स्थानीय तह निर्वाचन हुनका लागि अब ९ दिन मात्र बाँकी छ । उमेदवारहरू भोट माग्न घरघर पुगिरहेका छन्, तर धेरैजसो मतदाता अन्यौलमा छन् । अघिल्ला निर्वाचनमा करोडौं खर्च गरेर मतदाता शिक्षा सञ्चालन गर्दै आएको निर्वाचन आयोगले यसपटक पहिला जसरी घर घर गएर मतदाता शिक्षा कार्यक्रम गरेको छैन । आयोगले आमसञ्चार, सामाजिक सञ्जाल, प्रचार सामग्रीको छपाइ जस्ता काममा ४० करोड खर्च गर्दै छ । यस्ता माध्यम सहरी मतदाताका लागि प्रभावकारी भए पनि सबैका लागि प्रभावकारी हुन सक्दैन । त्यसकारण यसपटकको चुनावमा बदर मत बढ्ने सम्भावना धेरै छ । यसपटक गठबन्धनका कारण फरक–फरक चिन्हमा मतदान गर्नुपर्ने भएकाले मतदाता अल्मलिने सम्भावना बढी छ । पहिला आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दा समेत धेरै मत बदर हुन्थ्यो । २०७४ सालको स्थानीय तह निर्वाचनमा करिब १० प्रतिशत मत बदर भएको थियो । त्यस्तै प्रतिनिधिसभा पहिलो निर्वाचित हुने प्रणालीमा ५ प्रतिशतसम्म र समानुपातिकमा १० प्रतिशतभन्दा बढी मत बदर भएको थियो । अघिल्ला निर्वाचनमा आयोगले मतदाता शिक्षाका लागि करोडौं खर्च गर्ने गरेको थियो । यस पटक देशभर ३६ लाख नयाँ मतदाता थपिएका छन् । पुरानै मतदाताको समेत मत बदर भइरहेको अवस्थामा थपिएका मतदातामा निर्वाचन शिक्षा पुग्न सकेको छैन । त्यसकारण बदर मत सङ्ख्या अझै बढ्न सक्छ ।
यसपटकको निर्वाचनमा १ करोड ७९ लाख मतदाता रहेका छन् । यसपटक निर्वाचनमा ७९ वटा राजनीतिक दल सहभागी छन् । त्यसबाहेक स्वतन्त्र उमेदवारको सङ्ख्या पनि उत्तिकै छ । आयोगले २३ किसिमका मतपत्र छापेको छ । जसमा काठमाडौंको ५६ लहरको मतपत्र छ भने सबैभन्दा सानो मतपत्र मनाङको समेत १६ लहरको छ । एउटै दलको पनि एउटा पदको बाँया तर्फ र अर्को पदको दायाँतर्फ चुनाव चिन्ह रहेको छ । यसले मतदातालाई अलमल बनाउने निश्चित छ । मतपत्रको गञ्जागोल अवस्थाले पनि बदर मत बढाउने निश्चित छ । मत बदर हुने विभिन्न कारणहरू हुन्छन् । आफूले चाहेको चिह्नमा छाप लगाउन अलमल परेर, चिह्नमा स्वस्तिक चिह्न राम्ररी नलगाउँदा, मतपत्रमा छाप लगाएपछि पट्याउँदा मसी लागेर, दोहोरो छाप लगाउँदा, स्वस्तिक चिह्नबाहेक कलम वा औँठाले छाप लगाउँदा, झुक्किएर एउटै पदमा धेरैलाई मत दिँदा, शारीरिक अवस्था लगायत अन्य कारणले कोठाभित्र राम्ररी छाप नपर्ने कारण, मतदान अधिकृतले बिर्सेर हस्ताक्षर नगरेको मतपत्रमा मतदान गरे पनि मत बदर हुन्छ । अहिलेको अवस्थामा एकातिर मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुनु, अर्कातिर गठबन्धनका कारण धेरै वटा चिन्हमा मतदान गर्न अलमल हुनु, नयाँ मतदाताले यस विषयमा पर्याप्त जानकारी नपाउनु जस्ता कारण यसपटक बदर मत बढ्ने देखिन्छ । बदर मतको प्रतिशत बढ्दा सही नेतृत्व चयनमा असर पर्ने हुन्छ ।
राजनीतिक दलहरू यतिबेला घरदैलो अभियानमा छन् । मतदातालाई उनीहरूले आआफ्नो पार्टीका चुनाव चिह्नमा मतदान गर्न सिकाइरहेका छन् । एउटा राजनीतिक दलले एकातिर मतदान गर्न सिकाउँछ भने अर्को दलले अर्को चिह्नमा । त्यसले मतदातालाई अझै अलमलमा पार्ने निश्चित छ । मत बदर हुनु र मतदानै नगर्नु उस्तै–उस्तै हो । मतदाता शिक्षा नपाउँदा मतदाताहरूको मत मात्र होइन, समय पनि खेर जाने हुन्छ । अर्कातिर मतदान प्रक्रियामा ढिलाइ हुन्छ । त्यसकारण मतदाता शिक्षामा आयोगले ध्यानु दिनु आवश्यक छ ।