धरानको सुगम वडा १५ नम्बर वडाको सधेरी ४ नम्बर वडा भौगोलिक हिसाबले दुर्गम वडा हो । धरान १५ लाई सेउती खोलाले छुटाएपछि सुरु हुने धरान ४ सामुन्द्रिक सतहबाट १२ सय मिटर भन्दा माथि अग्लिएको छ ।

भिरालो पहाड ठुला साना खोला सोल्सीसँग पौँठे जोरी खेलेका यहाँका स्थानीयको समस्या कच्ची सडक, खानेपानी, शिक्षा तथा रोजगार मात्र हैन नजिकै टावर नहुनाले आपत् विपत् फोन समेत लाग्दैन । 

पूर्वको आधुनिक सहर भित्र रहेर पनि भौगोलिक दुर्गमताका कारण ग्रामीण जीवनयापन गरिरहेका यहाँका स्थानीयमा चुनाव लागेसँगै आशा पलाएको छ । 

त्यो आशा हो, सक्षम उम्मेदवारको छनोट गर्ने अनि भौगोलिक दुर्गमता चिरेर कृषि र पर्या पर्यटनको माध्यमबाट कङ्क्रिटका सहरहरूलाई प्राकृतिक सुगमता छर्ने । 

यति बेला दलहरू, दलबलका साथ गाउँ पसेका छन् । योजना, घोषण पत्र, प्रतिबद्धता पत्रसहित गाउँ पसेका दलहरूले लहरे, खड्काडाँडाँ, कालीमाटी, हर्दिया बस्तीका स्थानीयलाई बर्खामा दरानसँग जोडिन पुल बनाउने योजना ल्याए हुन्थ्यो भनेर पर्खेर बसेका छन्,  लहरे बस्तीका मोहन कुमार राई । 

उनी भन्छन् ‘सबै भन्दा पहिला पुलको आवश्यकता छ । अब आउने जनप्रतिनिधिले पुलको योजना बनाइदिए हुन्थ्यो भन्ने लागेको छ । ’ 

उनी कृषिमा आबद्ध कृषक युवाहरूलाई प्रोत्साहन गर्ने, र सहज पूर्ण बाटो निर्माण गरिदिए धरान ४ को मुहार फेरिने विश्वास लिएका छन् । 

नेकपा एमालेका मेयर उम्मेदवार मञ्जु भण्डारी (सुवेदी), उपमेयर उम्मेदवार पदम प्रसाद इस्वो (लिम्बू) र ४ नम्बर वडाका वडाध्यक्ष उम्मेदवार धनबहादुर राईले पनि शुक्रबार घरदैलो अभियान गरे । 

घर दैलो अभियानका क्रममा मेयर उम्मेदवारले वडाको ड्रेन निर्माण गरेको मुख्य सडकलाई कालोपत्रे गर्ने, वडा वासीलाई सूचनाको पहुँचका लागी टावर थप्ने योजना भइसकेको र टेलिकमले कार्यान्वयन गर्न मात्र बाकी रहेको बताई, उनले कृषि क्षेत्र र पर्या पर्यटन नै ४ नम्बर वडाको मुख्य पहिचान र  आर्थिक विकासको आधार भएको बताउँदै त्यसको योजनाहरू अघिल्लो कार्यकालमै तयार भएको र कतिपय आधी अधुरा समेत भएकोमा त्यसलाई पूर्णता दिन बाँकी रहेको बताइन् ।

 उनले अघिल्लो निर्वाचन डोकोमा तरकारी बोकेर हिँड्नु पर्ने बाध्यताको अन्त्य गर्ने गरेको प्रतिबद्धता अनुरूप संसदीय विकास कोषबाट ट्याक खोलेर प्रतिबद्धता पुरा गरेको बताइन् । 

अर्ग्यानिक कृषिको पकेट क्षेत्रका रूपमा कृषि मन्त्रालयको ध्यान केन्द्रित भएको  बसन्तटारको कृषि उपजलाई बजारीकरणका लागी पक्की सडकको आवश्यक रहेको भन्दै मेयर उम्मेदवार भण्डारीले पत्रङ्बारी–बसन्तराट पक्की सडक निर्माण गरिने बताइन् । आवश्यक स्थानमा पुल तथा कल्वट निर्माण गर्दै हिउँद वर्ष यातायात सञ्चालन हुने व्यवस्था मिलाउने भण्डारीले प्रतिबद्धता व्यक्त गरिन् । 

उनले पर्यटनको सम्भावना बोकेको ४ नम्बर वडा केबुलकार निर्माण गरिने, मानुवाटारमा मनमोहन पार्क निर्माण गर्दै भ्यु पइन्ट बनाउने, तथा ४ नम्बरका ग्रामीण क्षेत्रहरूमा होम स्टेको स्थापना गर्दै आन्तरिक पर्यटनलाई आकर्षण गर्ने जस्ता प्रतिबद्धता व्यक्त गरेकी मञ्जु भण्डारीको कुरा सुनेपछि मोहन कुमारले सोचेजस्तो योजना आएको प्रतिक्रिया जनाए ।

 सडक शिक्षा, खानेपानी र रोजगार जस्ता समस्या रहेको बताउने  निरमाया हाङ केही हदसम्म सन्तुष्टि भए पनि वडाध्यक्ष उम्मेदवार धनबहादुरले पानीको समस्या समाधान गर्न स्रोत उत्पादन भन्दा व्यवस्थापन गर्ने र नपुगे एकीकृत खानेपानी योजना अनुसार लिफ्टीङबाट पानी ल्याउने बताएपछि उनको सन्तुष्टिले पूर्णता पायो ।

नाजुक शिक्षाको क्षेत्रमा भौतिक पूर्वाधार देखी शिक्षामा आधुनिकीकरण तर्फ लाने योजना रहेको वडाध्यक्ष उम्मेदवार धनबहादुरले बताए । घर दैलोमा अभियानमा विजयीको शुभकामना दिएकी सुसिलाले उम्मेदवारहरुलाई  गरेका प्रतिबद्धताहरू पुरा गर्नु भन्दै वाचा नविर्सन सम्झाइन् । 

उम्मेदवारहरुको कुरा सुनेपछि लाहुरे बस्तीका मोहन कुमारले गरेका प्रतिबद्धताहरू पुरा गर्नेमा विश्वस्त रहेको भन्दै आफूले चिनेजानेकालाई एमाले उम्मेदवारलाई नै भोट हाल्न सुझाउने समेत बताए । स्थानीय भोजराज रानाले अव आउने उम्मेदवारले बाटो, खानेपानी जस्ता कुरामा ध्यान दिनुपर्ने औँल्याए । 

धरान ४ स्थित पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना बोकेको ठाउँ हो । वडा नम्बर ४ को दानाबारी चिसो मौसमले मात्र होइन, यहाँबाट धरानको प्रायः सबै क्षेत्र एक साथ देख्न सकिने भएकाले पनि दानावीरप्रति धरान बजार क्षेत्रका मानिसहरूको आकर्षण बढ्दो छ ।

धरान उपमहानगरपालिकाको पर्यटन समितिले धरानको पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावित वडाको सुचीमा राखे पछि दानावारीको चर्चा प्रदेश १ सरकारसम्म चुलिएको छ ।

चर्चासँगै धरान आसपासको क्षेत्रबाट यहाँ घुम्न आउनेहरूको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । यहाँको कृषि जन्य उत्पादन विशेष गरी तरकारी  धरान बजार क्षेत्रमा अर्ग्यानिक उत्पादनको उपमा बढी महत्त्वका साथ बिक्री हुने गर्दछ ।