नेपालमा वि.सं. १९९० सालअगाडि माध्यमिक तहको कक्षा १० को एस.एल.सी.परीक्षा दिन सीमावर्ती छिमेकी मुलुक भारतको परीक्षा केन्द्रहरूमा नेपाली विद्यार्थीहरू जाने गर्दथे, जुन बेला कक्षा १० सम्मको अध्ययन उत्तीर्ण गर्नेलाई मेट्रिक पास भन्ने गरिन्थ्यो ।
१९९० सालमा नेपालमा एस.एल.सी.परीक्षा बोर्ड गठन नभएपछि काठमाडौंको टुँडिखेलमा पहिलो पटक एसएलसी परीक्षा नेपालमा सञ्चालन भएको पाइन्छ । वि.सं.१९९० देखि २०७५ सालसम्म आउँदा ८५ औं संस्करणको माध्यमिक तहको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको पाइन्छ । शैक्षिक सत्र २०७६ र २०७७ को एस.ई.ई. माध्यामिक तहको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्न सकेन । विद्यालयहरूले लिएको आन्तरिक परीक्षाकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन गरी कक्षा उन्नति गरिएको थियो ।
अहिले शैक्षिक सत्र २०७८ को ८८ औं संस्करणको एसईई माध्यमिक तहको परीक्षा सञ्चालन भएको छ । पहिला एसईई परीक्षा सञ्चालन निकै कडाइका साथ हुने गर्दथ्यो । त्यहाँ चिट चोर्ने र चोराउने कार्य हुनै सक्दैनथ्यो । पछि एस.एल.सी.परीक्षामा चिट चोर्ने र चिट चोराउन अभिभावकहरूसमेत लालायित हुने गर्दथे । तराईका कतिपय जिल्लाहरूमा त चिट चोर्न र चोराउन पाउनु पर्छ भनेर नारा जुलुस नै गर्न थाले । कतिपय स्थानीय तह र परीक्षा केन्द्रहरूमा त चिट चोराउने गिरोह नै सक्रिय रहन्थ्यो ।
यसरी चिट चोराउने गिरोहले परीक्षामा सामेल विद्यार्थीका अभिभावकहरूबाट रकम असुल्ने गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तह परीक्षाको नतिजा अक्षराङ्कन पद्दतिबाट प्रकाशन गर्न थालेपछि विद्यार्थीहरू जुन श्रेणीमा भए पनि उत्तीर्ण भइहालिन्छ भनेर केही समय गहिरो अध्ययन गर्न छाडेका पनि पाइन्छ । अहिले फेरि राम्रो श्रेणीमा उत्तीर्ण गर्नुपर्ने रहेछ भन्ने कुरा बुझेर अध्ययन गर्न थालेको पाइन्छ । अहिले विद्यार्थीहरूले चिट चोर्न छाडेको पाइन्छ ।
अभिभावकहरू पनि चिट चोर्ने चोराउने कुरा गर्न छाडेको पाइन्छ । अहिले २०७८ को एस.ई.ई.परीक्षा सकिनै लाग्दा कुनै परीक्षा केन्द्रमा विद्यार्थीहरूले चिट ल्याएका पनि छैनन् । विद्यार्थीका अभिभावक र आफन्तजनहरू पनि परीक्षा केन्द्र आसपासमा चिट चोराउन आउन छाडेका छन् । माध्यमिक तहको कक्षा १० को परीक्षा उत्तीर्ण गरेर मात्र खासै मान्यता नहुने, माध्यमिक तहको शिक्षाको मान्यता प्राप्त गर्न कक्षा १२ उत्तीर्ण गर्नुपर्छ भन्ने कारणबाट पनि कक्षा १० को परीक्षामा चिट चोर्ने चोराउने क्रम घटेको मान्न सकिन्छ । यो अभिभावक र विद्यार्थीहरूमा विकसित हुँदै गएको चेतनाको कारण पनि हो ।
अहिले सम्पन्न भएको माध्यमिक परीक्षामा सामेल विद्यार्थीहरूले तोकिएकै समयसम्म परीक्षा केन्द्रको कक्षामा रहेर परीक्षा लेख्ने गरेका छन् । विषयगत हिसाबले सरकारी सामुदायिक विद्यालयका विद्यार्थीहरू गणित विषयमा कमजोर रहेको र निजी विद्यालयका विद्यार्थीहरू नेपाली विषयमा कमजोर रहेको पाइन्छ । आगामी वर्षमा सम्बन्धित विद्यालयहरूले यसतर्फ सोच्नुपर्ने देखिन्छ । १९९० सालमा सञ्चालन भएको एस.एल.सी.परीक्षामा महिनौं हिँडेर काठमाडौंको परीक्षा केन्द्र पुग्नु पर्दथ्यो । कुनै विद्यालय पोसाक थिएन, बस्ने डेस्क, बेन्च थिएनन् । पातला कपडाका दौरा, कमिज, सुरुवाल र टोपीमा परीक्षार्थीहरू परीक्षामा सामेल भएका थिए । धेरै परीक्षार्थीहरूको खुट्टामा जुत्ता थिएनन् । दलित र महिलाको सहभागिता नै थिएन ।
त्यो बेला एस.एल.सी. परीक्षामा सामेल हुनेहरू प्रायः जीवित छैनन् पनि होला । अहिले घरपायक नै परीक्षा केन्द्र छ । केही सरकारी र निजी विद्यालयका परीक्षार्थीहरू स्कुल बसमा नै परीक्षा केन्द्रसम्म आउँछन् । सबै विद्यालयको पोसाकमा परीक्षार्थीहरू आउँछन् । पूर्व, पश्चिम, हिमाल, तराई, पहाड सबैतिर धनी, गरिब, दलित महिला सबैको उत्साहजनक सहभागिता भएको छ ।
माध्यमिक तहका परीक्षा केन्द्रहरू प्रायःजसो सरकारी सामुदायिक विद्यालयमा हुने हुँदा कतिपय निजी विद्यालयका अभिभावकहरू आप्mना छोराछोरीको परीक्षा केन्द्र सरकारी विद्यालयमा प¥यो भन्ने बित्तिकै कतिपय अभिभावकहरू त त्यो विद्यालयमा बस्ने डेस्क बेन्च छन् कि छैनन् भनेर सोध्न आउने गरेको पनि पाइन्छ । कहिले पनि सरकारी सामुदायिक विद्यालयहरूमा नछिरेका अभिभावक वा व्यक्तिहरूको दिमागमा सरकारी सामुदायिक विद्यालयहरू धुले र कङ्गाल छन् भन्ने छाप मस्तिष्कबाट नमेटिएको पनि पाइन्छ ।