धरान ५ स्थित देउराली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षका रूपमा एक कार्यकाल पुरा गरेका नेकपा एमालेको तर्फबाट धरान ५ को वडाध्यक्षका उम्मेदवार रहेका मन प्रसाद लिम्बु पछिल्लो समय देउरालीमा खानेपानीको समस्या देख्दा दुखी भएका बताउँछन् ।
उनले लथालिङ्ग अवस्थामा रहेको खानेपानी वितरणको परिवर्तन गरी व्यवस्थित रूपमा वितरण गर्ने वातावरण बनाएर छोडेकोमा पछिल्लो समयमा खानेपानीको अभाव देखिदा दुखी भएको बताएका हुन् ।
उनले भने " मैले कार्यकाल सुरु गर्दा देउराली, देवीगाँउ बासी घर खानेपानीको पाइप भए पनि पानी लिन डोको बोकेर ठिङ्गाबारी, खैरेनी, पानबारी देखी धरान १५ का विभिन्न ठाउँमा पुग्ने गर्थे तर म आइसकेपछि आफ्नै धारामा पर्याप्त मात्रमा पानी आउने वातावरण बनाए अहिले पुरानै अवस्था देहोरिएको छ । देउराली बासीले पर्याप्त मात्रामा पानी पाएका छैनन् । "
उनले स्थानीय तहमा आफ्नै जनप्रतिनिधि नभएको अवस्थामा पनि विभिन्न संघ संस्थाबाट सहयोग लिएरै भए पनि खानेपानीको उचित व्यवस्थापन गरेको बताउँदै स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि पनि खानेपानीमा समस्या देखिनु दुर्भाग्य भएको बताएका छन् ।
लिम्बुले भने " मैले त्यति बेला जनघनत्व बढ्छ र पानीको थप आवश्यकता पर्छ भनेर विभिन्न योजनाहरू अघि सारेको थिए । कम्तीमा दैनिक २ घण्टा पानी खुवाउँछु भनेको थिए । मेरो कार्यकाल समाप्त भइरहँदा मैले दैनिक २ घण्टा खानेपानी खुवाउने वाचा सहित एक वर्ष कार्यकाल थप गर्न चाहेको थिए तर दिएनन् । "
उनले देउरालीमा खानेपानी डिभिजन, उपमहानगर र प्लान नेपालको लगानीमा ७६ लाखको योजना बनाएर देउरालीमा दैनिक २ घण्टा खुवाउने योजना बनाएको भए पनि समय अभावका कारण त्यो काम गर्न नसकेकोमा बताएका हुन् ।
उनले भने " संस्थाहरू लगानी गर्न तयार थिए । ७६ लाखको योजना बनाइएको थियो । मैले एक वर्ष मात्र दिनुहोस् भने, वहाँहरूले तपाइले जति गर्नु भयो गर्नु भयो अब हामीलाई दिनुहोस् भन्नु भयो । पछि तयार भएको योजनाको पनि काम गरिएन । "
उनले अहिले धरान ५ भरी देखिएको खानेपानीको समस्यालाई स्थानीय जनप्रतिनिधिको हैसियतले समन्वयनकारी भूमिका निर्वाह गर्दै, संघ, प्रदेश नगर सरकार र दात्री संस्थाहरूको सहयोगमा जनसहभागितालाई परिचालन समाधान गर्न सकिने बताएका छन् ।
लिम्बुले भने " अहिले देउराली मात्र हैन ५ नम्बर वडा भरी खानेपानीको समस्या छ । बर्खामा त झन् हाहाकार नै हुन्छ । खानेपानीमा विगतमा वडाको जनप्रतिनिधिको भूमिका शून्य नै थियो । खानेपानीको क्षेत्रमा वडागत बजेट छैन भन्दा पनि हुन्छ । वडा आफैले खानेपानीको समस्या समाधान गर्न सक्दैन त्यो सत्य हो तर नगरमा माग्न सक्छ, प्रदेशमा माग्न सक्छ, केन्द्रमा, मन्त्रालय छ । त्यतातिर कुनै पहल भएन । "
उनले आफू वडाध्यक्ष भएर आए देउराली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा रहेर काम गरेको अनुभवलाई प्रयोग गर्दै धरान ५ मा भरी नै खानेपानीको अवस्थामा व्यापक सुधार गर्ने बताएका छन् ।
समितिले अहिले २ दिनमा एक पटक मात्र पानी वितरण गर्दै आएको छ । धरामा पानी आएको समयमा पनि सानो आउने, पर्याप्त मात्रामा नआउने भएकाले ट्याङ्करमा किनेर खानुपर्ने बाध्यता रहेको तल्लो देउरालीका खिलमान खजुम बताउँछन् । उनी भन्छन् "धारामा पानी नै चुहिँदैन किनेर खानुपर्ने अवस्था छ । हाेटल, व्यवसाय गर्ने त अवस्था नै छैन । "