नेपाली लेखक सङ्घ स्थापना गर्ने ऋद्धिबहादुर मल्ल शारदा पत्रिकाका सम्पादक थिए । त्यसबेलाका गृहमन्त्री साहित्यकार विश्वेश्वरप्रसाद कोइराला हुँदा मल्ललाई लेखक सङ्घको स्थापना गर्न केही सहज वातावरण निर्माण भएको थियो । मल्लले प्रस्ताव गरेको नेपाली लेखक सङ्घ प्रजातान्त्रिक विचारधारालाई फैलाउन सहयोगी हुने देखिन्छ । वि.सं. २००८ सालमा संस्थापित नेपाली लेखक सङ्घका प्रथम अध्यक्ष ऋद्धिबहादुर मल्ल भए पनि सो तदर्थ समिति मात्र थियो । २००८ सालदेखि २०१२ सालसम्म ऋद्धिबहादुर मल्लकै नेतृत्वमा नेपाली लेखक सङ्घ क्रियाशील हुन पुग्यो ।
यस अवधिमा ऋद्धिबहादुर मल्ललाई सहयोग गर्ने लेखकहरूमा लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइराला, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, भवानी भिक्षु, गोविन्दबहादुर मल्ल ‘गोठाले’, विजयबहादुर मल्ल, लेखनाथ पौडेल, माधवप्रसाद घिमिरे, रुद्रराज पाण्डे, रत्नध्वज जोशी, पूर्णबहादुर एम.ए., सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली, नारायणप्रसाद बाँस्कोटा, धर्मराज थापा, डा. ईश्वर बराल, हृदयचन्द्र सिंह प्रधान, जनार्दन सम तथा भीमनिधि तिवारीको नाम चर्चामा रहेको पाइन्छ । २००८ सालदेखि २०१२ सालसम्म आइपुग्दा नेपाली लेखक सङ्घमा अधिवेशन गर्ने, विधान बनाउने र सङ्घका उद्देश्यहरू निर्धारण गर्ने प्रक्रियाहरू अघि बढ्दै गए । २०१२ सालको प्रथम अधिवेशनले गोविन्दबहादुर गोठालेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण भए पछि नेपाली लेखक सङ्घको गौरवमय इतिहास गतिशील भएको मान्न सकिन्छ ।
लेखकहरू स्वतन्त्रताका पक्षधर हुन्छन् । २००७ सालपूर्वको राणाकालीन समयमा कसैलाई पनि स्वतन्त्रता थिएन । लेखकहरूमा स्वतन्त्रताको चेतसम्म थियो तर, औपदेशिक रचना, मनोरञ्जनात्मक कुराहरू पौराणिक विषयवस्तु र आदर्श समाज निर्माण गर्ने विचारहरूमात्र प्रस्तुत गर्न पाइन्थ्यो । राजनैतिक स्वतन्त्रता पटक्कै नदिएको हँुदा जनता शासक वर्गका बन्दीजस्तै थिए । एक किसिमको उकुसमुकुस थियो । सचेत मानिस निस्सासिएजस्ता हुन्थे ।
असचेत मानिस खान, लाउन र खेतीपाती गर्न नै तल्लीन थिए । जीवन निर्वाहमै एकाग्र रहेका थिए । तिनलाई न प्रजातन्त्रको चासो थियो, न स्वतन्त्रताकै खोजी थियो । पढे लेखेका मानिस सीमित थिए । तिनीहरू पनि शासकवर्गका अधीनमा थिए, कुनै जागिरे त कुनै दरबारमा आश्रित । यस्तो अवस्थामा लेखक, साहित्यकारहरू पनि असङ्गठित रूपमै हुँदा ठोस उपलब्धि आउन सकेको थिएन । यी विभिन्न कुरा जान्ने बु¤ने व्यक्तिहरूमा ऋद्धिबहादुर मल्ललगायतका साहित्यकारहरू थिए । उनीहरूले साहित्यलेखनलाई सङ्गठित रूपमा अगाडि बढाउन आवश्यक ठानी नेपाली लेखक सङ्घको स्थापना गरेका हुन् । आज त्यो लेखक सङ्घ सत्तरी वर्षको भइसकेको छ ।
