बिर्तामोड ।  नेकपा एमाले हल्दीबारी गाउँ कमिटीले स्थानीय तह निर्वाचन–२०७९ को प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । मंगलबार एमालेले हल्दीबारी गाउँपालिका –१ स्थित गोलधापमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । 

एमालेले शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, खानेपानी तथा सरसफाइ, स्थानीय उद्यम र रोजगारी सिर्जना, पूर्वाधार विकास, पर्यटन लगायतलाई मुख्य प्राथमिकता दिएको छ । आसन्न स्थानीय तह निर्वाचनमा हल्दीबारीमा एमालेले चुनाव जिते गाउँपालिका क्षेत्र भित्रको १ जना विद्यार्थीलाई प्रत्येक वर्ष एमबिबिएस पढाउने, सामुदायिक विद्यालयका प्रत्येक विद्यार्थीका परिवारका पाँच जनाको निःशुल्क स्वास्थ्य बिमा गराइदिने प्रतिवद्धता एमालेको छ । 

त्यस्तै जनताबाट उठेको करको पैसा गाउँपालिकाकै नागरिकहरूको स्वास्थ्यमा खर्च गर्ने, ‘एक वडा, एक पार्क’ को अवधारण अघि बढाउने, युवाहरूलाई गाउँमै सीप सिकाएर उद्यमशील बनाउने लगायतका अवधारणाहरू एमालेले अघि सारेको छ ।  

अध्यक्ष पदका उम्मेद्वार डम्बर गिरीले आसन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भए गाउँपालिकाको उपाध्यक्ष भएर गरेको कामको अनुभवबाट अझ गाउँपालिकालाई फरक तरिकाले परिवर्तन गर्ने बताएमा छन् । 

नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा हल्दीबारी निर्वाचन परिचालन समितिका संयोजक सोमनाथ पोर्तेलले गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले पाँच वर्ष भरी सरकारी गाडी चढेर केही महिना अघि मात्र सरकारी सेवा सुविधा नलिने भन्दै गाडी जिम्मा लगाएरको भन्दै आलोचना गरेका थिए । 

पोर्तेलले हल्दीबारीमा एमालेले जितेका पदाधिकारीहरूले सरकारी सेवा सुविधा नलिने समेत प्रतिवद्धता जनाएका छन् । गाउँपालिकामा एमालेको तर्फबाट डम्बर बहादुर गिरी र उपाध्यक्षमा शान्तादेवी गौतम उम्मेद्वार छन् । गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका थिए ।