धरान । स्वतन्त्रबाट प्रमुखको उम्मेदवार बनेका हर्क साम्पाङले धरानको खानेपानी, बीपी प्रतिष्ठान, बाटोघाटो ध्वस्त बनाउने दललाई जवाफ दिने बेला आएको बताएका छन् ।
धरानको भानुचौकमा आइतबार चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘धरानको खानेपानी, बीपी प्रतिष्ठान, धरानको बाटोघाटो ध्वस्त बनाउनेलाई प्रश्न गर्नुस्, अब जवाफ दिने बेला आएको छ ।’ उनले वैशाख ३० मा हुने चुनावमा धरानका सार्वभौम जनताले चुनाव चिह्न लौरोमा मतदान गरी जवाफ दिन आग्रह गरे । उनले धरान ध्वस्त पार्ने दलहरूलाई प्रश्न गरिएन भने अब फेरि पनि पाँच वर्ष पछाडि परिने बताए । उनले आफूलाई मत दिई चुनाव जिताउन आग्रह गरे । उनले भने, ‘फेरि पनि मतदाताहरू दलतिरै लागे भने खानेपानी–खानेपानी भन्दै तड्पिन्छन् ।’
उनले आफूले लेखेका प्रतिबद्धताअनुसार पूरा नगरे जुनसुकै बेला पनि प्रश्न गर्न सक्ने बताए । ‘के कुरा लेखिएको छ; पढौँ; कतिपयले हाम्रो प्रतिबद्धता पाउनेबित्तिकै फाल्ने गर्नुभएको छ’ उनले भने, ‘घोषणा पत्रअनुसार पूरा गरिनँ भने तपाईंहरूले प्रश्न गर्न सक्नुहुनेछ ।’ उनले दलहरूकै निकम्मापनका कारण धरानमा रहेको उच्चअदालत, शिक्षा निर्देशनालय, लाइसेन्स वितरण गर्ने यातायात कार्यालय विभिन्न स्थानमा सारिएको टिप्पणी गरे ।
‘अब यी र यस्ता कार्यालयहरू के कति कारणले सारियो सोध्नुहुन्छ कि हुन्न’–उनले भने । उनले नेपाली काङ्ग्रेस र एमालेले नै धरानको विकासलाई तहस–नहस बनाएको आरोप लगाए । उनले देशको उन्नति र रक्षा गर्नुपर्ने दलहरूमा दलाल र फटाहाहरू छिरेको आरोप लगाए । उनले त्यस्ता दलहरूलाई सार्वभौम धराने जनताले यसपालि चुनावमा हराउने बताए । उनले धरान बनाउने जिम्मा आफूलाई दिन आग्रह गरे । कार्यक्रममा उनकै पक्षमा स्वतन्त्र उम्मेदवारी दिएका उपप्रमुख दत्तकुमार लिम्बूलगायतले पनि सम्बोधन गरे ।