नेपाली लेखक सङ्घ अनेकौं आरोह–अवरोह छिचोल्दै आजसम्म आइपुगेको हो । यस सङ्घको सत्तरी वर्षे जीवनमा सातौं राष्ट्रिय अधिवेशन गत २०७८ साल चैत्र १८ र १९ गते पोखरामा सम्पन्न भइसकेको छ । यसलाई नेपाली लेखक सङ्घको महŒवपूर्ण उपलब्धि मान्न सकिन्छ । यसअघि २०७३ साल वैशाख १८ र १९ गते नै काठमाडौंमा छैठौं राष्ट्रिय अधिवेशन भएको थियो । यसरी अधिवेशनको चक्र घुम्दै जाँदा धेरै लेखकहरू यस संसारबाट बिदा हुँदै पनि गएका छन् । सङ्घमा नयाँ नयाँ लेखकहरू पदार्पण भइरहेका हुँदा नेपाली लेखक सङ्घले पुस्तान्तरण र जीवन्तता पनि पाइरहेको छ ।
नेपाली लेखक सङ्घप्रति आस्था राख्ने लेखकको नाताले मैले छैठौं र सातौं राष्ट्रिय अधिवेशनमा भाग लिने अवसर पाएको छु । सातौं राष्ट्रिय अधिवेशनको सूचना मैले तत्कालीन महासचिव र हालका सह–अध्यक्ष रत्नमणि नेपाल र सदस्य गोकुल अधिकारीबाट पाएको हुँ । उहाँहरूको फेसबुक हेर्दा श्रवण मुकारुङको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय अधिवेशन आयोजक समितिको संयोजकमा डा. रत्नमणि नेपाललाई तोकेको देखियो ।
त्यसपछि आयोजक समितिसँग प्रत्यक्ष सम्पर्क गरी जिल्ला प्रतिनिधिको चयन गर्नपट्टि लागियो । फोनबाट जानकारी पाएअनुसार र जिल्ला अध्यक्ष, सचिव र एकजना महिला सदस्यसहित ३ जनाले भाग लिन पाउने प्रावधान भएको बुझियो । सोहीअनुसार सुनसरी जिल्लाका प्रतिनिधिको रूपमा सचिव कृष्ण अधिकारी र महिला प्रतिनिधि कवयित्री हेनसेन याक्खाको नाम चयन गरी पठाइयो । त्यसका अतिरिक्त पूर्व केन्द्रीय सदस्य भीष्म काफ्लेसहित हामी चार जना चैत १७ गते साँझमा पोखराका लागि प्रस्थान गर्यौं । चैत १८ गते निर्धारित समयमै हामी अधिवेशनस्थल पोखराको ह्वाइट हाउस अन्तर्गतको सिर्जना पार्टी प्यालेसमा आइपुग्यौं । जिल्ला जिल्लाबाट आएका प्रतिनिधिहरूसँग हाम्रो सौहाद्र्रपूर्ण भेटघाट भयो । पुराना मित्रहरूसँग सम्बन्ध नवीकरण भयो भने नयाँ लेखकहरूसँग परिचित हुने अवसर पनि प्राप्त भयो । वातावरण रमाइलो हुँदै गयो । घञ्चमञ्च बढ्दै गयो ।
लगभग बिहान १०ः३० बजे कार्यक्रमस्थलमा पुगी आसन ग्रहण गरियो । कार्यक्रम प्रारम्भ भयो । श्रवण मुकारुङ अध्यक्षको कुर्सीमा बसे भने प्रमुख अतिथिको कुर्सी खाली नै राखियो । खाली कुर्सीका लागि नेता विश्वप्रकाश शर्मा आउने हल्ला चल्यो । प्लेन उड्न नसकेको सूचना प्रवाहित भएपछि विशिष्ट अतिथि मा.नरहरि आचार्यले पानसमा दीप प्रज्वलन गर्नुभयो । स्वागत मन्तव्य नेपाली लेखक सङ्घ कास्कीका सभापति सञ्जीव पौडेलले गरेपछि बी.पी.कोइराला, ऋद्धिबहादुर मल्ल, गोविन्द गोठाले र यसै वर्ष स्वर्गीय भएका विजय बजिमय, दुर्गाप्रसाद काफ्ले, विश्व शाही आदिका तस्बिरमा माल्यार्पण गरियो ।
