विराटनगर । मोरङका तीन स्थानीय तहमा प्रायः पुरानै उम्मेदवार चुनावी मैदानमा छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जितेका र पराजित भएका व्यक्तिहरू नै प्रतिस्पर्धी छन् ।
रङ्गेली, सुन्दरहरैंचा नगरपालिका, जहदा गाउँपालिकामा जितेका र पराजित भएका पुरानै अनुहार उम्मेदवार आमने सामने भएका हुन् । यस पटकको चुनावमा रङ्गेली नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का दिलिपकुमार अग्रवाल र काङ्ग्रेसका मोदराज घिमिरेलाई उम्मेदवार बनाएपछि पुरानै प्रतिद्वन्द्वी आमने सामने भएका हुन् । २०७४ को चुनावमा अग्रवालले १ हजार ८ सय ८२ मतले घिमिरेलाई पछि पार्दै रङ्गेली नगरपालिकाको प्रमुखमा जितेका थिए ।
नेकपा (माओवादी केन्द्र)बाट उठेका अग्रवालले ८ हजार ६८ मत प्राप्त गरी नगर प्रमुखमा जितेका थिए । त्यसबेला काङ्ग्रेसका मोरङ सचिव घिमिरेले ६ हजार १ सय ८६ मत ल्याएका थिए । अहिलेको चुनावमा अग्रवालले माओवादी पार्टी छोडेर एमालेबाट प्रमुखमा उठेका छन् । विगतको मत परिणाम हेर्दा यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । माओवादीबाट प्रमुखमा लीलादेवी सङ्ग्रौला उठेकी छन् । अग्रवाल र घिमिरेबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ काङ्ग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले गठबन्धन गरेको छ भने एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ । काङ्ग्रेस र जसपा मिलेर गठबन्धन गरी चुनावी मैदानमा उत्रिएपछि यहाँ चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिन्छ ।
उता सुन्दरहरैंचा नगरपालिकाको प्रमुख पदका लागि पुरानै प्रतिस्पर्धी मैदानमा छन् । अघिल्लो चुनावमा झैं यो पटक पनि सुन्दरहरैंचाको प्रमुखमा काङ्ग्रेसका शिवप्रसाद ढकाल र एमालेका केदारप्रसाद गुरागाईं पुनः प्रतिस्पर्धामा छन् । त्यसबेला ढकालले ९ सय ६८ मतान्तरले गुरागाईंलाई पराजित गरेका थिए । ढकाल १६ हजार ८ सय २२ मत ल्याएर विजयी हुँदा गुरागाईंले १५ हजार ८ सय ५४ मत मात्र ल्याएका थिए । यस पटकको चुनावमा काङ्ग्रेस र माओवादी केन्द्र गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् ।
पाँच वर्षे कार्यकालमा जनपक्षीय काम गरेको कारणले यस पटकको चुनाव पनि जित्ने र अधुरा काम पूरा गर्ने ढकालको भनाइ छ । गठबन्धनबाट उपप्रमुखमा माओवादी केन्द्रबाट नवराज चापागाईं उठेका छन् । यसअघि २०७४ को चुनावमा चापागाईं तेस्रो भएका थिए । एमालेका उम्मेदवार धनमाया तामाङले १५ हजार ८ सय १ मत ल्याएर उपप्रमुखमा विजयी बन्दा प्रतिस्पर्धी काङ्ग्रेसकी विन्दा दाहालले १३ हजार ४ सय ६९ र चापागाईंले ६ हजार ३ सय ७ मत ल्याएका थिए ।
जहदामा त्रिपक्षीय भीडन्त
मोरङको जहदा गाउँपालिकामा पुरानै उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ जनता समाजवादी पार्टी (जसपा) बाट गाउँपालिका निवर्तमान अध्यक्ष कैलाशप्रसाद मण्डललाई उठाउँदा माओवादी केन्द्रले राजकुमार यादवलाई मैदानमा उतारेको छ । काङ्ग्रेसबाट जितेन्द्रप्रसाद साह र एमालेबाट यसोदा गिरी प्रतिस्पर्धामा छन् । २०७४ सालमा पनि उनीहरू नै प्रतिस्पर्धी थिए ।
यसअघि स्थानीय तहको चुनावमा जसपाका मण्डलले ५ हजार ५९ मत ल्याई विजयी बन्दा काङ्ग्रेसका साहले ३ हजार ६ सय ५९ र माओवादी केन्द्रका यादवले २ हजार ९० मत ल्याएका थिए । विशेषगरी यसपटक थपिएका नयाँ मतदाता रिझाउन उम्मेदवारले बढी जोड दिएका छन् । ०७४ को चुनावमा २१ हजार ४ सय ६७ मतदाता रहेकोमा यस पटक ४ हजार २ सय ४८ मतदाता थपिएका छन् । थपिएको सहित यस वर्ष २५ हजार ७ सय १५ जना मतदाता रहेका छन् ।
यस पटकको चुनावमा माओवादी र काङ्ग्रेसले नयाँ जनमत खडा गर्ने तथा जसपाले विगतलाई दोहो¥याउने दाउमा रहेको छ । माओवादीबाट अध्यक्षका उम्मेदवार यादवले जसपाले ५ वर्षमा केही काम नगरेकोले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । निरन्तर पार्टीमा आफूले गर्दै आएको योगदानबाट उम्मेदवार बनेको र गाउँबासीका लागि गरेको योगदानको कारण मतदाताले पनि आफूलाई भोट दिने बताए ।
यता जसपाबाट अध्यक्षका उम्मेदवार मण्डलले पाँचवर्षे कार्यकालमा गरेको विकास र जनपक्र्षीय कामबाट शतप्रतिशत जित हात पर्ने दाबी गरेका छन् । ‘चुनावी अभियानमा सबैजना एकजुट भएर लागेका छौं’–उनले भने ।