भद्रपुर । झापामा २२ वर्षीय युवासहित ९१ वर्षीय बृद्धासम्म स्थानीय तहको निर्वाचनमा होमिएका छन् । २५ वर्ष मुनिका युवाहरुमध्ये ३० जनाले विभिन्न पदमा उम्मेदवारी दिँदै निर्वाचनमा होमिएका हुन् । निर्वाचनमा होमिएका मध्ये २५ वर्षमुनिका युवामा २२ वर्षीय युवा धेरै छन् ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार ७० वर्ष माथि स्थानीय तहमा विभिन्न पदमा उम्मेदवारी दिनेको सङ्ख्या २८ जना रहेको रहेको छ । १५ वटा स्थानीय तहमा उम्मेदवारी दिने २ हजार ९ सय १४ उम्मेदवारमध्ये मेचीनगरका ९१ वर्षीय वृद्ध चुनावी मैदानमा उत्रिएका छन् । उनी सबैभन्दा ज्येष्ठ नागरिक हुन् । नगरपालिकामा उनीसहित ३३६ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् । मेयर पदमा मात्रै १० जना र उपमेयर पदमा ८ जनाको उम्मेदवारी परेको छ । ९१ वर्षको उमेरमा नेत्रप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएसंगै उनको चर्चा जिल्ला भर चलेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेचीनगर–१३को वडासदस्य पदमा उनको उम्मेदवारी रहेको छ ।
९१ वर्षीय न्यौपाने सहित ७९– ७८ वर्षीय १÷१ जनाको उम्मेदवारी परेको छ घने ७६ वर्षका तीन जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै ७५ वर्षका एक जनाले उम्मेदवारी दिएका छन् भने ७४ वर्षका ज्येष्ठ नागरिक चार जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । यो सँगै ७० वर्षका ९ जना, ७१ वर्षका ४ जना र ७२ वर्षका तीन जनाले स्थानीय तहको निर्वाचनमा भाग लिन उम्मेदवारी दर्ता गराएका छन् ।
विशेष गरी ठूला दलभन्दा साना दलमा आवद्ध रहेका धेरैले ७० वर्ष भन्दामाथि उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ९१ वर्षीय न्यौपानेसंगै ७९ वर्षको उमेरमा वडा सदस्य पदमा उम्मेदवारी दिने भद्रपुर–३का मुदिलाल गणेश पनि राप्रपाका नै हुन् । उनले पनि वडा सदस्यको दावी गर्दै यो उमेरमा जनप्रतिनिधि भएर काम गर्ने भन्दै उम्मेदवारी दर्ता गराएका हुन् ।
७० वर्ष माथिका राप्रपामा आवद्ध ९ जनाले जनप्रतिनिधि भएर काम गर्ने भन्दै उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ । राप्रपाबाट उम्मेदवारी दिने मध्ये ७६ वर्षीय इन्द्रबहादुर थापाले वडाध्यक्षको दावी गरेका छन् । उनले मेचीनगर–१५मा वडाध्यक्षको दावी गरेका हुन् । अन्य पालिकामा वडा सदस्य दावी गरिएपनि राप्रपामा आवद्ध ७० वर्षभन्दा माथि उमेर समूहका थापाले वडाध्यक्षको दावी गर्दै उम्मेदवारी दिएका छन् ।
नेपाली काँङ्ग्रेसमा आवद्ध ७० वर्ष उमेर समूहमाथिका अन्य ठूला दलका उम्मेदवारमध्ये एमालेका बिजयकुमार अग्रवालले गौरीगञ्ज गाउँपालिका अध्यक्षको दावी गरेका छन् । यता नेकपा एमालेका तर्फबाट वडाध्यक्षको दावी गर्दै शिवसताक्षी–९ मा छविलाल पाठकले उम्मेदवारी दिएका छन् । उनी ७२ वर्षीय हुन् । यता मेचीनगरमा ७३ वर्षीय एक व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिँदै नगरप्रमुखको दावी गरेका छन् ।