यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा शिक्षण पेशा र इन्जिनियरिङ पेशा छाडेर चुनावी मैदानमा होमिएका छन् ।

कुम्मायकका कर्मचारीसमेत रहेका उनीहरूले राजीनामा दिई चुनावी मैदानमा होमिएका हुन् । निर्मलराज घिमिरे पेशाले शिक्षक हुन् । तर, उनी कुम्मायक–५ बाट वडाध्यक्षका लागि चुनावी मैदानमा छन् ।

त्यस्तै सव–इन्जिनियरबाट राजीनामा दिई कुम्मायक–४ बाट फगेन्द्रकुमार सम्बाहाम्फेले वडाध्यक्षमा उम्मेदवारी दिएका हुन् । घिमिरे कुम्मायक–१ खाल्डे माविका सहायक प्रधानाध्यापक थिए । उनले २१ वर्षे शिक्षण पेशा त्यागेका हुन् ।

वडावासीलाई कृषिक्षेत्रबाट आत्मनिर्भर बनाउँदै समृद्ध वडा निर्माण गर्न आफूले उम्मेदवारी दिएको उनले बताए । यता सम्बाहाम्फे कुम्मायक गाउँपालिकामा कार्यरत थिए । उनी २३ वर्षे जागिरे जीवन परित्याग गर्दै राजनीतिमा प्रवेश गरेका हुन् । उनले कृषि, खानेपानी, विद्युत् र यातायात क्षेत्रलाई उच्च प्राथमिकतामा राखी वडावासीको जीवनस्तर उकास्ने बताए ।