मनाङ । वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मनोनयन पनि दर्ता भइसकेको छ । संविधानले दिएको महिलाको अधिकार र अवसर सत्तारुढ गठबन्धनका कारण खोसिएको भन्दै केही स्थानमा महिला रुष्ट भइरहेका छन् भने कतिपय स्थानमा महिला उम्मेदवार पाउनै मुस्किल छ ।

मनाङमा जिल्लामा यस्तै भएको छ । जिल्लामा महिलाका लागि नै तोकिएको सङ्ख्या पूर्तिसमेत हुनसकेको छैन । जिल्लामा सबैभन्दा बढी मतदाता महिला नै  भए पनि  उम्मेदवार बन्न भने चाहने महिला भने देखिएका छैनन् । मनोनयन दर्ताको समय सकिएको छ तर पनि महिलाकै लागि तोकिएको गाउँपालिका र वडामा आवश्यक सङ्ख्या पुर्याउनै मुस्किल भएको छ । 

हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाका पाँच  वडामा निर्वाचनका लागि दलित महिला सदस्यको उम्मेदवारी नै परेको छैन । दलित महिला सदस्यका लागि वडामा उम्मेदवारी मनोनयन नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त गाउँपालिकाका पाँच वडामा दलितसहित दश महिला सदस्यको कोटा सुनिश्चित छ  तर गाउँपालिकामा चार जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी पुष्पराज आचार्यले जानकारी दिए । 

उनका अनुसार दलित महिलाको उम्मेदवारी नै दर्ता भएको छैन भने महिला सदस्यमा चार जनाको उम्मेदवारी परेको छ । स्थानीय तहको निर्वाचनमा जिल्लामा ५६ महिला सदस्यको सिट सुनिश्चित गरिएको छ । नार्पाभूमिमा दश सदस्य आवश्यक भएकामा सो सदस्य सङ्ख्या पूर्ति भएको छैन भने अन्य पालिकामा पनि महिला उम्मेदवार पाउनै मुस्किल हुँदा कुनै पनि राजनीतिक दलले उम्मेदवार तयार गर्न सकेका छैनन् । 

ङिस्याङ गाउँपालिकाका विभिन्न वडामा १८ महिला सदस्यको सिट सुनिश्चित छ । यहाँ दलित महिला सदस्यसहित कूल १६ महिला सदस्यको उम्मेदवारी दर्ता भएकोे कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महिला सदस्यमा नौ र दलित महिला सदस्यमा सात जनाको उम्मेदवारी दर्ता भएको छ । उक्त गाउँपालिकामा पनि महिलाका लागि सुनिश्चित सिट पूर्ण भएको छैन । 

त्यस्तै सदरमुकाम चामे गाउँपालिकामा पनि सुनिश्चित सिटमा महिलाको उम्मेदवारी परेको छैन । चामेका विभिन्न वडामा गरी १८ महिलाका लागि सिट सुनिश्चित भए पनि सदस्यमा सात र दलित महिला सदस्यमा सात जनाको मात्रै उम्मेदवारी दर्ता भएको उक्त  कार्यालयले जनाएको छ । 

नासों गाउँपालिकामा भने केही महिला सदस्यबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्तारुढ गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता भएको छ । नासोंका विभिन्न वडामा महिलाका लागि १८ सिट रहेकामा १४ महिला सदस्य र आठ दलित महिला सदस्यको उम्मेदवारी दर्ता भएको छ । 

जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलगायत दलले  दल दर्ता गराएका छन् । जिल्लाका केही स्थानको चुनावमा कांग्रेस र एमालेबीच नै गठबन्धन भएको जस्तो देखिएको छ । भागबन्डा लगाएर कांग्रेसले वडाध्यक्षको उम्मेदवारी दिएको स्थानमा एमालका तर्फबाट उम्मेदवारी परेको छैन भने एमालेले उम्मेदवारी दर्ता गराएको स्थानमा कांग्रेसले उम्मेदवार तयार गरेको छैन । 

चामे गाउँपालिका–३ मा एकीकृत समाजवादी पार्टीको महिला सदस्य सर्वसम्मत निर्वाचित भएकि छिन् । निर्वाचन अधिकृतको कार्यालयले उनि सर्वसम्मत भएको सार्वजनिक गर्न बाँकी छ । मनाङमा महिला नेतृत्व वृद्धिका लागि न ठूला राजनीतिक दलले ध्यान दिनसके नत साना दलले नै । सबै राजनीतिक दलले महिलाको सहभागितालाई प्राथमिकता दिनुपर्ने घोषणापत्रमा उल्लेख गरे पनि जिल्लामा भने यो स्थिति लागू भएको देखिदैन ।

महिलाको नेतृत्व कम रहेको यस जिल्लामा पहिलो पटक एक गाउँपालिकाको अध्यक्षमा भने एक महिला चुनावी प्रतिस्पर्धामा उत्रिएकी छिन् । ङिस्याङ गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट ओङमा घले गुरुङले उम्मेदवारी दर्ता गराएका हुन् । लामो समयदेखि सामाजिक सेवा र पार्टीमा आवद्ध हुँदै आउनुभएकी गुरुङ गत चुनावमा पनि प्रतिस्पर्धामा उत्रिएका थिए । ओङमा एमालेका प्रतिद्वन्द्वी कान्छा घलेसँग उनि प्रतिस्पर्धा गर्दै छन् ।