धनकुटा । जनता समावादी पार्टी धनकुटाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रमुख पदहरूमा संयुक्त गठबन्धनका उम्मेदवारहरूलाई मात्र सघाउने जनाएको छ ।
पार्टी अध्यक्ष बलबहादुर राईले संयुक्त गठबन्धनलाई धनकुटामा निरन्तरता दिइरहेको सन्दर्भमा आफ्नो पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा नयाँ रणनीतिको साथ चुनाव लड्ने तयारी गरिरहेको जनाएका छन् । आफ्नो पार्टीले प्रमुख पदहरूमा गठबन्धनलाई सहयोग गर्ने र वडाहरूमा मैत्रीपूर्ण ढङ्गले आफ्नै पार्टीको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिइरहेको अध्यक्ष राईले बताएका छन् ।
उनले जिल्लाको सातवटा स्थानीय तहमध्ये २ गाउँपालिकामा गठबन्धनबाट उपाध्यक्ष पदमा जसपाले चुनाव लडिरहेको बताएका छन् । जसमध्ये गठबन्धनबाट चौबिसे गाउँपालिकामा अध्यक्षमा माओवादीका दलबहादुर मगर र उपाध्यक्षमा जसपाका दिवा चेम्जोङले निर्वाचनमा भाग लिइरहेका छन् । त्यसैगरी साँगुरीगढी गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा नेपाली काङ्ग्रेसका जितेन्द्र रुम्दाली र उपाध्यक्ष पदमा जसपाबाट लीलाराज लावती चुनावी प्रतिस्पर्धामा उत्रिएको अध्यक्ष राईले बताए ।
पाख्रीबास, धनकुटा, महालक्ष्मी नगरपालिका, सहिदभूमि र छथरजोरपाटी गाउँपालिकामा भने गठबन्धनलाई प्रमुख पदहरूमा भद्र सहमतिको साथ सहयोग गरेर जाने रणनीति पार्टीले अघि सारेको राईको भनाइ छ । ‘संयुक्त गठबन्धनको सन्दर्भमा केन्द्रबाट आएको परिपत्र र निर्देशन प्रमुख पदहरूमा पालना गरिएको छ’ अध्यक्ष राईले थपे, ‘वडा तहमा भने त्यो सहमति कार्यान्वयन जसपाको हकमा धनकुटामा हुन सक्दैन ।’
धनकुटाका ७ स्थानीय तहको वडा तहमा उम्मेदवारी दिने सन्दर्भमा गठबन्धनका कुनै दलले इमान्दारिता नदेखाएकाले पनि आफ्नो पार्टीले सङ्गठनको अस्तित्वको लागि एकलौटी निर्वाचनमा भाग लिनु पर्ने अवस्था आएको राईको जिकिर छ । उनले पटक–पटक उम्मेदवारी फिर्ता गर्न गराउन पार्टीका शीर्षनेताहरूबाट र गठबन्धनबाट दबाव आयो । तर, आम पार्टी कार्यकर्ता र शुभचिन्तकहरूलाई पार्टीको चुनाव चिह्न चिनाउनको लागि वडा तहमा चुनावी मैदानमा जानुको विकल्प नरहेको उनको भनाइ छ ।
गठबन्धनको सहमति र सहकार्यलाई विश्वास गरेर अघि बढ्ने क्रममा धनकुटामा आफ्नो पार्टीको जनाधार र सङ्गठन भएर पनि जसपाले भनेजस्तो वडा तहमा उम्मेदवारी दिनु नपाएको अध्यक्ष राईको गुनासो छ । जिल्लाका ६० वटा वडामध्ये २ दर्जनको हाराहारीमा वडामा जसपाले वडाध्यक्ष पदमा उम्मेदवारी दिएको थियो । उम्मेदवारी परेकामध्ये अहिले ९ वटा वडामा मात्र एकलौटी उम्मेदवारी परेको छ । बाँकी वडामा गठबन्धन र शीर्षनेताहरूको आग्रहमा उम्मेदवारी मनोनयन फिर्ता गरिएको छ ।
चुनाव लड्नको लागि सहिदभूमि गा.पा.को वडाध्यक्षहरूमा वडा नं.३ मा निशान राई, वडा नं.४ मा टङ्क राई र वडा नं.१ मा छत्र राईले पार्टीको तर्फबाट एकलौटी वडा तहको सबै पदहरूमा निर्वाचनमा भाग लिँदैछन् । त्यसैगरी साँगुरीगढी गाउँपालिकाको वडाध्यक्षहरूमा वडा नं.४ मा खड्ग आङ्ला, वडा नं.७ मा विजय राई र वडा नं.८ मा पुष्पराज राईले एकलौटी वडा तहको सबै पदहरूमा निर्वाचनमा भाग लिँदै छन् ।
