बिर्तामोड । बैशाख १३ गते साँझ झापाको हल्दीबारी गाउँपालिकास्थित जलथल जंगलमा गस्ती गर्ने क्रममा डिभिजन बन कार्यालयको टोलीसँग तीनवटा बारुद लोड गरिएका भरुवा बन्दुक बोकेका चारजना शिकारीको जम्काभेट भयो ।
चारमध्ये तीनजना शिकारी दुईवटा भरुवा बन्दुक फ्यालेर फरार भए । एकजनालाई एकथान भरुवा बन्दुकसहित बन कार्यालयको शसस्त्र टोलीले पक्राउ गर्यो । बन कार्यालयले हल्दीबारी ५ का गुप्तबहादुर फागोलाई पक्राउ गरेको थियो । उनी स्थानीय शान्ति सामुदायिक बनका पुर्व सचिवसमेत हुन् ।
जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको उजुरीमा हल्दीबारी–५ का लभकुमार जोगी, मनकुमार भुजेल र धनकुमार जोगी फरार रहेको उल्लेख छ । उनीहरुमध्ये लभकुमार जोगी र मनकुमार भुजेलले बन्दुक फ्यालेर फरार रहेको उजुरीमा उल्लेख छ । उनीहरु हालसम्म फरार छन् ।
फागोलाई पक्राउ गरेपछि जिल्ला बन कार्यालयले मुद्दा चलाउन खोज्यो । बन्यजन्तु मारेको(अखेटोपहार) फेला नपरेपछि हात हतियार तथा खरखजाना ऐन अन्तर्गत कारवाही चलाउनका लागि बन कार्यालयले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्यो । प्रहरी कार्यालयमा बैशाख १५ गते फरार तीनसहित चारजना बिरुद्ध किटानी जाहेरी दर्ता भएको थियो ।
तर, जिल्ला बन कार्यालयले पक्राउ गरेको भोलीपल्टै मुद्दा दर्ता नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय झापाले फागोलाई हाजीर जमानीमा रिहा गरेको छ । तर, सो दिन अदालतबाट म्याद थप भएको बुझिएको छ । प्रहरीले फरार रहेका अरु तीनको खोजी गरिरहेको जनाएको छ । झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले पक्राउ परेका फागोलाई हाजीर जमानीमा रिहा गरिएको पुष्टी गरे । उनले फरार अरु तीनजनाको खोजी तिब्र पारिएको समेत बताए ।
लगभग ६ हजार ३०० हेक्टर भन्दा बढी क्षेत्रफलमा फैलिएको बनमा हरिण, मृग, बँदेल लगायतको चोरी शिकारी हुँदै आएको छ । एक बर्ष अघि त्यस स्थानमा गोली हानेर मारिएको अवस्थामा हात्ती फेला परेको थियो । बन कार्यालयको टोलीले चारजना शिकारी मात्र फेला परेको भएपनि सो समुहमा १४ जनाभन्दा बढीको ‘सुटर टीम’ सक्रिय रहेको स्थानीयको भनाई छ । उनीहरुसँग प्राय भरुवा बन्दुक हुन्छ, एकजना स्थानीयले भने–‘यो समुहका सबै सदस्य पक्राउ पर्ने हो भने यहाँका बन्यजन्तु चोरी तस्करी बन्द हुन्छ ।’
फागोलाई पक्राउ गर्ने बित्तिकै उनीमाथी मुद्दा नचलाउन बर्तमान सत्तापक्षबाट राजनीतिक दवाव शुरु भएको थियो । झापाको प्रशासनले दवावका कारण मुद्दा दर्ता गर्नै अस्विकार गरेको थियो । खासगरी कांग्रेस नेता कृष्ण सिटौलाले प्रहरीमाथी दवाव दिएर फागोमाथी मुद्दा दर्ता गर्न अवरोध गरेको बन कार्यालय श्रोतको दावी छ । बैशाख १४ गते मुद्दा दर्ता गर्न गएको बन कार्यालयको टोलीलाई झापा प्रहरीले गेटबाटै फर्काएको बताइएको छ । त्यसपछि एमाले नेता अग्नि खरेलको दवावमा झापा जिल्ला अदालतबाट म्याद थप गरी बैशाख १५ गते मुद्दा दर्ता गरिएको थियो ।
मुद्दा नचलाउने टुङगोमा प्रहरी पुगेकै समयमा एमाले नेता खरेलले घटनामा संलग्न दोसीमाथी मुद्दा चलाएर कारवाही गर्न प्रशासनलाई सुझाव दिएका थिए । खरेलको सुझावपछि अभियुक्त बिरुद्ध मुद्दा चाहि दर्ता भयो । तर, प्रभावकारी छानविन नगरी उनलाई हाजीर जमानीमा रिहा गरियो ।
फागोको रिहा र फरार तीनजनालाई पक्राउ गर्न झापा प्रहरीको उदासिनता आसन्न स्थानीय तहको निर्वाचनसँग जोडिएको बिश्लेषण हल्दीवारीमा हुन थालेको छ । राप्रपासँग आवद्ध अभियुक्तहरुलाई सिटौलाले संरक्षण गरेपछि त्यहाँ कांग्रेसको भोट बढ्ने उनको बुझाई छ । शिकारी समुहको प्रभावमा त्यहाँ रहेको २५० भन्दा बढी भोट कांग्रेसलाई जाने भएको हुँदा उनले निर्वाचनअघि मुद्दा नचलाएर हाजीर जमानीमा छोड्न प्रशासनमाथी दवाव दिएको बताइएको छ । निर्वाचनको मुखमा हतियारसहित पक्राउ परेका अभियुक्तमाथी कारवाही नहुँदा भयरहित निर्वाचन हुनेमा शंका उत्पन्न गराएको छ ।