विराटनगर । मोरङको बेलबारी नगरपालिकामा मेयरका उम्मेदवारको गाडीमा आगजनी गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गाडी आगजनी गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले शुक्रबार विहान पक्राउ गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मेयरको उम्मेदवार रहेका खेमप्रसाद गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा शुक्रबार बिहानका राति आगजनी गरेको इलका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमालले जानकारी दिए ।
बेलबारी नगरपालिका–२ घर भएका उम्मेदवार गौतमले सामाजिक अभियन्ताको छवि बनाएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा उम्मेदवारी दिएका उनी होटल व्यवसायी पनि हुन् । प्रहरीका अनुसार बिहानका राति २ बजेतिर घटनाको जानकारी आएको थियो ।
तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले घटनामा संलग्न भएको आरोपमा पाण्डेलाई पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा लिएको पाण्डे मेयरका उम्मेदवार गौतमसँगै चुनवी अभियानमा हिड्ने युवा हुन् । गौतमलले उम्मेदवारी दर्ता गराएपछि उनी सँगै चुनावी प्रचारप्रसारमा सँगै हिड्ने गरेका थिए ।
पेट्रोल छर्किएर लाइटरले कारको अगाडि र पछाडि आगो लगाएको सिसी क्यामेरा फुटेजमा देखिएको छ । फुटेजमा देखिएका युवासँग हुलिया मिलेपछि पाण्डेलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको हो । मेयरका उम्मेदवार गौतमले पार्टीको झन्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए ।
पार्वती पौडेली (विक) राप्रपाबाट बेलबारीमा उपमेयरको उम्मेदवार छिन् । मेयरका उम्मेदवार गौतमले घरमा पार्किङ गरेर राखेको कारमा आगो लागेको देखेपछि छिमेकीले खबर गरेको बताए । उनका अनुसार आगजनीबाट अगाडि र पछाडिको केही भागमा क्षति पुगेको छ ।
तत्काल थाहा पाएर आगो नियन्त्रणमा लिन सकिएका कारण थप क्षति हुन नपाएको
उनको भनाइ छ । गौतमले राप्रपाप्रतिको जनलहर देखेर आत्तिएकाहरु र
प्रतिस्पर्धामा आउन नसक्नेहरुले राजनीतिक चलखेल गरेर सुनियोजित तरिकाले
घटना गराएको बताए ।