देशभर स्थानीय तह निर्वाचनको रौनक छ । उम्मेदवारहरू अघिपछि कार्यकर्ता लगाएर सहरदेखि गाउँ, दूर दराजका बस्ती बस्ती पुगिरहेका छन् । जहाँ पुग्यो, त्यहीँको विकासमा प्राथमिकता दिने कुरा गर्नु नेताहरूको विशेषता नै हो । अरूबेला गाउँ बस्ती नटेक्ने नेता, कार्यकर्ता पनि चुनावका बेला दुई हात जोड्दै घरघर पुगेर दुःख–सुख सोध्ने र आफूलाई जिताएमा सुखैसुख मात्र ल्याउने आश्वासन बाँडिरहेका छन् । तर, विगतका उनीहरूका आश्वासन र व्यवहारले आम नागरिकले पहिला झैं अब त्यस्ता झुटा आश्वासनमा आँखा चिम्लिएर विश्वास गर्ने अवस्था छैन । दलका नेता, कार्यकर्ता भोट माग्न जाँदा विकासका एजेन्डाहरूका बुँदासहितको घोषणा–पत्र पनि दिएर जान्छन् । यसपटकको निर्वाचनका लागि पनि विभिन्न दल र उम्मेदवारले फरक–फरक योजना, कार्यक्रमसहितका घोषणा–पत्र वितरण गरिरहेका छन् । कतिपयले साना टोलका कार्यक्रमदेखि ठूला आयोजनासमेत ल्याउने कुरा घोषणा–पत्रमा अटाएका छन् । धरानकै उम्मेदवारहरूका घोषणा–पत्र हेर्दा खानेपानी, सडक, सुकुम्बासी समस्या समाधानदेखि केवलकारसम्मका योजना देखिन्छन् । धेरैजसो योजना नयाँ छैनन् । पाँच वर्षअघिको निर्वाचनमा गरेका वाचा अझै पूरा नभएको अवस्थामा फेरि पनि त्यही वाचा गरिएका छन् । यसले दलहरूको खासै नयाँ भिजन नभएको प्रष्ट पार्छ । अर्को दुःखको कुरा चाहिँ पाँच वर्षअघि गरेका वाचा अहिलेसम्म पूरा हुन सकेका छैनन्, फेरि यसपटक पनि तिनै वाचा गरेर चुनावमा आएका छन् । यस्तो अवस्थामा विकासको गति कसरी अघि बढ्ला ?
आम मतदाताले दलका घोषणा–पत्रहरूमा गम्भीरतापूर्वक ध्यान दिएको पाइँदैन । मतदाताले घोषणा–पत्रमा ध्यान दिएर जितेपछि घोषणाअनुसारको काम नगर्ने दलहरूलाई प्रश्न गर्ने संस्कार बनिसकेको छैन । त्यसको फाइदा लिँंदै दलहरूले हरेक चुनावमा एउटै कुरा दोहो¥याउने गरेका छन् । राजनीतिक दलहरूले अघिल्लो स्थानीय तह निर्वाचनका बेला घोषणा–पत्रमा के कस्ता कुरा उल्लेख गरेका थिए र अहिले तीमध्ये कति पूरा भए भनेर हामीले खोज्न नसकेसम्म दलहरूले घोषणा–पत्रलाई झुटको पुलिन्दा बनाइरहने निश्चित छ । त्यसैले मतदाताले आफ्ना प्रतिनिधि छनोट गर्दा कुनै पनि प्रभावमा परेर होइन, स्वतन्त्र भएर छान्नु पर्ने हो । राजनीतिक दलका कार्यकर्ता बनिसकेका मतदाताले यस्तो विषयमा कल्पनासमेत गर्न सक्दैनन् । उनीहरू जस्तासुकै उम्मेदवार भए पनि पार्टीले उठाएको मान्छेलाई दायाँ बायाँ नसोची मतदान गर्छन् । त्यसको परिणाम पाँच वर्षसम्म कष्ट भोग्नु सिवाय केही हुँदैन । त्यसैले मतदाता बेलैमा सचेत भएर दल र नेताहरूलाई पाठ सिकाउनु आवश्यक छ ।
राजनीतिक दलहरूले पनि आफ्ना घोषणा–पत्र सार्वजनिक गर्दा नसक्ने र नहुने कुरा उल्लेख गरेर एक दिनका लागि रमाउनुभन्दा सक्ने र हुने कुरा मात्र लेख्न सक्नुपर्छ । आफूले गर्न नसक्ने कुरालाई घोषणा–पत्रमा लेखेर जितेपछि त्यही काम गर्न नसक्दा आफ्नो झनै बदनाम हुन्छ भन्ने बुझ्नु जरुरी छ । राजनीतिक दलहरूले आफ्ना नेता कार्यकर्तालाई झुट कुरा गर्न होइन, सत्य कुरा बोल्न सिकाउनु आवश्यक छ । हरेक आश्वासन झुटा हुन्छन् भन्ने मान्यता स्थापित भइरहेका बेला दलहरूले सुधार आफैबाट थाल्नु जरुरी छ । किनभने अहिलेका मतदाता दल र नेताभन्दा अगाडि छन् । सबै मतदाता पहिलाजस्तो नेताले जे भन्यो, त्यही सत्य ठान्ने किसिमका छैनन् । दलका कार्यकर्ता अहिले पनि नेताका कुरालाई उसैगरी पालना गर्लान् तर, सबै मतदाता त्यस्ता हुँदैनन् । राजनीतिक दलका नेताहरूको बेइमानीका कारण राजनीति नै बदनाम भइरहेको छ । त्यसकै असरले पछिल्ला दिनमा दलका आधिकारिक उम्मेदवारभन्दा नयाँपुस्ताले स्वतन्त्र उम्मेदवारहरूको पक्षमा नारा लगाउन थालेका छन् । त्यसले राजनीतिक दलहरूले बेलैमा सचेत भएर गर्न सक्ने कुराहरू मात्र घोषणा–पत्रमा उल्लेख गर्नु आवश्यक छ । ता कि घोषणा–पत्रहरू झुटका पुलिन्दा नबनुन् ।