आसन्न निर्वाचनका लागि अहिले जे भइरहेको छ, त्यो फगत् सत्ताका लागि मात्रै हो । यो बुझ्न हामी मतदातालाई कति वर्ष लाग्ने हो ? त्यो प्रश्नको जवाफ सजिलो छैन । आज हाम्रा अगाडि जति पनि अनुहारहरू उम्मेदवार बनेर घरदैलो गरिरहेका छन्, उनीहरू खालि सत्तामा पुग्नका लागि गरिरहेको ‘नाटक’ मात्रै हो । यो नाटकमा को कति सफल हुन्छ भन्ने निर्धारण मात्रै वैशाख ३० ले गर्दै छ । यो नाटकमा मतदाता भनेका दर्शक हुन्, जसले रङ्गमञ्चमा प्रस्तुत भइरहेको दृश्यपान गरिरहेको छ । भनिन्छ, लोकतन्त्रमा जनता सर्वोपरि हुन् । तर, हाम्रोजस्तो मुलुकमा जनता जहिले कुनै न कुनै दलको कार्यकर्ता तथा ‘आशे’ भएर बसेका छन् । जसले गर्दा असल शासन गर्ने, विकासको गति दिने, देशलाई समृद्धितर्फ डो¥याउने नेता तथा पार्टीको अभाव जहिल्यै रहन्छ । ७० वर्षे इतिहासमा यही भइरहेको छ । देशमा २००७ सालमा प्रजातन्त्र प्राप्तिपछि भएका आवधिक निर्वाचनहरूलाई मध्यनजर गर्ने हो भने पार्टी तथा नेतामात्रै समृद्ध र विकसित भएका नहुन् । जनता सधैँ उस्तै पीडाबाट गुज्रिरहेको हुन्छ । कहिल्यै जनतामैत्री शासन आउन सकेको छैन अर्थात् देशलाई समृद्ध बनाउने राजनीतिक दल तथा नेता जन्मिन सकेका छैनन् । यो कुरा बुझ्नका लागि हामीलाई अझै कति वर्ष लाग्ने हो, त्यसको लेखाजोखा सजिलो छैन ।
मतदाता हरेक पटक सोच्छन्, अब त देश विकास हुन्छ र समृद्धितर्फ अगाडि बढ्छ । तर, यस्तो परिकल्पना गर्नु नेपाली मतदातालाई छुट छैन जस्तै लाग्छ । करिब २० वर्षपछिको स्थानीय तहको रिक्ततापश्चात् २०७४ को निर्वाचनमा चाहिँ केही प्रगति होला भन्ने सोचेका थियौं । नीति, विचार र सिद्धान्त मिल्ने दलहरूबीच समीकरण भएको थियो । देश अब चाहिँ स्थिरतातर्फ लम्कियो भन्ने भान भएको थियो । तर, नेकपाको सरकारमा बसेका प्रधानमन्त्रीको सनकमा देशमा अस्थिरतातर्फ अगाडि बढ्यो । देशमा सर्वोच्च अदालतले प्रधानमन्त्री बनाइदिनुपर्ने अवस्था सिर्जना भयो । लोकतन्त्रमा योभन्दा भद्दा मजाक के हुन सक्ला ? जनताद्वारा जनताका लागि जनताले गर्ने शासनको अभ्यासमाथि यसरी कुठाराघात भयो कि हामी फेरि पुरानै लयमा फर्कियौं । मतदाताले के पाए ? मतदाताले चाहेको सुशासन, स्थिरता, जवाफदेहिता खोइ ? त्यसले यसपटक हरेक मतदाताले आफूले मत हाल्दै गर्दा ती नेता र ती राजनीतिक दलहरूलाई राम्ररी अध्ययन गर्न जरुरी छ । लोकतन्त्रमा जनता सर्वोपरि हुन् भन्ने वाक्यलाई प्रमाणित गर्ने बेला आएको छ । यो बेला सत्तामा पुग्न मतदातालाई भ¥याङ बनाउने वातावरण सिर्जना गरिनु हुँदैन । पाँच वर्षमा जे–जे कुरा कबोल गरेका थिए, त्यो पूरा गरे÷गरेनन् प्रश्न गर्ने बेला भएको छ । प्रश्नको सुरुवात तपाईंबाट गर्नुस् । अनि मात्रै लोकतन्त्र साँचो अर्थमा लोकतन्त्र हुन्छ ।
आज राजनीतिक दलहरू जे जति योजना, वाचा र प्रतिबद्धता लिएर तपाईंको घरघरमा आउँदैछन्, उनीहरूलाई सोध्नुस्, केका लागि हामीले तपाईंहरूलाई भोट दिने ? ७० वर्षे शासनकालमा तिनीहरू नै हुन्, जसले आलोपालो सरकार चलाउँदै आए । आजको अवस्थामा उनीहरू कहाँ थिए र आज कहाँ छन् । हिजो चप्पल लगाउने हैसियत नभएका नेताहरूसँग आज कहाँबाट करोडौंको घर, गाडीहरू आएका छन् । उनीहरूका छोराछोरीहरू अमेरिका, क्यानडा, बेलायत पुग्ने हैसियत कसरी बनाएका छन्, सोध्नुस् । यो प्रश्न गर्ने बेला हो । प्रश्नको उत्तर दिन नसक्ने नेता तथा राजनीतिक दलका उम्मेदवारलाई ‘नो भोट’ भन्ने हैसियत बनाउनुस् । आज तपाईंको मतले जितेर गएका ती उम्मेदवारहरूले आफ्ना प्रतिबद्धता तथा वाचाहरू पूरा गर्न सक्दैनन् भने कसरी उनीहरूले देश विकास र समृद्धि गर्न सक्छन् । तपाईंको एक मत पनि लोकतन्त्रका लागि सर्वोपरि हुन्छ । सर्वोपरि मतलाई जथाभावी खर्च नगर्नुस् । ता कि उम्मेदवारले जित्ने बित्तिकै सोच्नुपर्ने दिन आओस् । तपाईंको एक मत पनि निर्णायक हुन्छ । मतलाई ठीक ठाउँमा प्रयोग गर्नुभयो भने मात्रै तपाई र तपाईंको सन्ततिले सुखको सास फेर्न पाउनेछन् ।