छन् । केही दलहरू डिजाइनअनुसार नै पानी उत्पादन भएको छ भनेर जनतालाई भ्रममा राख्ने प्रयास गरिरहेका छन् । अर्कोतिर बोर्डका अध्यक्ष तथा नगर प्रमुख तिलक राईले प्राविधिक रूपमा आयोजना सम्पन्न भएकोबारे आफूले दुई वर्षपछि मात्रै थाहा पाएको प्रतिक्रिया दिनुले पनि अनेकन आशङ्काहरू जन्माएको छ । नागरिकलाई ठीक ठीक सूचना नदिँदाको परिणाम आज बोर्डले भोग्दै आएको छ । खानेपानीको उत्पादनदेखि लिएर वितरणमा पनि समस्या रहेको आशङ्का गरिँदै आएको छ । यस्ता आम आशङ्कालाई चिर्न कहिल्यै पनि बोर्ड सफल भएन । फलतः अहिले झुटका पुलिन्दाहरूको सहारा लिइरहनु परेको छ । तर, अब धराने नागरिकले बुझिसकेका छन् कि धरान ‘काकाकुल’ बाट मुक्त हुन सक्दैन ।