विजयपुर । निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन नगर्दा यसपटक बदर मत धेरै हुने सम्भावना बढेको छ ।
स्थानीय तहको निर्वाचन आउन जम्मा १० दिन मात्र भए पनि मतदाता शिक्षा सञ्चालन नगर्दा धेरै मतदाता अन्यौलमा नै रहेका छन् । निर्वाचन आयोगले विगतका निर्वाचनमा भने मतदाता शिक्षा सञ्चालन गर्ने गरेको थियो । मतदाता शिक्षा सञ्चालन गर्दा समेत मतदाता अन्यौलमा पर्दा धेरै मत बदर हुने गरेको थियो ।
आसन्न स्थानीय निर्वाचनमा भने मतदाता शिक्षाको अभावमा कसरी मतदान गर्ने विषयमा मतदातामा झनै अन्यौल छ । धरान–८ का मैना क्षेत्रीले यही वर्ष मतदाता नामावली बनाएकी हुन् । उनलाई कसरी मतदान गर्ने भन्ने तरिका थाहा छैन । उनले भनिन्, ‘यही वर्ष मतदाता नामावलीमा नाम समावेश गरेको हुँ, तर मतदान गर्ने तरिका भने थाहा छैन ।’
यस्तै धरान–८ का सोभाव राईलाई पनि मतदान गर्ने तरिका थाहा छैन । उनले भने, ‘पहिले त मतदान गरेको तर, मतपत्र परिवर्तन भएको छ भन्छन् कस्तो छ थाहा छैन ।’ जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल सुनसरीमा कुल ५ लाख ३४ हजार ७ सय ६५ मतदाता रहेका छन् । जसमध्ये कुल १ लाख १३ हजार ६ सय ६ मतदाता थपिएका छन् ।
नयाँ मतदाताले भने मत बदर गर्न सक्ने जानकारहरू बताउँछन् । निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन नगर्दा बदर मत बढ्ने सम्भावना बढेको हो । हालको स्थानीय निर्वाचनमा आयोगले रेडियो, टेलिभिजन र सामाजिक सञ्जालबाट मतदाता शिक्षा दिने जनाएको छ ।
नेपालका अधिकांश क्षेत्र दुर्गम रहेकोले ती क्षेत्रमा सामाजिक सञ्जाल, रेडियो, टेलिभिजनबाट प्रसारण हुने मतदाता शिक्षा प्रभावकारी हुँदैन । साथै धेरै मतदाताहरू निरक्षर पनि रहेका छन् । रेडियो, टेलिभिजन र सामाजिक सञ्जालको पहुँच नभएका कारणले पनि प्रभावकारी नहुने देखिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगले तय गरको कार्यक्रमलाई मात्रै अनुसरण गर्ने बताए । उनले राजनीतिक दल सामाजिक सञ्जाल, रेडियो, टेलिभिजनबाट नै मतदाता शिक्षा प्रचार–प्रसार गरिरहेको बताए । उनले बजेटको सुनिश्चितता नहुँदा आयोगले मतदाता शिक्षा सञ्चालन नगरेको हुनसक्ने बताए । उनले भने, ‘राजनीतिक दलले पनि प्रचार गर्ने भएकाले सञ्चालन नगरेको हो ।’