विराटनगर । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङमा ८ सय २९ विभिन्न पदको लागि ४ हजार ३ सय ६१ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
मोरङमा एक महानगरपालिकासहित ८ नगरपालिका र ८ गाउँपालिकासहित १७ स्थानीय तह रहेको छ । १७ प्रमुख/अध्यक्ष, १७ उपप्रमुख/ उपाध्यक्ष, १५९ वडाअध्यक्ष र ६ सय ३६ वडा सदस्यहरू गरि ८ सय २९ जनप्रतिनधीहरू निर्वाचित हुनुपर्ने पद संख्या हो ।
९ प्रमुख पदको लागि ८६ जनाको उम्मेदवारी परेको छ । यस्तै ८ वटा गाउँपालिका रहेको अध्यक्ष पदको लागि ६३ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय मोरङले जनाएको छ । यस्तै उपप्रमुखमा ७७ र उपाध्यक्षमा ५२ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार वडाअध्यक्षमा १ हजार १, महिला वडा सदस्यमा ७ सय ५४, दलित सदस्यमा ६ सय ९६ र खुल्ला सदस्यह पदमा १ हजार ६ सय ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।