धनकुटा । सत्तारुढ दलबीचको गठबन्धनले ‘क्लिन स्विप’ गरेको एमालेलाई धनकुटामा निरन्तर दबाव बढ्न थालेको छ ।
धनकुटामा केन्द्रीय निर्णयपूर्व नै गठबन्धन गर्ने निर्णय भएको थियो । सात वटा स्थानीय तह रहेको धनकुटामा २०७४ को चुनावमा सबै तहमा क्लिन स्विप गर्न एमाले सफल भएको थियो । त्यसलाई एमालेले निरन्तरता दिन चाहन्छ । तर,, गठबन्धनका कारण चौतर्फी दबाव बढ्न थालेको छ । देश सङ्घीय संरचनामा जानुअघि गाउँविकास समिति हुँदा पनि एमालेको वर्चश्व कायम थियो । यसपटकको चुनावमा गठबन्धन र एमालेबीच रस्साकस्सी चल्ने देखिएको छ ।
२०७४ को निर्वाचनमा दोस्रो बनेको काङ्ग्रेस, तेस्रो बनेको नेकपा (माओवादी केन्द्र) र चौथो बनेको तत्कालीन सङ्घीय समाजवादी फोरम (हाल जनता समाजवादी पार्टी) एक ठाउँमा उभिँदा एमालेलाई विरासत जोगाउने चुनौती बढेको हो । अझ एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) का कारण पनि एमालेको मत काटिने देखिएको छ । एमालेको फुटपछि २०४९ मा एमालेबाट तत्कालीन जिल्ला विकास समितिका सभापति धर्मराज पौडेल, पूर्व सांसद् दुर्गा लिङ्खालगायत जिल्लास्तरीय नेता कार्यकर्ता समाजवादीमा गएका छन् ।
गठबन्धनको चुनाव जित्ने आधार के छ ?
गठबन्धनले ०७४ को स्थानीय तह निर्वाचनमा सबै पार्टीले ल्याएको मतलाई नै पहिलो आधार बनाएको छ । निर्वाचनबाट जित हासिल गरे पनि एमालेले जनपक्षीय कार्य नगरेकाले धनकुटा पछि परेकाले पनि गठबन्धनको आवश्यकता जनताले महसुस गरेको काङ्ग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले बताए । राईले भने, ‘धनकुटाको समृद्धिका लागि नयाँ योजना ल्याइनेछ ।’ अवसर पाउँदा मुलुक र जनताका लागि केही पनि गर्न सक्दैन भन्ने छाप एमालेले जनतामा छाडेकोले गठबन्धनलाई सजिलो भएको उनको भनाइ छ ।
सातै तह हामी जित्छौंः एमाले
एमालेले भने धनकुटाका सबै स्थानीय तहमा जित्ने दाबी गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा सबै स्थानीय तहको नेतृत्व गरेकाले पनि एमालेले यसपटक पनि बाजी मार्ने दाबी गरेको हो । एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले धनकुटामा एमालेको विरासत कहिल्यै नढल्ने बताए । ०७४ को स्थानीय चुनाव जितेर सबैको विश्वास जितेकाले अब धनकुटामा चुनाव सजिलो भएको अध्यक्ष पराजुलीले बताए । उनले भने, ‘हाम्रा उम्मेदवार धनकुटाको धुलोसँग परिचित छन् ।’
को कहाँ कति बलियो ?
सहिदभूमि गाउँपालिका
स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय भएसँगै जिल्लामा सम्भावित परिणामबारे आँकलन हुन थालेको छ । २०७४ को स्थानीय तह निर्वाचन परिणाम अनुसार सहिदभूमि गाउँपालिकामा एमाले बलियो देखिन्छ । २०७४ को निर्वाचनमा एमालेबाट जितेका केही जनप्रतिनिधिको हिस्सा सहिदभूमिमा एकीकृत समाजवादीमा गएको छ ।
जसका कारण नेकपा एमालेको संख्या खुम्चिएको छ । अझ सहिदभूमि गाउँपालिकामा गठबन्धनले एकीकृत समाजवादीका जेबी राईलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ । यता नेकपा (एमाले)का तर्फबाट मनोज राई गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका छन् । मनोज २०७४ को निर्वाचनबाट गाउँपालिका अध्यक्ष बनेका थिए भने जेबी मनोजलाई अध्यक्ष बनाउन लागिपरेका व्यक्ति हुन् ।
२०७४ को निर्वाचनमा सहिदभूमि गाउँपालिकामा एमालेका मनोज राईले ४ हजार ५४ मत पाएर विजयी भएका थिए भने काङ्ग्रेसका तीर्थ राईले १ हजार ५ सय १ र माओवादी केन्द्रका भरतसिंह राईले १ हजार ५ सय ७९, जनता समाजवादीका हर्कबहादुर राईले १ सय ४ मत पाएका थिए । गत निर्वाचनको प्राप्त मतका आधारमा गठबन्धन दलमध्येका काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादीको मत हिसाब गर्दा एमाले भन्दा गठबन्धन ८ सय ७० मतले पछि परेको देखिन्छ । तर, सहिदभूमिमा गठबन्धनबाट एकीकृत समाजवादीले उम्मेदवार पाएपछि एमालेको मत गठबन्धनतिर जाने धेरैको अनुमान छ ।
