धनकुटा । धनकुटाका राजनीतिक दलहरू मतदाता रिझाउन घरदैलो अभियानमा छन् । नेकपा (एमाले) र गठबन्धनका उम्मेदवारहरू आ–आफ्ना लागि भोट माग्न मतदाताको घरघरमा पुगिरहेका हुन् ।

उनीहरू साम, दाम, दण्डको नीति अपनाएर भए पनि चुनावी प्रतिस्पर्धाबाट ‘विजयी रथ’ हाँक्ने दाउमा छन् । धनकुटामा कुल १ लाख १५ हजार ९ सय ६३ मतदाता रहेका छन् ।

निर्वाचन आयोगका अनुसार १ सय १८ मतदानस्थल र १ सय ५९ मतदान केन्द्र छन् । धनकुटाको सात स्थानीय तहमा एमाले, गठबन्धन र स्वतन्त्र गरी ७ सय ६५ जना उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लाको ६० वटा वडा र पालिकामा गरी ३ सय ६४ जना वैशाख ३० को चुनावपछि निर्वाचित हुँदै छन् ।

भोट माग्नका लागि सबै खालका उपाय  अपनाइरहेका छन् । आइतबार धनकुटा बजारमा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार चिन्तन तामाङ र उपप्रमुख भीमा खनाल विजयी रथलाई निरन्तरता दिन मतदाताको घरघरमा पुगेर भोट मागेका छन् । धनकुटा नगरपालिकामा २२ हजार ९ सय ७१ मतदाता छन् ।

२०७४ मा तामाङले काङ्ग्रेसका उम्मेदवार दिनेश राईलाई १ सय १४ मतान्तरले जितेका थिए । त्यस्तै साँगुरीगढी गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा जितेन्द्र रम्दाली तथा उपाध्यक्षमा लीलाराज लावती घरदैलोमा व्यस्त छन् ।

उनीहरूले साँगुरीगढी–५ डाँडाबजार र ३ नम्बरको खुवाफोकमा घरदैलो कार्यक्रम गरे । जनता समाजवादी पार्टीको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार लावतीले राजनीतिमा आएको विकृति हटाउन राजनीतिमा आउनु परेको बताए । उनी होटल व्यवसायी हुन् ।