अधिवेशन तयारी समितिका संयोजक रत्नमणि नेपालबाट मन्तव्य प्रकट भएपछि शुभकामना दिन किशोरदत्त बराल, डा.तुलसी भट्टराई, मणिभद्र शर्मा आदि उभिनुभयो । अधिवेशनको पहिलो सत्रमै वैरागी काइँला, मा.नरहरि आचार्य, श्रीमती भुवन ढुङ्गाना, श्री तोया गुरुङ र तेजराज घिमिरेलाई सम्मान गर्ने कार्यक्रम राखिएको थियो । वैरागी काइँला र तोया गुरुङ अनुपस्थित भएपछि उपस्थित तीनैजना सम्मानितले मन्तव्य दिनुभयो । एउटा मोडबाट सो कार्यक्रम अर्को मोडतिर लाग्यो । दिउँसोको खानापछिको दोस्रो सत्रमा विद्वत् सभा, कवि गोष्ठी र नयाँ कार्यसमितिका लागि उम्मेदवारको नामाङ्कन गर्ने कार्यक्रम राखिए पनि मनोनयनपत्र दर्ता गर्ने लेखकहरू आपसी सल्लाहमा व्यस्त हुन थालेका हुँदा विद्वत् गोष्ठी हुन सकेन भने साँझको बेला १५–२० जनाले कविता वाचन गर्ने अवसर पाए । त्यसै बेला ३ वटा कृतिसमेत विमोचन गरिएका थिए । यसरी चैत १८ गतेको कार्यक्रम सम्पन्न भयो ।
चैत १९ गते बिहान सहभागीहरूलाई बेगनास तालको अवलोकन गराउने कार्यक्रम राखिएको हुँदा त्यसैमा सहभागी भइयो । खानापछि निर्वाचन कार्यक्रम प्रारम्भ भयो । मतदान गरेर हामी चार जना फेवातालको भ्रमणमा गयौं । ताल वाराही भगवतीको दर्शनार्थ नाउमा चढी टापुमा पुगियो । फर्किदा सिमसिमे पानीले हामीलाई एकछिन ओत लाग्न बाध्य बनायो । त्यसपछि हामी कार्यक्रमस्थलमा पुगी निर्वाचनबाट चुनिएका लेखकहरूको सपथ ग्रहण समारोहमा सम्मिलित भयौं । पदस्थापन कार्यक्रम सम्पन्न भयो । पोखरा निवासी कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा ४३ सदस्यीय केन्द्रीय नेपाली लेखक सङ्घ गठन भयो । सबैलाई बधाई तथा शुभकामना दिई हामी आ–आफ्ना बासस्थान लेक साइड स्थित स्नोफल होटलमा आइपुग्यौं । आराम साथ निदाएर २० गते बिहान ६ः३० बजे नै म काठमाडौंतर्फ लागेँ । यसरी सातौं राष्ट्रिय अधिवेशनमा सहभागी भइयो ।
नेपाली लेखक सङ्घ अहिले लगभग ७७ जिल्लासम्मै फैलिएको छ । सातौं राष्ट्रिय अधिवेशनमा ५६ जिल्लाको सहभागिता रहेको जानकारी गराइयो । पुरानो ६७ सदस्यीय केन्द्रीय समिति, ८ जना सल्लाहकार, ९ जना पूर्वपदाधिकारी, ५० जना केन्द्रीय मनोनित र १ सय ५१ जिल्लागत प्रतिनिधिसहित २ सय ८५ जनालाई सहभागी गराउने तयारीका साथ नेपाली लेखक सङ्घको सातौं राष्ट्रिय अधिवेशन प्रारम्भ भएको देखिन्छ । तीमध्ये १ सय ५० जना जति उपस्थित भएको कुरा निर्वाचनमा भएको सहभागिताबाट प्रमाणित भएको छ । स्थानीय कास्की जिल्ला शाखाका आमन्त्रणमा आएका सबै सहभागीहरूले अधिवेशनलाई सफल बनाउन विशेष योगदान दिएको हुँदा सबैका अनुहारमा प्रसन्नता देखिएको थियो ।
सातौं राष्ट्रिय अधिवेशनबाट महिला उपाध्यक्षमा काठमाडौंकी सन्ध्या पहाडी र महासचिवमा बझाङका सोझो गाउँले विजयी बन्नुभयो । कोषाध्यक्षमा रोल्पाका दामु मर्सिफुल निर्विरोध हुनुभयो । धेरैजसो पदमा निर्विरोध भए पनि १० सदस्यमा भने चुनावै भएको थियो । मोरङ्गबाट राधिका गुरागाईं, निर्मला कोइराला र सुनसरीबाट भीष्म काफ्ले सदस्य पदमा चुनिनुभयो । डा.शैलेन्दुप्रकाश नेपाल पनि उपाध्यक्षमा निर्विरोध हुनुभयो । यसरी लेखन स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै नेपाली लेखक सङ्घको सातौं राष्ट्रिय अधिवेशन सम्पन्न भएको थियो ।
(लेखकः नेपाल लेखक सङ्घका पूर्व केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला अध्यक्ष हुन् ।)