धरान उपमहानगरको ५ नम्बर वडामा उम्मेदवारी दिएका काँग्रेसका उम्मेदवार सन्तोष लिम्बु प्रति काँग्रेस भित्रैबाट असन्तुष्टि देखिएको छ । वडामा रहेका  काँग्रेसका पुराना नेता कार्यकर्ताहरूलाई बेवास्ता गरिएको भन्दै ५ नम्बर वडामा रहेका काँग्रेसी नेता कार्यकर्ताहरूले असन्तुष्टि जनाएका छन् । 

 असन्तुष्ट नेता कार्यकर्ताले  वडा कमिटी घर चलाए जसरी चलाएको र पुराना नेता कार्यकर्ताहरूको योगदान बिर्सिएर पछिल्लो समय पूर्ण रूपमा बेवास्ता गरिएको आरोप लाएका छन् । उनीहरूले  वडामा प्रतिनिधि छनोट देखी पछिल्लो समय चुनावी प्रचार प्रसारमा पनि कुनै पनि प्रकारको समन्वयन नभएको बताएका छन् । 

" प्रतिनिधि छनोटमा भूगोल हेरिएको छैन । ३ जना त एकै ठाउँका छन् । धरान ५ काे भूगोल ठुलो छ, तर प्रतिनिधि छनोट गर्दा भूगोलको पूर्ण बेवास्ता गरिएको छ । काँग्रेस ५ नम्बर वडा कमिटी भनेको बिच देउराली आसपास मात्र सीमित भएजस्तो देखियो "  एक नेताले भने  " हामीलाई पूर्ण बेवास्ता गरिएको छ । कुनै प्रकारको समन्वयन भएको छैन । पछिल्लो कार्यकाल प्रति पनि जनप्रतिनिधिको जस्तो व्यवहार नभएको भन्दै जनगुनासोहरू आइरहेका छन् ।"

" क्रियाशील सदस्य तथा क्षेत्रीय प्रतिनिधि पार्टी छोडेर अर्को पार्टीमा जानु भनेको नै त्यहाँ असन्तुष्टि छ भनेर बुझ्नु पर्ने हो तर अझैसम्म कुनै प्रकारको समन्वयन भएको छैन  । पार्टीले हार्दा जवाफ हामीसँग पनि मागिएला भनेर हामीले क्षेत्रीय कमिटी, जिल्ला र प्रदेशमा जानकारी गराइसकेका छौँ ।  " अर्का एक नेताले बताए ।