धनकुटा । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धनकुटामा पाँच दलीय गठबन्धन र एमालेबीच निक्कै कडा प्रतिस्पर्धा देखिएको छ ।

वि.सं.२०७४ सालको स्थानीय निर्वाचनमा क्लिन स्वीप गरेको नेकपा (एमाले)लाई पुरानो विरासत जोगाउन र पाँच दलीय गठबन्धनलाई एमालेको लालकिल्ला भत्काउन निक्कै ठूलो सकस परेको छ ।

एक्ला–एक्लै चुनाव लड्दा पालिका जित्न नसकिने र पहिले जितेको वडासमेत गुम्ने खतरा बढेपछि गठबन्धनमा उत्रिएका काङ्ग्रेस, समाजवादी, जसपा र माओवादीले गठबन्धनबाटै चुनाव लड्ने तयारीको साथ अघि बढिरहेका छन् ।

यता एमालेले पनि उम्मेदवार मनोनयनसँगै आफ्नो पुरानो लालकिल्ला जोगाउन टोल–टोलमा व्यापक चुनावी अभियानमा जुटेको छ । एमालेले पुरानो जनाधार र स्थानीय सरकारले गरेका कामसँगै सङ्घीय र प्रदेश सांसद्हरूले गरेका विकासका कार्यक्रमहरूले चुनाव जित्न सकिने आँकलन गर्दै आएको छ ।

धनकुटा नगरपालिकामा गएको निर्वाचनमा एमालेका मेयर पदका उम्मेदवार चिन्तन तामाङले ४ हजार ९ सय ३३ मत प्राप्त गरी विजयी भएका थिए । काङ्ग्रेसले ४ हजार ८ सय १९ मत, माओवादीले २ हजार, ५ सय ३७ र राप्रपाले २ सय ८४ मत प्राप्त गरेका थिए । पहिलो निर्वाचनमा धनकुटामा जसपाले कांग्रेससँग समिकरण गरेको थियो ।

धनकुटा नगरपालिकाको तत्कालिन मतको तुलना गर्दा गठबन्धनलाई सहज देखिन्छ । तर, पछिल्लो पटकमा माओवादीबाट विजयी भएका धनकुटा–९ का वडाध्यक्ष सन्दीप रायमाझी (मनोज) सहित करिब १ हजार जना माओवादीका मतदाता र कार्यकर्ता एमालेमा आएका छन् । त्यस्तै काङ्ग्रेसबाट समेत २ सयभन्दा बढी एमालेमा आएका छन् । यीबाहेक धनकुटाका स्वतन्त्र मतसमेत यसपटक मालेसँग हुने भएकाले जित्न कठिन नभएको एमाले धनकुटा नगरका नेता नगेन्द्र पोख्रेलको भनाइ रहेको छ ।

धनकुटा नगरपालिकामा आठपहरिया, तामाङ, नेवार, क्षेत्री, बाहुन गरी चार जातका मतदाताको बाहुल्यता रहेको छ । जातीय आधारमा पनि १५ देखि २० प्रतिशत मत तल–माथि हुने भएकाले राजनीतिक दलका उम्मेदवारलाई हारजितको टुङ्गो लगाउने सम्भावनासमेत रहेको छ । गत निर्वाचनमा काङ्ग्रेसले दिनेश आठपहरिया र एमालेले चिन्तन तामाङलाई मेयरमा उम्मेदवार बनाएकोमा यस पटक पनि दुवै उम्मेदवार दोहोरिएका छन् । दुवै उम्मेदवारले आ–आफ्नो जातीय बाहुल्यता भएको वडाबाट ७० देखि ८० प्रतिशत मत प्राप्त गरेका थिए । धनकुटा नगरमा आठपहरिया जातीको बहुल्यता रहेकाले काङ्ग्रेस उम्मेदवारले धेरै मत पाएका थिए । त्यही भएर थोरै मतान्तरमा मात्रै एमालेका चिन्तन तामाङले जितेका थिए ।

तर, उपमेयरमा एमालेकी शकुन्तला बस्नेतले भने भारी मतअन्तरले जितेकी थिइन् । उपमेयर बस्नेतले ५ हजार ४ सय ६४ मत प्राप्त गरी विजयी हुँदा काङ्ग्रेसकी रेणु श्रेष्ठले ३ हजार ६ सय २३ मत प्राप्त गरेकी थिइन् । एमालेबाट मात्रै क्षेत्री, बाहुन समुदायबाट उम्मेदवार भएकाले उपमेयरमा एमालेले भारी मत पाएको थियो । यही अवस्था यस पटकको निर्वाचनमा समेत एमालेकी उपमेयर भीमा खनालले पनि यसरी नै मत ल्याउने आँकलन गरिएको छ । त्यसैले हारजितको अवस्था भने जसरी नहुने स्थानीय नेता प्रेम सुब्बाको भनाइ रहेको छ ।

अघिल्लो निर्वाचनयता एमालेबाट विजयी भएका मेयर चिन्तन तामाङले सबैभन्दा बढी आठपहरिया र क्षेत्री, बाहुन बाहुल्य वडामा काम गरेका छन् । फेरि पनि उनी नै एमालेको उम्मेदवार बनेकाले व्यक्तिगत ५ सयदेखि १ हजार मत थपिने अवस्थासमेत रहेको आँकलन छ । धनकुटा नगरपालिकामा गठबन्धनबाट काङ्ग्रेस र माओवादीले मेयर तथा उपमेयरमा मनोनयन दर्ता गराएका छन् । दिनेश राईले टिकट पाएपछि जातीय मत र गठबन्धनको मतले बलियो उम्मेदवारको रूपमा देखिएका छन् ।

गठबन्धनले सहजै जित्न सकिने पालिकाको सूचीमा धनकुटा नगरपालिकालाई राखेको नेपाली काङ्ग्रेस धनकुटाका प्रचार विभाग प्रमुख खगेन्द्र घिमिरेले बताएका छन् । यसपटक काङ्ग्रेसको सङ्गठन विस्तार भएको भन्दा पनि गठबन्धनले गर्दा केही मात्रामा मतदाता बढ्ने अनुमान छ । एमाले फुटेर नेकपा (एस) भएकाले मत केही मात्रामा घट्ने हो कि भन्ने दाबी गठबन्धनको छ । माओवादीको समेत मत थपिने भएकाले धनकुटा नगरपालिकामा काङ्ग्रेसको उम्मेदवारले सजिलै जित्न सक्ने दाबी घिमिरेको छ । तर, एमालेले ५ वर्षसम्म स्थानीय सरकार सञ्चालन गरेर जनताको सेवा गरेकाले जित चिन्तन तामाङकै हुने एमाले नेताहरूको दाबी छ ।

धनकुटा नगरपालिकामा २२ हजार ९ सय ६४ मतदाता रहेका छन् । ७० प्रतिशत मतदान भए करिब १६ हजार मतदान हुनेछ । यो अवस्थामा एमाले र गठबन्धनलाई चुनाव जित्न मतदाता बढाउनु पर्ने देखिन्छ । राप्रपा, अन्य साना दल र बदर मतसहित एक हजार घटाउँदा पनि जित्नको लागि कम्तिमा ७ हजार ५ सय मत ल्याउनु पर्ने अवस्था रहेको छ ।