चौबिसे गाउँपालिका
२०७४ को निर्वाचनको परिणामअनुसार चौबिसे गाउँपालिकामा एमालेका उम्मेदवारले ३ हजार ७ सय ८२ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसले ३ हजार २ सय ७९ अर्थात् ५ सय ३ मतान्तरमा पराजित भएको थियो । सोही निर्वाचनमा माओवादीले ९ सय ८९ मत पाएको थियो । अहिलेको निर्वाचनमा गठबन्धनपछि काङ्ग्रेस र माओवादीको प्राप्त मत हिसाब गर्दा एमालेभन्दा गठबन्धन ४ सय ८६ मतले अगाडि छ । चौबिसे गाउँपालिका अध्यक्षमा गठबन्धनतर्फबाट उम्मेदवार माओवादी केन्द्रका दलबहादुर मगर र एमालेबाट राजकुमार चेम्जोङ उम्मेदवार रहेका छन् ।
छथर जोरपाटी गाउँपालिका
छथर जोरपाटी गाउँपालिकामा झिनो मतले गठबन्धन अगाडि देखिएको छ । २०७४ को निर्वाचनमा छथर जोरपाटी गाउँपालिकामा एमालेले ३ हजार ३ सय ४९ मत प्राप्त गरेको थियो । माओवादीले १ हजार ५ सय ३१, राप्रपाले १ हजार ४ सय ५१ र काङ्ग्रेसले ४ सय १६ मत पाएका थिए । परिणामअनुसार माओवादी, राप्रपा र काङ्ग्रेसको मत जोड्दा ४९ मतले एमालेभन्दा गठबन्धन अघि देखिएको छ । राप्रपाका सुनिल थापा काङ्गे्रसमा प्रवेश गरेसँगै धनकुटामा राप्रपा कांग्रेसमा समाहित भएको थियो । यो पटक छथर जोरपाटी गाउँपालिकामा गठबन्धन तर्फबाट अध्यक्षमा काङ्ग्रेसका छत्र सुब्बा र शेरबहादुर लिम्बू चुनावी मैदानमा छन् ।
धनकुटा नगरपालिका
धनकुटा नगरपालिकामा सत्ता गठबन्धन अगाडि देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचन मत परिणामअनुसार एमालेलाई ४ हजार ९ सय ३३ मत प्राप्त भएको थियो । काङ्ग्रेस ४ हजार ८ सय १९ मत अर्थात् १ सय १४ मत बढीले एमालेले जितेको थियो । माओवादीले २ हजार ५ सय ३७ मत पाएको थियो । २०७४ को निर्वाचनलाई आधार मान्दा अहिले सत्ता गठबन्धन २ हजार ४ सय २३ मतले अगाडि छ । नेकपा (एकीकृत समाजवादी) ले एमालेको केही मत काट्न सक्ने बताइन्छ । धनकुटा नगरपालिका प्रमुखमा गठबन्धनतर्फका उम्मेदवार काङ्ग्रेसका दिनेश राई र एमालेका चिन्तन तामाङ चुनावी मैदानमा छन् ।
पाख्रीबास नगरपालिका
पाख्रीबास नगरपालिकामा एमाले अगाडि देखिएको छ । २०७४ को निर्वाचनमा एमालेले ४ हजार ४ सय ३९ मत प्राप्त गरी विजयी भएको थियो भने काङ्ग्रेसले १ हजार ६ सय २८, राप्रपाले १ हजार ५ सय ६५ र माओवादीले १ हजार ६ मत पाएको थियो । २०७४ को परिणामलाई हेर्ने हो भने एमाले २ सय ४० मतले गठबन्धनभन्दा अगाडि छ । पाख्रीबास नगरपालिका प्रमुख पदमा गठबन्धनतर्फका ज्ञानबहादुर गुरुङ र एमालेबाट भीमबहादुर राई उम्मेदवार रहेका छन् ।
महालक्ष्मी नगरपालिका
महालक्ष्मी नगरपालिकामा सत्ता गठबन्धन अगाडि देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचन परिणामअनुसार एमालेले ४ हजार ८ सय ९७ मत पाएर विजयी भएको थियो । त्यसबेला काङ्ग्रेसले ३ हजार १ सय ५६ र माओवादीले १ हजार ७ सय ४६ मत पाएका थिए । यसरी हेर्दा गठबन्धन झिनो मतले बलियो देखिएको छ । महालक्ष्मी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट काङ्ग्रेसका ध्रुवराज राया र एमालेका दीपक बुढाथोकी चुनावी मैदानमा रहेका छन् ।
साँगुरीगढी गाउँपालिका
२०७४ को स्थानीय तह निर्वाचन मत परिणामलाई अहिलेको गठबन्धन र एमालेबीचको मत हिसाब गर्ने हो भने साँगुरीगढी गाउँपालिकामा झिनो मतले गठबन्धन अगाडि देखिएको छ । गत निर्वाचनमा एमालेले ४ हजार ४ सय ४९ मत प्राप्त गरेको थियो भने काङ्ग्रेसले ३ हजार ३ सय ३३, माओवादीले ६ सय ९५ र राप्रपाले ४ सय ७९ मत ल्याएको थियो । यसलाई हेर्दा साँगुरीगढीमा २२ मतले गठबन्धन अगाडि देखिएको छ । साँगुरीगढी गाउँपालिका अध्यक्षमा गठबन्धनतर्फका उम्मेदवार जितेन्द्र रुम्दाली राई र एमालेका कुमारजङ याक्खा चुनावी मैदानमा छन् ।