यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तीनदिने तालिम सुरु गरिएको छ । जिल्लामा १३६ मतदानस्थल  र ३७९ मतदान केन्द्र तोकिएको छ । सुरक्षाका दृष्टिकोणले ११२ अतिसंवेदनशील र २४ संवदेनशील मतदानस्थलनका रुपमा हेरिएको छ । 

 मतदानस्थल र मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको निर्वाचन अधिकारी रमा पन्तले जानकारी दिए ।  तालिममा कानूनी, व्यावहारिक र सैद्धान्तिक पक्षका साथै मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य एवं अधिकारक्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाबारे जानकारी गराइएको उनले बताए।

मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेल तरिकागायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिकाबारेमा समेत सिकाइएको छ ।  

तालिमको सहजीकरण मुख्य निर्वाचन कार्यालय, नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारी, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खड्का,  जिल्ला निर्वाचन अधिकारी रमा पन्त लगायतले गरेका छ ।

एक उप महानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका रहेको जिल्लामा कूल तीन लाख २९ हजार ४७३ ले मतदानमा भाग लिनेभएका छन् । स्थानीय तह निर्वाचनका लागि जिल्लामा करिब चार हजार सुरक्षाकर्मी  दुई हजार २०० कर्मचारी परिचालन हुनेछन् ।