विराटनगर । मोरङको पूर्वी सहर उर्लाबारी नगरपालिकाको चुनावी भिडन्त धेरैको चासो बनेको छ ।

यहाँ काङ्ग्रेसबाट निवर्तमान प्रमुख खड्गबहादुर फागो, उपप्रमुखमा सीता कार्की मैदानमा छन् । त्यस्तै नेकपा (एमाले) बाट प्रमुखमा गङ्गाप्रसाद खरेल, उपप्रमुखमा मीना खतिवडा, गठबन्धनबाट एकीकृत समाजवादीका मानबहादुर श्रेष्ठ र उपप्रमुखमा माओवादीबाट टीकाकुमारी भट्टराई (शीला) चुनावी मैदानमा छन् ।

फागो काङ्ग्रेस प्रदेश १ का सह–महामन्त्री हुन् । पाँच वर्षे कार्यकालमा गरेको विकास र जनपक्षीय कामबाट शतप्रतिशत जित हात पार्ने उनको दाबी छ । सत्तारुढ गठबन्धन माओवादी र एकीकृत समाजवादीले साझा उम्मेदवार चयन गरेका छन् भने काङ्ग्रेस र एमालेले एकल उम्मेदवारी दिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा ३५ हजार २ सय ८८ मत खस्दा काङ्ग्रेसबाट फागोले ११ हजार ६ सय ३२ मत ल्याएर निर्वाचित भएका थिए ।

त्यसबेला एमालेबाट भूपालसिंह राईले ८ हजार ५ सय ४२ र माओवादी केन्द्रबाट राजेन्द्रप्रसाद पौडेलले १ हजार ९ सय ७९ मत ल्याएका थिए । उपप्रमुखमा एमालेकी लक्ष्मीदेवी भण्डारीले झिनो मतान्तर २ सय ५९ ल्याएर जितेकी थिइन् । उपप्रमुखमा त्यसबेला भण्डारीले ९ हजार ५ सय ३९ मत ल्याएर जितेकी थिइन् । काङ्ग्रेसकी सीता कार्कीले ९ हजार २ सय ८० र माओवादी केन्द्रकी धनमाया धिमालले २ हजार ४ सय ६ मत ल्याएकी थिइन् ।

अघिल्लो स्थानीय तहमा एमालेले १, ४ र ८ वडा जित्दा काङ्ग्रेसले २, ३, ५, ६ र ७  जितेको थियो । माओवादी कुनै वडा जितेको थिएन । यसपालि ८ हजार ९ सय २४ नयाँ मतदाता थपिएका छन् । पहिले ३५ हजार २ सय ८८ मतदाता थिए ।

अहिले ४४ हजार २ सय ७२ मतदाता पुगेका छन् । चुनाव नजिकिँदै गर्दा काङ्ग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने अनुमान स्थानीयको छ । काङ्ग्रेसले विगतको विरासतलाई निरन्तरता दिने तयारीमा छ भने एमालेले नयाँ जनमत खडा गर्ने पक्षमा छ । पार्टी फुटेर गएको एकीकृत समाजवादीले खासै असर नपार्ने एमाले नेताहरू दाबी गर्छन् । अहिले माओवादी र एकीकृत समाजवादी गठबन्धनले तालमेलले काङ्ग्रेस र एमालेलाई चुनौती दिने दाबी गरिँदै आएको छ ।

सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत पनि तानेर चुनाव जित्ने दाउमा फागो छन् भने खरेल काङ्ग्रेसभित्रको असन्तुष्ट समूहको भोट ल्याएर चुनाव जित्ने दाउमा छन् । पाँच वर्षे कार्यकालमा गरेको विकास र अधुरा कामहरू पूरा गर्न आफ्नो उम्मेदवारी रहेको फागोले बताए । निरन्तर पार्टीमा आफूले गर्दै आएको योगदानबाट उम्मेदवार बनेकाले पनि मतदाताले आफूलाई भोट दिएर विजयी गराउने उनको भनाइ छ ।

चार दशकदेखि उर्लाबारीलाई नियालिरहेका उनी चुनाव जितेर परिवर्तन र विकास गर्ने पक्षमा छन् । एमालेको सङ्गठन बलियो भएकाले पनि आफूले चुनाव जित्ने दाबी उनको छ । उर्लाबारीमा प्रमुखमा ७ र उपप्रमुखमा ८ जनाको उम्मेदवारी परेको छ । कुल ४७ पदका लागि हुनलागेको निर्वाचनमा २ सय ४४ जनाले उम्मेदवारी दिएका छन् ।