धरानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भएका छन् । 

यही वैशाख २४ गते हुन गइरहेका स्थानीय तहको चुनावलाई लक्षित सभालाई सम्बोधन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली धरान आउने भएका हुन् । बुधबार धरान १५ स्थित धरान किचनमा पत्रकार सम्मेलन गर्दै  एमालेको निर्वाचन परिचालन कमिटीले वैशाख २४ गते धरानको चुनावी सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष ओली आउने जानकारी दिएको हो ।

धरानको भानु चोकमा हुने उक्त सभा १२ बजे भेला हुने र १ बजेसम्म पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने समय तालिका रहेको बताएका छन् । अन्तिम चुनावी आमसभाका रूप हुने उक्त सभा ठुलो र व्यवस्थित सभा हुने पनि सुवेदीले जनाएका छन् । 

 उनले विगतमा ५ वर्षमा जनप्रतिनिधि भएर रहिरहँदा एमालेले प्रतिबद्धता गरेका ८० प्रतिशत भन्दा बढी काम सम्पन्न गरेको भन्दै उपनिर्वाचनबाट उपमहानगरमा एमालेको नेतृत्व गुमेपछि धरानको विकासले गति लिन नसकेको  बताएका छन् । सुवेदीले धरानको आर्थिक संवृद्धिका लागी गेम चेन्जिङ्ग योजनासहित पार्टी चुनावमा होमिएको बताएका छन् । 

उनले धरानलाई पूर्वको खेलकुदको हब बनाउने, बसपार्कलाई सम्पन्न गर्ने, सप्तरङ्गी पार्कलाई प्रदेश १ को गन्तव्यका रूपमा विकास गर्ने ,  शिवजट्टा विष्णुपादुका मन्दिरको सौन्दर्यीकरण विकास र विस्तार, कोका खोला ड्याम बनाएर बोटिङ् गराउने, औद्योगिक ग्राम सम्पन्न गर्ने,  ४ नम्बर वडामा मनमोहन पार्क निर्माण सम्पन्न गर्ने, तारेभरिमा रक क्लाइम्बिङ सञ्चालन गर्ने, केबलकार सञ्चालन गर्ने, निर्माणाधीन आदिवासी संग्रहलयलाई लाइभ म्युजियमको रूपमा अगाडी बढाउने  जस्ता योजना भएको बताएका छन् । 
सुवेदीले भने " हामी  पीपीपी मोडलमा सफल रहेको उदाहरणहरू छन् ।  ध्यानबहादुर राई मनोज कुमार मेन्याङ्बोले यही मोडलमा धेरै उदाहरणीय काम गर्नुभएको छ । उपमहानगरको बजेटले आफैले नभ्याउला त्यसैले यो पीपीपी मोडल अन्तरगत गरिनेछ ।  "

उनले धरानमा एमाले एक ढिक्का भएर चुनावी अभियानमा लागि परेकाे बताउँदै  कमजाेर मनाेबल भएकाहरूले निर्लज हल्ला चलाएर भ्रम छर्न खाेजेकाे बताएकाछन् ।

त्यस्तै सहसंयोजक भिम राई ज्वालाले एमाले कम्युनिष्ट पार्टीको मूल प्रवाह भएको जिकिर गर्दै सञ्चारमैत्री भएको बताएका छन् ।