देउराली । धरानमा नेकपा एमालेले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी उमेदवारी मनोनय दर्ता गराएसँगै एमालेका उम्मेदवारहरू चुनावी प्रचार प्रसारमा लागेका हुन् । 

एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङका अनुसार धरानका विभिन्न वडामा  मेयर उमेदवार मन्जु भण्डारी ( सुवेदी ) र उपमेयर उमेदवार पदम प्रसाद लिम्बू लगायत नेता तथा  कार्यकर्ताहरू घरदैलो अभियान सञ्चालनमा रहेका छन् । 

बुधबार धरान उपमहानगर वडा नम्बर ८ र वडा नम्बर ३ मा घरदैलो अभियान सञ्चालन भइरहेको अध्यक्ष  एभेङले बताए । घरदैलो कार्यक्रमा भोट माग्ने मात्र नभएर एमालेले विगतमा गरेको कामको जानकारी गराउनुका साथै जनताको चाहना र माग सुन्न पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिएको एमाले धरान उपमहानगर कमिटीले जनाएको छ ।

एभेङ्ले भने "चुनावमा भोट माग्नु स्वाभाविक हो तर हामी विगतमा जनप्रतिनिधि भएर काम गरिरहँदा के–के गर्यो ? के गर्न बाँकी छ ? र अब  कसरी अगाडी बढ्नेछौँ ? जनतालाई बुझाउन पाएका छौँ । जनताले पनि हामी माथि विश्वास गरेको पाएका छौँ । "

"हामी माथी सिर्जित भ्रमहरू  जनताले भ्रमकै रूपमा लिएको पाएका छौँ । हामीले  सूर्यमा भोट दिनुहोस् भनेर भन्नु भन्दा अगाडीनै मतदातालेनै धरानको विकासकालागि तत्काल एमालेको विकल्प नरहेको भनिरहनु भएको छ । "  एभेङ्ले भने "हामी जती उत्साहित छौँ त्यो भन्दा बढी एमाले प्रति जनतामा उत्साह देखियो ।  सूर्यमा भाेट हाल्न दिन गनेर  बसेका छाैँ भन्नुभाछ ।   यसले हामीलाई थप ऊर्जा दिएको छ । "

घरदैलो  अभियानका क्रममा मतदाताहरूले हाल भोग्दौ आएको खानेपानीको समस्या समाधान गर्न माग गरेका छन् । मतदातको  गुनासो प्रति जवाफ दिँदै मेयर उमेदवार  मन्जु भण्डारीले खानेपानीको समस्या सिङ्गो धरानको प्रमुख समस्या भएकोले यसको समाधान बिना अर्को विकासको औचित्य नहुने भन्दै खानेपानी समस्याको समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छिन् ।

निर्वाचन मूल परिचालन कमिटीका अनुसार वैशाख १५ गते ९,१० र १९ ,वैशाख १६ गते वडा नम्बर १६ , वैशाख १७ गते वडा नम्बर ११, वैशाख १८ गते वडा नम्बर ११ र १८ , वैशाख १९ गते वडा नम्बर १७ , वैशाख २० गते वडा नम्बर १७ र १५ मा मतदातासँग घरदैलो अभियानको कार्यक्रम रहेको छ । त्यसैगरि वैशाख २१ गते वडा नम्बर १५ , वैशाख २२ गते २० , वैशाख २३ गते ४ र ५ नम्बर वडामा हुने छ भने वैशाख २४ गते ६ वडा र वैशाख २५ गते भने वडा नम्बर १,२,३७ र १२ मा घरदैलो अभियान सञ्चालन गरिने छ ।  

 घरदैलो अभियानकै क्रममा धरान ८ मा नेपाली काङ्ग्रेसका पूर्व सुनसरी जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि राम बहादुर तामाङको नेतृत्वमा १८ जनाले नेपाली काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेशका क्रममा  तामाङले काँग्रेसले जनतालाई झुक्काउने काम बाहेक अरू नगरेको भन्दै विकास र समृद्धिको दृष्टिकोणले  एमाले नै जनताको पार्टी भएको बताएका छन् । 

उनले काँग्रेसमा राजनीतिक आचरण र व्यवहार नभएकाले आफुले पार्टी परित्याग गर्नु परेको बताएका छन् ।