१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेखमा चालु आर्थिक वर्षको पुससम्म ७ सय ५१ हेक्टर क्षेत्रफलमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको देखिन्छ । यसैगरी प्रहरीले बर्सेनि पूर्वका विभिन्न जिल्लामा हुने गाँजाखेती नष्ट गर्दै आएको छ । प्रहरीले पटक–पटक गाँजा खेतीलाई निरुत्साहित गर्दै आएको र गाँजा ओसार–पसार नियन्त्रण गर्नमा कडाइका साथ जनशक्ति पनि परिचालन गरेको छ । लाखौं मूल्यका बोराका बोरा गाँजासहित गिरोहलाई पनि पक्राउ गरेर कारबाही पनि जारी राखेको छ । तर, किन हुँदैन निरुत्साहित गाँजाको व्यापार गर्ने गिरोह ? कसको इशारामा गाँजा खेती चलिरहेको छ, मुलुकका विभिन्न जिल्लामा ? नेपालको कानूनअनुसार गाँजा खेती, उत्पादन र ओसार–पसार प्रतिबन्धित छ । प्रतिबन्धित भएकैले खेत–खेतमै पुगेर अभियानै चलाएर प्रहरीले गाँजा फाँडेको समाचार आउने गरेका छन् । यति हुँदा पनि न उत्पादन रोकिएको छ, न त ओसार–पसार नै । पूर्वमा गाँजा खेती, उत्पादन र ओसार–पसार गर्ने गिरोहले सुनसरी र मोरङलाई भारतीय सीमापार गर्ने ट्रान्जिट पोइन्ट बनाएका छन् । गत शुक्रबार मात्र प्रदेश १–०२००१ ख ८६१४ नम्बरको मिनी ट्रकमा लुकाएर भारततर्फ तस्करी हुन लागेको अवस्थामा सशस्त्र प्रहरी बल सुनसरीबाट खटिएको टोलीले भोक्राहानरसिंह गाउँपालिका क्षेत्रबाट १ सय ४८ केजी गाँजा (६ बोरा) सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गाँजा बरामद र गिरोहलाई नियन्त्रण गरेको थाहा पाएपछि को. ४० प २२११ नम्बरको मोटरसाइकलमा पाँचलाख रुपैयाँसहित मिलाउन भन्दै आएका दुईजनालाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि गत चैत १ मा उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित सप्तकोसी नदीमा ट्युवभित्र लुकाएर चेफामा राखी जलमार्ग हुँदै ल्याउँदै गरेको ४ सय केजी गाँजा पनि प्रहरीले बरामद गरेको थियो ।
पछिल्लो समय गाँजा तस्करहरूले कोसी नदीको जलमार्गलाई सुरक्षित मार्ग बनाएको सङ्केत यसले दिन्छ । केही दिनअगाडि नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ मा को.१ च ५३१८ नम्बरको पिकअप भेनभित्र लुकाएर राखेको अवस्थामा १ सय २० किलो गाँजा प्रहरीले बरामद गरेको थियो । त्यो गाँजाको बोरालाई भारत निर्यात गर्न लागिएको अदुवाको बोरामाझ राखिएको थियो । भारतसँग जोडिएका सुनसरी र मोरङका सीमावर्ती क्षेत्रलाई गाँजा तस्करहरूले प्रयोग गरिरहेका छन् । यो गाँजा तस्करी र प्रहरीबीचको लुकामारीलाई सधैंको लागि समाप्त गर्न गाँजा खेती गर्ने क्षेत्र पहिचान गरेर एकसाथ नष्ट गर्नुको विकल्प छैन । चर्चामा आउन वा समाचारकै लागि कहिलेकाहीँ प्रहरीले पूर्वका विभिन्न जिल्लामा गाँजा खेती नष्ट गरेको तस्बिर र सूचना केही सञ्चारमाध्यममा दिने कामले मात्र प्रहरीको कर्तव्य पूरा हुँदैन । सशस्त्रले प्रदेश १ भरिमा चालु आर्थिक वर्षको वैशाख १७ गतेसम्म १ हजार १ सय ५८ केजी गाँजा बरामद गरेको छ, जसमा सुनसरीबाट ४ सय २८ केजी बरामद गरेको छ भने मोरङबाट १२ केजी गाँजा बरामद गरिएको छ ।
प्रहरीलाई थाहा छ, पूर्वका कुनकुन जिल्लाका कहाँ कहाँ सबैभन्दा बढी गाँजा खेती हुन्छ भनेर । साँच्चै नै गाँजा खेती, उत्पादन र ओसार–पसार गर्ने गिरोहलाई निस्तेज, निष्क्रिय र निरुत्साहित बनाउने हो भने प्रहरीले सीमामा गाँजा बरामद र दुई–चारजनालाई पक्राउ गरी कारबाही गरेर मात्र हुँदैन । तस्करी गर्ने गिरोहको जरादेखि नै उखेल्न गाँजा उखेलेर मात्र हुँदैन, प्रत्येक स्थानीय तहमा प्रहरी सक्रिय हुनुपर्छ ।