त्यसैगरी धनकुटा नगरपालिकाको वडा नं.३ मा पनि जसपाका जिल्ला उपाध्यक्ष विकास घिमिरेले एकलौटी ढङ्गले नेपाली काङ्ग्रेसको चुनाव चिह्न रुखबाट उम्मेदवारी मनोनयन दर्ता गरेपछि धनकुटा नगर कमिटीका उपाध्यक्ष जितेन्द्र आठपहरियाले एकलौटी वडाध्यक्ष पदमा जसपाको छाता चिह्नमा उम्मेदवारी दिएका छन् । गठबन्धनको सवालमा आपसी तालमेल तथा समन्वयकारी भूमिका पार्टी सङ्गठनभित्र र बाहिर नहुँदा एउटै पार्टीका दुई उम्मेदवारले एउटै वडामा छुट्टाछुट्टै चुनाव चिह्नमा अध्यक्ष पदमा चुनाव लड्दै छन् ।
जसपाबाट उम्मेदवारी दिएका जितेन्द्र राईले आफूलाई उम्मेदवारी फिर्ता गर्न दबाव् आए पनि मनोनयन फिर्ता नलिएको बताए । काङ्ग्रेस पार्टीको चुनाव चिह्न रुख लिएर अध्यक्ष पदका उम्मेदवार भएका विकास घिमिरेले आफूलाई पार्टीभित्रैबाट असहयोग भएको गुनासो गरेका छन् । उनले अघिल्लो स्थानीय तहको निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरमको चुनाव चिह्न पुल्ठोबाट अध्यक्षमा जित हात पारेका थिए ।
उता महालक्ष्मी नगरपालिकाको वडा नं.८ मा पनि जसपाका मनिकुमार लुङ्गेलीको नेतृत्वमा वडाध्यक्षसहित सम्पूर्ण पदमा एकलौटी निर्वाचनमा भाग लिइरहेका छन् । महालक्ष्मी नगरपालिकाको वडा नं.७ मा भने १ जना वडासदस्य र वडा नं.१ मा एकजना महिला सदस्य गठबन्धनबाट निर्वाचनमा सहभागी भएको, वडा नं.८ का वडाध्यक्ष पदका उम्मेदवार लुङ्गेलीले बताएका छन् ।
चौबिसे गा.पा.को वडाध्यक्षहरू वडा नं.८ मा जमिनध्वोज चेम्जोङ र वडा नं.६ मा आशिष चेम्जोङले उम्मेदवारी दिएका छन् । दुवै वडामा गठबन्धनबाट उम्मेदवारी दिइएको छ । २ जना वडासदस्यमा पनि उम्मेदवारी परेको उपाध्यक्ष पदका उम्मेदवार दिवा चेम्जोङले बताएका छन् । उता छथरजोरपाटी गाउँपालिकामा जसपाको तर्फबाट कुनै पनि पदमा उम्मेदवारी परेको छैन ।
पाख्रीबास नगरपालिकाको वडा नं.१ मा हरि बुढाथोकीले जसपाको छाता चिह्नबाट वडाध्यक्षसहित वडाको सबै पदमा उम्मेदवारी दिएका छन् । त्यसैगरी वडा नं.३ मा जितेन्द्र माङपाङ राई र वडा नं.१० मा गजेन्द्र राना मगरले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
जिल्लाभर नेकपा (एमाले)ले मात्र धनकुटामा एकलौटी उम्मेदवारी दिएको छ भने सत्ता साझेदार गठबन्धनमा कतै साझा उम्मेदवारी परेको छ भने कतै एकल उम्मेदवारी पनि परेको थियो ।
स्थानीय तह भागबण्डामा कुरो नमिलेपछि गठबन्धनमा आबद्ध दलहरूमध्ये जसपा धनकुटाको मेयरमा गोपाल लिम्बू र उपमेयरमा सरकुमारी आठपहरियाले उम्मेदवारी दिएका थिए । तर, उनीहरू दुवैले उम्मेदवारी मनोनयन फिर्ता लिएका छन् । धनकुटा नगरपालिका वडा नं.८ मा जसपाको तर्फबाट वडाध्यक्षको उम्मेदवारी दिएकी सोनिका आठपहरियाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् ।