भद्रपुर । नेकपा एमाले हल्दिवारीले स्थानीय तह निर्वाचन २०७९ को प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ‘नेकपा एमाले हल्दिवारीको दृष्टि कृषि र पर्यटन मार्फत समृद्धि’ प्रतिबद्धता पत्रमा उल्लेख छ ।

शुक्रबार  बिहान निर्वाचन परिचालन कमिटीको आयोजनामा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । परिचालन कमिटीका संयोजक सोमनाथ पोर्तेल, अध्यक्षका उम्मेदवार डम्बर बहादुर गिरी, उपाध्यक्षका उम्मेदवार शान्तादेवी गौतम, १ नम्बरका वडाध्यक्षका उम्मेदवार त्रिलोचन सापकोटा, इन्चार्ज नरेश चुँडाल, एमाले नेता नारायण पोखरेल, मोहन रेग्मी लगायतले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए ।

नेकपा एमालेले सार्वजनिक गरेको प्रतिविद्धतामा आधारभूत र माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य, कृषि तथा पशुपालन, खानेपानी तथा सरसफाइ, नदी नियन्त्रण, स्थानीय उद्यम र रोजगार सिर्जना, स्थानीय पूर्वाधार विकास, स्थानीय आयको सबलीकरण, सूचना प्रविधि र सार्वजनिक सेवा, विकास प्रक्रियामा विभिन्न सङ्घसंस्थाको सहकार्य, विपद् व्यवस्थापन र सामाजिक सुरक्षा, पर्यटन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, कला, संस्कृति, मेलमिलाप न्याय र मानवअधिकार मुख्य प्राथमिकतामा रहेका छ ।

गाउँपालिकाका अध्यक्षका उम्मेदवार गिरीले विद्यालयमा बिमा कार्यक्रम लागु गरिने बताएका छन् । उनका अनुसार सो कार्यक्रम अन्तर्गत हरेक विद्यार्थीको परिवारको स्वास्थ्य बिमा गरिनेछ ।

कक्षा १२ सम्म पूर्ण निःशुल्क शिक्षा, उत्कृष्ट अङ्क ल्याएर एसइई पास गर्ने एक–एक जना विद्यार्थीलाई कृषि र पशुपक्षी विधामा आवसहित छात्रवृत्ति प्रदान गरिने गिरीले बताए । यस्तै, चिकित्सा शिक्षा आयोग एमबिबिएस प्रवेश परीक्षा उत्तीर्ण गरेका गाउँपालिकाभित्रका एक विद्यार्थीलाई एमबिबिएस अध्ययनमा छात्रवृत्ति उपलब्ध गराइने बताइएको छ ।

यस्तै, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न अभिभावकसँग वडाध्यक्ष, शिक्षकसँग उपाध्यक्ष र विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने प्रतिविद्धतामा उल्लेख गरिएको छ ।

प्रतिबद्धता पत्रमा म स्वास्थ्य मेरो गाउँ स्वास्थ्य, नागरिकले तिरेको कर, नागरिककै स्वास्थ्यको भर, खुसी किसान, हल्दिवारीको सान, हल्दिवारीको बाचा झापाभरि माछा, ‘३ म’ माछा, मरीच र मह, आहा हल्दिवारी चिया, एक वडा एक पार्क, हात्तीका लागि आहार, विपद्को सारथि गाउँपालिका, हल्दिवारीका महिला, विकासमा पहिला लगायतका कार्यक्रम समावेश गरिएको छ ।

अध्यक्षका उम्मेदवार गिरीले हात्ती आहार कार्यक्रम अन्तर्गत हात्ती हिँड्ने मार्गको पहिचान गरेर केरा र किम्बु खेती गरिने बताए । हल्दिवारी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष समेत रहेका गिरीले बितेको पाँच वर्ष एमालेले विकासको नेतृत्व गरेको र अध्यक्षले जनप्रतिनिधिको मात्रै नेतृत्व गरेको बताएका छन् । उनले बैशाख ३० गतेबाट हल्दिवारीमा रहेको पञ्चायतको अवशेष अन्त्य गरिने घोषणा गरेका छन् ।

यस्तै, परिचालन कमिटीका संयोजक सोमनाथ पोर्तेलले स्थानीय आवश्यकतालाई पहिचान गरेर प्रतिबद्धता पत्र तयार गरिएको बताए । उनले एमालेबाट निर्वाचित जनप्रतिनिधि शासक नभई , सेवक भएर काम गर्ने बताएका छन् । 

उनले एमालेले अन्य पार्टी जस्तो ज्ञानेन्द्रसँग सहयोग लिएर चुनावमा सहभागी नभएको बताए । एमाले आफ्नो गच्छेअनुसार आफ्नै पार्टी सदस्यसँग सहयोग सङ्कलन गरेर निर्वाचनमा सहभागी भएको उनको भनाई थियो ।