सत्तारुढ गठबन्धनका साझा उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउँन दलका नेताले पहल सुरु गरेका छन् ।
सत्ता साझेदार दलको भागवन्डामा जनकपुरधाम उपमहागरपालिकाको नगरप्रमुख जनता समाजवादी पार्टीलाई र उपप्रमुख कांग्रेसलाई दिने सहमति भएको थियो । त्यही सहमति अनुसार गठबन्धनको साझा उम्मेदवारको रुपमा जसपाले निवर्तमान नगरप्रमुख लालकिशोर साहलाई नगरप्रमुख र कांग्रेसले किशोरी साहलाई उपप्रमुख पदमा उम्मेदवार बनाएको छ ।
गठबन्धनमा आवद्ध दलहरुबीच भएको सहमतिप्रति असन्तुष्टी जनाउँदै पार्टी परित्यागको घोषणा गरी नेपाली कांग्रेसका नगरसभापति मनोज साहले नगरप्रमुखमा र निर्मल चौधरीले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् । स्वतन्त्र रुपमा साह र चौधरीले उम्मेदवारी दिएपछि गठबन्धनका उम्मेदवारलाई असर पर्नसक्ने भन्दै दलका नेताहरुले स्वतन्त्र उम्मेदवारलाई मनाउने प्रयास भइरहेको कांग्रेस धनुषाका पुर्व सभापति महेशचन्द्र गिरीले जानकारी दिए ।
‘‘आफूहरुले स्वतन्त्र उम्मेदवार दुबै जनाको उम्मेदवारी फिर्ता गराउने पहल गरिरहेका छौँ”, गिरीले भने,‘‘अहिलेसम्म केही सकारात्मक परिणाम आउने सङ्केत त देखापरेको छैन् ।” तर हेराैँ आज साँझसम्म उम्मेदवारी फिर्ताको समय छ, त्यतिबेलासम्म केही हुन्छ कि भन्ने आशा गरौँ उनको भनाइ थियो ।
यस्तै आफ्नै पार्टीका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई मनाउन नेकपा (एमाले)का नेताहरु पनि जुटेका छन् । एमालेले जनकपुरधामको नगरप्रमुखमा शिवशङ्कर साह र उपप्रमुखमा रुना झालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका जानकी राम साहले नगरप्रमुखमा र उमेश चौधरीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उनिहरू दुबै जनाको उम्मेदवारी फिर्ता गराउन प्रयास भइरहेको नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।
‘‘उम्मेदवारी फिर्ता लिन हामीले दुवै जनासँग आग्रह गरेका छौँ”, अध्यक्ष यादवले भने,‘‘पार्टीका शीर्ष नेताले पनि पहल गरिरहनुभएको छ, आज साँझसम्म उहाँहरुले उम्मेदवारी फिर्ता लिएर पार्टीको आधिकारी उम्मेदवारलाई सघाउहुन्छ ।” त्यो वातावरण बनाउन हामी नियमित पहल गरिरहेको उनको भनाइ थियो ।
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि विभिन्न दल तथा स्वतन्त्र गरी ४१ जना र उपप्रमुखमा ३२ जनाले उम्मेदवारी दिएका छन् ।
नगर प्रमुखमा महिला प्रतिस्पर्धामा
आसन्न स्थानीय तह निर्वाचनका लागि तीन वटा दलले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा महिलालाई उम्मेदवार बनाएका छन् । मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किसान गिरी, तराई–मधेश लोकतान्त्रिक पार्टीबाट बिभा ठाकुर र जनमत पार्टीबाट अनितादेवीले उम्मेदवारी दत्र्ता गराएका छन् ।
आसन्न निर्वाचनका लागि जनकपुरधामको नगरप्रमुख पदका लागि विभिन्न १२ दलबाट १२ जना र २९ जना स्वतन्त्रसहित ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
तीमध्ये तीनै जना महिला फरक–फरक पार्टीबाट नगरप्रमुखमा उम्मेदवार दत्र्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि दलित समुदायका अरुण दास तत्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दलले दलित समुदायलाई नगरप्रमुख पदमा उम्मेदवार नबनाएपछि आफूले उम्मेदवारी दिएको उनले बताए ।